१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

बर्लिन म्याराथनमा पार्की

टोकियो ओलम्पिक खेल्न अन्तिम समयमा वञ्चित गोपीचन्द्र पार्कीले विश्व चर्चित बर्लिन म्याराथनमा प्रतिस्पर्धा गर्ने भएका छन्।  

टोकियो ओलम्पिक जान केही साता मात्र बाँकी छँदा ३२औं संस्करणको ग्रीष्मकालीन ओलम्पिकमा उनको नाम समावेश नभएपछि नेपाली खेलकुदका निकाय निकै विवादित बनेका थिए। तथापि, उनको स्थानमा अन्तिम समयमा नेपालले अर्को खेलाडीलाई सहभागिताका लागि पठाएको थियो। 

लामो समयदेखि ओलम्पिकका लागि तयारी गरे पनि प्रतिस्पर्धा गर्नबाट वञ्चित पार्कीले बर्लिन म्याराथनमा दौडने भएका छन्। १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेतासमेत रहेका पार्कीले आगामी सेप्टेम्बर २६ तारिखमा हुने म्याराथनमा नेपालको तर्फबाट चुनौती प्रस्तुत गर्नेछन्।

त्यसका लागि उनी मंगलबार नै कतार एयरवेजबाट बर्लिन प्रस्थान गरिसकेका छन्। उनको प्रशिक्षकमा सन्तोष श्रेष्ठ छन्। उनीहरूलाई राष्ट्रिय खेलकुद परिषद्  (राखेप ) का सदस्यसचिव रमेशकुमार सिलवालले मंगलबारै बिदाइ गरेका थिए। टोलीको हवाई टिकट राखेपले व्यवस्था गरिदिएको हो। 

म्याराथनमा पार्कीको उत्कृष्ट समय २ घन्टा १८ मिनेट ५९ सेकेन्ड छ। यसैबीच नेपालगन्ज म्याराथन आयोजक क्रिएटिभ ह्यान्ड्सले पनि पार्की र श्रेष्ठलाई मंगलबारै छुट्टै कार्यक्रम आयोजना गरी बिदाइ गरेको थियो। सदस्यसचिव सिलवाल, क्रिएटिभ ह्यान्ड्सका अध्यक्ष टिएस ठकुरीलगायतले उनीहरूलाई बिदाइ गरेका थिए। त्यस अवसरमा क्रिएटिभ ह्यान्ड्सले पार्कीलाई मायाको चिनोस्वरूप ट्रयाक सुट, ब्याग र टिसर्ट प्रदान गरेको थियो। 

प्रकाशित: ६ आश्विन २०७८ ०१:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App