१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

खेलाडीभन्दा फरक खेलका प्रशिक्षक

‘जगत गुरु’ अर्थात् जगत टमाटा। यो नाम आउनेबितिक्कै क्रिकेटसँग जोडिने गर्दछ। खेलकुदमा रुचि राख्नेका लागि नेपाली क्रिकेटलाई उचाइमा पुर्‍याउन योगदान दिएका व्यक्तित्वका रूपमा परिचित छन् उनी। किनकि उनी कुनै समय नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका मुख्य प्रशिक्षक थिए। 

बेलाबेलामा पुरुष टोलीमा विदेशी प्रशिक्षक रिक्त हुँदा उनले नै प्रशिक्षण सम्हाल्ने गर्छन्। अहिले प्रशिक्षक टमाटाले महिला टोलीलाई प्रशिक्षण दिइरहेका छन्। उनी राष्ट्रिय खेलकुद परिषद् (राखेप) का मुख्य प्रशिक्षक पनि हुन्। टमाटाको प्रशिक्षणबाट नेपालले थुप्रै प्रतियोगितामा सफलता हात पार्दै अन्तर्राष्ट्रिय ट्रफी भित्र्याएका छ।

डिभिजन पाँच हुँदै नेपालले अहिले एकदिवसीय मान्यता पाइसकेको छ। साथै नेपालले विश्वकप यात्रा पनि गरिसकेको छ। नेपालको यी सफलतामा टमाटाको योगदान नरहने कुरै भएन। नेपाल क्रिकेट संघ (क्यान) को तीन वर्षे प्रतिबन्धका समयमा पनि उनले नेपालको क्रिकेट व्यवस्थापनमा अहम् भूमिका खेलेका थिए। 

एक किसिमले भन्नुपर्दा उनले अभिभावकीय भूमिका निर्वाह नै गरे। साथै आफ्नो प्रशिक्षणबाट उनले पनि नेपाली क्रिकेटलाई भर्‍याङ चढाउने काम गरे। नेपाली क्रिकेटको सफलताका कथामा पनि उनी महत्वपूर्ण पात्र हुन्। यस कारण पनि उनको परिचय क्रिकेटसँग जोडिएको छ। तर, टमाटाको करियरमा अन्य पक्ष पनि जोडिएका छन्। जुन कमैलाई मात्र जानकारी छ।  

क्रिकेटबाट नै खेल करियर सुरुआत गरेका उनै टमाटा कुनै बेला हक्कीका राष्ट्रिय खेलाडी पनि हुन्। उनलाई राम्रोसँग चिन्नेले पनि उनको यो फरक परिचय सुनेर अचम्म मान्छन्। भारतको क्रिकेट सिकाइका क्रममा उनले हक्कीमा पनि चासो देखाए। भारतको दयानन्द स्कुलमा पढ्ने क्रममा उनले हक्की सिके। 

त्यहाँको सामान्य सिकाइले पनि उनले हक्कीमा नेपालको राष्ट्रिय टोलीसम्मको यात्रा तय गरे। मुम्बईको दयानन्द विद्यालयबाट क्रिकेट करियर सुरु गरेका टमाटा स्कुलका कप्तान हुँदा हक्कीमा पनि जोडिन पुगे। उनले पहिलो पटक क्रिकेट ब्याट र बल समाउन भारतमै सिकेका थिए। कैलालीको टीकापुरका टमाटा पारिवारिक कामको सिलसिलामा त्यहाँ पुगेका थिए।

अहिले पनि सुदूरपश्चिममा मानिस कामको सिलसिलामा भारत पुग्ने प्रचलन नै छ। सन् १९९० पछि नेपाल फर्किएका टमाटालाई पाँच वर्षपछि भारत जाने अर्को अवसर जुट्यो। उनले नेपालको हक्की टोलीबाट भारतको मद्रासमा सम्पन्न सातौं दक्षिण एसियाली खेलकुद (साग) मा प्रतिनिधित्वसमेत गरेका थिए। 

तर, नेपालको नतिजा सहभागितामा मात्र सीमित रह्यो। सहभागिता हक्कीमा हुँदा उनी आफैँ खुसी थिए। ‘विद्यालयमा हक्कीको पावर हिटिङ गर्दै ड्रिब्लिङ सिकेको थिएँ। हक्कीको सामान्य स्किलबाट पनि म नेपाली टोलीमा अटाएँ,’ जगत टमाटाले इतिहास सम्झिएर भने, ‘हक्की मेरो चासोको खेल थियो। तर करियर भने थिएन। पछि नेपाल फर्किएर क्रिकेटमा नै लागिपरें। ममा क्रिकेटको नशा पसिसकेको थियो।’

कसरी जोडिए क्रिकेटमा टमाटा ?

