१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

अन्तिम बलमा चितवनलाई सफलता

राजेश पुलामीले अन्तिम बलमा चौका प्रहार गर्दै चितवन टाइगर्सलाई जारी एभरेस्ट प्रिमियर लिग (इपिएल) मा सुखद सुरुआत गराउँदा भैरहवा ग्लाडिएटर्स र पोखरा राइनोजले भने वर्षाका कारण खेल प्रभावित हुँदा अंक बाँडेका छन् ।

आइतबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदानमा सोमपाल कामीको चितवनले करण केसीको विराटनगर वारियर्समाथि दुई विकेटको रोमाञ्चक जित निकाल्दा शरद् भेषावकरको भैरहवा र विनोद भण्डारीको पोखराबीचको दोस्रो खेल वर्षाबाट प्रभावित हुन पुग्यो। 

१ सय ५२ रनको लक्ष्य चितवनले आठ विकेटको क्षति बेहोर्दै २०औं ओभरको अन्तिम बलमा पूरा गरेर रोमाञ्चक जित निकाल्यो। अन्तिम बलमा एक रन आवश्यक हुँदा राजेशले चौका प्रहार गरेका थिए। ३९ बल खेलेका राजेश ४३ रनमा अविजित रहे। उनको इनिङमा समान २ चौका र छक्का समावेश थिए ।

खराब सुरुआत गरेको चितवनले २.३ ओभरमा नै ओपनरद्वय ईशान पाण्डे १० र मोहम्मद सहजादलाई १ रनमै गुमायो। तेस्रो विकेटका लागि (दिलीप नाथ र भीम सार्कीले) १८ रनको साझेदारी बन्यो। भीम २३ रनमा तेस्रो विकेटका रूपमा आउट भए। दिलीप २३ रनमा पवेलियन फर्किंदा चितवन ८.२ ओभरमा ७९/४ को अवस्थामा थियो। 

त्यसपछि करिम जनतले राजेशसँग ३२ रनको साझेदारी गरे। रयान पठानले जनतलाई १७ रनमा आउट गर्दै यो साझेदारी तोडे। एक छेउबाट राजेशले इनिङ समाले पनि उनले राम्रो साथ पाउन सकेनन्। कप्तान सोमपाल ९, सेक्कुगे प्रसन्ना ३ र कमलसिंह ऐरी १ रनमा लगातार आउट भए पनि राजेशले इनिङ समाल्दै जित दिलाए।  

विराटनगरको बलिङमा सिकन्दर राजा र करण केसीले २/२ विकेट तथा प्रतीश जिसी र अनिल खरेलले थप १/१ विकेट लिए पनि चितवनको जित रोक्न सकेनन्। 

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले निकै खराब सुरुआतका बावजुद निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५१ रन बनायो। ९/३ विकेट पतनको अवस्थाबाट सिकन्दरले इनिङ समाल्दै विराटनगरलाई सम्मानजनक योगफलतातर्फ डोर्‍याए। उनले तेस्रो विकेटका लागि अनिल साहसँग ६१ रनको साझेदारी गरे ।

तर, सागर ढकालले ११औं ओभरको पाँचौं र छैटौं बलमा अनिल र सुमित महर्जनलाई पवेलियन फर्काउँदै विराटनगरको इनिङलाई ठूलो योगफल बनाउनबाट रोके। सागरले अनिललाई ३२ रनमा बोल्ड गर्दा सुमितलाई शून्यमा एलबिडब्लुको सिकार बनाए। 

त्यसपछि ब्याटिङमा आएका कप्तान करण १ रनमै पवेलियन फर्किंदा विराटनगर ११.५ ओभरमा ७३/६ को अवस्थामा थियो। त्यसपछि सिकन्दरले सातौं विकेटका लागि सौरभ खनालसँग ७३ रनको साझेदारी गरे। तर, १८औं ओभरमा कमलसिंहको बलमा लगातार बाउन्ड्री प्रहार गर्ने चक्करमा उनी ६७ रनमा बाउन्ड्रीलाइनमा समातिए। सिकन्दरको इनिङमा दुई चौका र सात छक्का रह्यो ।

उनी आउट भएपछि विराटनगर दबाबमा परे पनि सौरभले नटआउट ३० रन जोड्दै इनिङ उकासे। चितवनको बलिङमा सोमपाल, कमलसिंह, सागर र जनतले २/२ विकेट लिँदा साहब आलमको नाममा एक विकेट रह्यो। 

आइतबारकै दोस्रो खेलमा भैरहवा ग्लाडिएटर्सले र पोखरा राइनोजबीचको खेल वर्षाका कारण प्रभावित हुँदा दुई टोलीले अंक बाँडे। टियु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखरा राइनोज १०.१ ओभरमा ६/७ विकेटको नाजुक अवस्थामा हुँदा वर्षा भयो। त्यसपछि लगातार वर्षा चलेपछि अंक बाँडियो र त्यसको केही फाइदा पोखराले प्राप्त ग¥यो। वर्षा हुनुअघि पोखराका विवेक यादव १६ रन र विक्रम सोब ७ रनमा थिए।  

पोखराले ओपनरद्वय रिचर्ड लेभीलाई शून्य र सुनील धमलालाई १ रनमा नै गुमायो। त्यसअघि विपिन रावल ६ रनमा आउट हुँदा कप्तान विनोद भण्डारी र लोकेश बम शून्यमा नै पवेलियन फर्किए। ४.१ ओभरमा पोखराले पाँच विकेट गुमाउँदा खातामा १२ रन मात्र थियो।

त्यसपछि पोखराले श्रीलंकन ब्याट्सम्यान असेला गुनरत्नेलाई २३ रनमा र केसरिक विलियम्सलाई शून्यमै गुमायो। असेललाई तमिम एकबालले रनआउट गर्दा केसरिक तुलबहादुर थापाद्वारा एलबिडब्लु आउट भए। भैरहवाका दुर्गेश गुप्ताले तीन विकेट तथा धमिका प्रसाद, अविनाश बोहोरा र तुलबहादुरले समान एक विकेट लिए।  

प्रकाशित: ११ आश्विन २०७८ ०२:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App