२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

त्रिवि क्रिकेट मैदानको समस्या

त्रिवि क्रिकेट मैदान। यो नेपालमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट म्याच हुने एकमात्र मैदान हो। यो मैदानमा अन्तर्राष्ट्रिय स्तरको पहिलो क्रिकेट म्याच एसीसी ट्रफी अन्तर्गत जापान र हङकङबीच ५ अक्टोबर सन् १९९८ मा भएको थियो। त्यसअघि ३ अक्टोबर सन् १९९८ मा नेपाल र थाइल्याण्डबीच र २ अक्टोबरमा बंगलादेश र पपुवान्यूगिनी बीच खेल हुनुपर्नेमा खराब मौसमका कारण खेल हुन सकेको थिएन।  

जसकारण जापान र हङकङबीचको खेल नै त्रिवि क्रिकेट मैदानमा भएको पहिलो अन्तर्राष्ट्रिय खेल हुन पुग्यो। त्यसयता यो मैदान अन्तर्राष्ट्रिय, राष्ट्रिय र स्थानीय खेलहरु खेल्ने एकमात्र मैदान बनेको छ। नेपालले क्रिकेटको क्षेत्रमा उल्लेख्य प्रगती गरिरहेको छ। तर अन्तर्राष्ट्रिय स्तरको खेल मैदान हुन नसक्दा खेलाडीहरुले चाहेजति अभ्यास गर्न सकेका छैनन्।  

एउटा मात्र अन्तर्राष्ट्रिय स्तरको रंगशालाका कारण नेपाली खेलाडीहरुलाई विदेशमा गएर म्याच खेल्न पनि सकस परिरहेको स्वयं खेलाडीहरुले नै बेलाबेला बताउने गरेका छन्। नेपाली खेलाडीहरुलाई सिकाउन आएका प्रशिक्षकहरु पनि नेपालले अन्तर्राष्ट्रिय स्तरको खेल मैदान तयार पार्न सके नेपालको क्रिकेट स्तरमा उल्लेखनीय परिवर्तन हुने दाबी गरिरहेका छन्। तर पनि सरकार यसबारेमा लाचार देखिन्छ।  

नेपालले सन् १९८८ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) बाट एशोसिएट सदस्यता पाएको थियो। अहिलेसम्म आइपुग्दा नेपाल टी–२० वरियतामा विश्वमा १३ औँ स्थानमा छ भने एकदिवसीयमा १६ औँ स्थानमा छ। नेपालमा त्रिभुवन क्रिकेट मैदान बाहेकका अन्य ३ वटा मैदान भए म्याच खेलाउन, खेलाडीहरुलाई अनुभव बटुल्न र अभ्यास गर्ने कुरामा धेरै सहयोग हुने टियू क्रिकेट मैदानका क्युरेटर मधु तामाङले बताए। उनले एउटै क्रिकेट पिचमा खेल्दा एक, दुई वटा खेलपछि नराम्रो असर पर्ने समस्या रहेको भन्दै अन्य अन्तर्राष्ट्रिय स्तरका क्रिकेट मैदान बनाउनुपर्ने जोड दिए।  

एउटा म्याच खेलिसकेपछि एउटा मैदानमा एक महिना म्याच खेलाउन उचित नहुने बताउँदै उनले नेपालमा अन्य क्रिकेट मैदान नबन्दा खेलका लागि मैदान तयार गर्न पनि समस्या रहेको बताए। उनले एकपछि अर्को लगातार म्याच खेलाइरहँदा त्रिवि क्रिकेट मैदानलाई खेलको भार भएको बताए।

त्रिवि क्रिकेट मैदानमा म्याच गराउनका लागि अहिले तीन वटा पिच रहेका छन्, जसमा हरेक म्याचमा पालैपालो म्याच गराइनेछ, इपीएलको लागि मैदान तयार भइसकेको छ। पिच २२ गजको हुनेगर्छ, यसको दुवैतर्फ स्टम्प हुन्छन्, यसमा घाँस कम हुन्छ भने पिचले म्याचमा टीमको रणनीतिलाई प्रभावित बनाउँछ। नेपालले सन् १९९८ मा एसीसी ट्रफीको आयोजना गर्ने अवसर पाएको थियो।  

त्यसका लागि अन्तर्राष्ट्रिय स्तरको मैदान आवश्यक पर्ने भएपछि सन् १९९६ मा भारतको जीस्पोर्टस कम्पनीसँग मैदान बनाउन सम्झौता गरेको थियो। सम्झौता अनुसार सानो फुटबल मैदानलाई जीस्पोर्ट्सले अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाइदिएको थियो।

प्रकाशित: ८ आश्विन २०७८ ०८:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App