२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

हारबाट जोगियो बार्सिलोना

स्पेनिस ला लिगाअन्तर्गत सोमबारको खेलमा घरेलु टोली बार्सिलोना भ्रमणकारी टोली ग्रानाडासँग हारबाट जोगिएको छ। रोनाल्ड कोम्यानको टोली बार्सिलोना निर्धारित समयको अन्तिम मिनेटमा गोल फर्काउँदै ग्रानाडासँग १–१ को बराबरीमा रोकिएको हो। 

पाहुना टोलीले दोस्रो मिनेटमा लिएको अग्रता अन्तिम मिनेटसम्मा जोगाउन सकेन। प्रशिक्षक कोम्यानले जेरार्ड पिकेको स्थानमा ७५औं मिनेटमा वैकल्पिक खेलाडी प्रतिस्थापन गर्दै अट्याकिङ फुटबल खेलाउने प्रयास गरे पनि बार्सिलोनाले सोचेजस्तो प्रदर्शन गर्न सकेन।

निकै रोमाञ्चक बनेको खेलमा ग्रानाडाले दोस्रो मिनेटमै कौटिन्हो मेनेसेस डुआर्टेको गोलबाट अग्रता लिएको थियो। घरेलु मैदानमा पछि परेको बार्सिलोनाले खेलअवधिर निकै संघर्ष गर्‍यो। 

अन्ततः अन्तिम मिनेटमा बार्सिलोनाका लागि रोनाल्ड अरौजोले बराबरी गोल फर्काएपछि बार्सिलोना हारबाट जोगिएको थियो। ग्रानाडासँगको खेलबाट घरेलु मैदानमा दुई अंक गुमाएको बार्सिलोनाका प्रशिक्षक कोम्यानले फरक रणनीतिमा केही परिवर्तन गरे पनि सफलता निकाल्न नसकेको स्वीकार गरे।

‘खेलमा केही सामान्य परिवर्तन गर्दै खेलेका हौं,’ बार्सिलोनाका प्रशिक्षक कोम्यानले भने, ‘रणनीतिअनुसार हामीले बाहिरबाट खेल्ने प्रयास गरेका थियौं। तर सफल हुन सकेनौं ।’ कोम्यानको रणनीति पछिल्लो साता सम्पन्न च्याम्पियन्स लिगअन्तर्गत बायर्न म्युनिखसँगको खेलमा विफल भएको थियो। जहाँ बार्सिलोना ३–० ले पराजित भएको थियो। ग्रानाडासँगको खेलमा पनि बार्सिलोना बराबरीमा रोकिएपछि उसका समर्थकले असन्तुष्टि जनाएका छन्।

पछिल्लो समयको नतिजाले प्रशिक्षक रोनाल्ड कोम्यानमाथि दबाब थपिएको छ। घरेलु मैदानमै बार्सिलोना नतिजा निकाल्न संघर्षरत देखिन थालेको छ। लियोनल मेसीले बार्सिलोना छाडेपछि स्पेनिस जायन्ट खराब लयबाट गुज्रिरहेको हो।

बार्सिलोना यस सिजन स्पेनिस लिगमा अपराजित छ। चार खेलबाट ८ अंक जोडेको बार्सिलोना तालिकाको सातौं स्थानमा छ। जितविहीन हुँदै तीन अंक बटुलेको ग्रानाडा तालिकाको १७औं स्थानमा छ। च्याम्पियन्स लिगअन्तर्गत बेनफिकाको भ्रमणमा निस्कनुअघि बार्सिलोनाले कार्डिज र लेभान्टेसँग प्रतिस्पर्धा गर्दै छ। 

प्रकाशित: ६ आश्विन २०७८ ०१:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App