८ वैशाख २०८१ शनिबार
खेल

गण्डकी प्रदेशलाई खेलकुदको हब बनाउने सपना छः मुख्यमन्त्री

गण्डकी प्रदेश मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सबै क्षेत्र कोरोनाले थलिएको बताउँदै अब खेलकुदकै माध्यमबाट पर्यटन प्रवद्र्धनमा अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । नेपाल भूतपुर्व खेलाडी मञ्च नेपालको एघारौं वार्षिक साधारण सभा तथा सातौं अधिवेशनलाई उदघाटन गर्दै मुख्यमन्त्री नेपालीले गण्डकी प्रदेशलाई खेलकुदको हबको रुपमा विकास गर्ने सपना रहेको उल्लेख गरे ।  

‘कोरोनाले सबै क्षेत्र शिथिल छ । खेल पर्यटनकै माध्यमबाट समृद्धिको परिकल्पना गर्न सकिन्छ’ उनले भने, ‘त्यसको लागि खेलकुदको हबको रुपमा विकास गर्ने सपना गण्डकी प्रदेश सरकारले देखेको छ ।’ मुख्यमन्त्री नेपालीले प्रदेश समृद्धि गर्ने धेरै आयाम मध्ये खेलकुद क्षेत्र एक भएकोले खेलकुदको विकासमा गण्डकी प्रदेश सरकारको गम्भीर चासो रहेको बताए । ‘खेलकुद विकासको लागि छुट्टै मन्त्रालय चाहिन्छ भनेर नै खेलकुद मन्त्रालय बनाइएको हो,’ उनको भनाई थियो ।  

मुख्यमन्त्री नेपालीले गण्डकी प्रदेशलाई साहसिक खेलकुदसँगै फुटबल, भलिबल क्रिकेट जस्ता खेलहरुमा युवापुस्तालाई संलग्न गराउने तर्फ सचेत हुनुपर्ने बताए । ‘खेलाडीलाई एक्सपोजर गराउनुपर्छ, हुनुपर्छ,’ उनले भने, ‘खेलाडी एक्सपोजरले नै विश्वमाझ स्वयं खेलाडी र देश चिनिन्छ ।’ उनले भुतपुर्व खेलाडी मञ्चले आयोजना गर्दै आएको पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई सहयोग गर्ने तर्फ गण्डकी प्रदेश सरकार सहयोग गर्ने विषयमा छलफल गर्न सकिने उल्लेख गरे ।  

सातौ अधिवेशनमा नेपाल भुतपुर्व खेलाडी मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई म्याराथनको अन्तराष्ट्रिय संस्थासँग आवद्ध गराउन निकै चुनौतिपूर्ण रहेको बताए । उनले अन्तर्राष्ट्रिय संस्थामा आवद्ध गराउन सकिए ख्यातिप्राप्त अन्तर्राष्ट्रिय म्याराथन धावकको सहभागिता रहने भन्दै दर्ता गराउन चुनौतिपूर्ण रहेको जिकिर गरे ।  

‘पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई अन्तराष्ट्रिय म्याराथन संस्थामा आवद्ध गराउनु चुनौतिपूर्ण छ । पुरस्कार राशी कम छ । पुरस्कार राशी कम हुदाँ अन्तर्राष्ट्रिय धावकको चासो पनि कम हुने गरेको छ,’ उनले भने, ‘पुरस्कार राशी बढाएर अन्तर्राष्ट्रिय संस्थामा दर्ता गराउन सकिए पोखरालाई अन्तर्राष्ट्रिय म्याराथन सिटीको रुपमा चिनिन्थ्यो ।’ पुरस्कार राशी बढाउन सरकारी निकायले चासो दिनुपर्ने उनको भनाई थियो ।  

१५ औं संस्करणको अन्तराष्ट्रिय म्याराथनमा पोखरा महानगरसँग भगिनी सम्बन्धी रहेको कोमागानेको धावक च्याम्पियन बनेको उल्लेख गर्दै अध्यक्ष गुरुङले गण्डकी प्रदेश र पोखरा महानगरपालिकाले पुरस्कार राशी बढाई अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धा बनाउनुपर्नेमा जोड दिए । ‘सरकारी तबरबाट सहयोगको खाँचोे छ,’ उनले भने , ‘सरकारी सहयोग भए खेल पर्यटनबाट समृद्धिको परिकल्पना साकार पार्न सकिन्छ ।’  

अधिवेशनमा पत्रकारिता मार्फत पोखरा म्याराथनलाई योगदान पु¥याएको भन्दै फोटो पत्रकार राम गुरुङलाई नगद १० हजार रुपैयाँसहित सम्मान गरिएको थियो । उनीसँगै पाकिस्तानमा भईरहेको यु–१२ आईटिफ टेनिसमा संलग्न जस्टिन श्रेष्ठलाई समेत नगदसहित सम्मान गरिएको थियो । त्यसैगरी सामाजिक क्षेत्रबाट निरज थापा, स्वास्थ्य क्षेत्रबाट सम्मरबहादुर श्रेष्ठ, डा खड्गसिंह गुरुङ, पोखरा–१४ स्थित मेरो नेपाल युवा क्लब, मञ्चका आजीवन सदस्यहरु इन्द्र गुरुङ, बालकुमारी गुरुङ, महेन्द्र श्रेष्ठ, विनोद कायस्थ, गीता चालिसे, ज्ञानु रोका, कुलबहादुर तामाङ लगायत सम्मान गरिएको थियो ।  

प्रकाशित: ३ आश्विन २०७८ ०९:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App