नेपाली क्रिकेट र प्रशिक्षक टमाटाको सम्बन्ध कसरी भयो भन्दा सबैलाई आश्चर्य लाग्न सक्छ। सन् १९९६ मा नेपालले आइसिसीको एसोसिएट सदस्यता पाएपछि एसिसी ट्रफी खेल्ने मौका पायो। उक्त प्रतियोगिता नै नेपालको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो। 

नेपालले सहभागिता जनाउने क्रममा टिम तयार पार्दा टमाटा पनि टोलीमा अटाए। प्रतियोगितामा पाँच खेल खेलेको नेपाली टोली दुई खेल जित्दै घर फर्कियो। फेरि अर्को अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी सुरु गर्नु थियो, त्यसैले क्याम्प बोलाइयो। त्यो टोलीमा टमाटाको नाम पनि समावेश थियो। तर क्यानका उच्च पदाधिकारी टिबी शाहले ‘जगतलाई त अब खेल्न होइन, प्रशिक्षणमा लगाउनुपर्छ’ भने।

‘प्रशिक्षक वीरेन्द्र भट्नागरले टोलीमा समावेश गर्नुभएको थियो। तर, टिबी शाहले भने प्रशिक्षणमा अभ्यस्त गराउनुपर्छ भन्दै नाम फिर्ता गराउनुभयो,’ टमाटाले थपे। मुम्बईमा क्रिकेटसम्बन्धी राम्रो ज्ञान बटुलेका टमाटाको क्षमतालाई नियाल्दै प्रशिक्षक बनाउने लक्ष्यका साथ प्रशिक्षणमा ध्यान दिन उनले निर्देशन पाएका थिए। सोहीअनुसार प्रशिक्षकको जिम्मेवारी टमाटाले सम्हाल्दै गए।  

प्रशिक्षणमा निरन्तरतापछि छोटो समयमा नै उनी राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहायक क्रिकेट प्रशिक्षकमा छानिए। भारतको पटियालामा एक वर्षे प्रशिक्षण लिएर आएपछि उनको करियरले थप गति लियो।

सुरुमा उनले रूपन्देहीमा प्रशिक्षण गराउने जिम्मेवारी पाए। त्यसपछि भैरहवा, पोखरा हुँदा काठमाडौंमा आइपुगे। राखेपको प्रशिक्षकका रूपमा उनले विभिन्न जिल्लामा आफ्नो कौशल देखाए। सो क्रममा उनले विभिन्न क्षेत्रका टोलीलाई राष्ट्रिय प्रतियोगितामा च्याम्पियन पनि बनाए। जगत टमाटाको परिचय खेलाडीभन्दा पनि प्रशिक्षणबाट नै चुलिँदै गयो। 

मंसिर २०७२ मा जब पुबुदु दसानायकेले नेपाली क्रिकेट टोलीको जिम्मेवारीबाट बिदाइ भए, धेरैलाई चासो थियो अब कसले सम्हाल्ला नेपाली टोली ? कस्ता प्रशिक्षक आउलान् ? किनभने नेपाल क्रिकेट संघ (क्यान) अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) बाट निलम्बित थियो। अर्कोतर्फ तदर्थ समितिको विवादका कारण क्रिकेट खेलाडी र प्रशिक्षक अन्योलमा थिए।

विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नामिबियासँग काठमाडौंमा खेल्नुअघि टमाटालाई प्रशिक्षकको जिम्मेवारी थमाइएको थियो। त्यो अवस्थामा टमाटालाई निकै चुनौती थियो। दसानायकेले बनाएको स्थान लिन सक्लान् या नसक्लान् भन्ने सर्वत्र प्रश्न उठेको थियो। नेपाली राष्ट्रिय टोलीबाट दसानायकेले दिलाएको सफलतामा उनी चुक्ने त होइनन् भन्ने आशंका पनि रहे। 

उनकै नेतृत्वमा नेपाल विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष चारमा रहन सकेन। हङकङसँग हारेपछि डिभिजन ‘टु’ मा घटुवा भयो। तर, नामिबियामा सम्पन्न डिभिजन ‘टु’ मा नाटकीय खेलबाट नेपाल विश्वकप छनोटमा पुगेको थियो।

सन् २०१८ को मार्चमा सम्पन्न एकदिवसीय विश्वकप छनोट क्रिकेटमा प्लेअफबाट नेपालले एकदिवसीय मान्यता पाएको थियो। जुन आगामी २०२२ सम्म कायम रहनेछ। त्यसैले नेपाली क्रिकेटको सफलताका कथामा टमाटाको नाम छुट्दा अपूरो रहन्छ। तथापि, प्रशिक्षक टमाटाले पाएका सफलता खेलाडीको मेहनतले मिलेको बताउँछन्। प्रशिक्षक करियरमा करण केसी र सन्दीप लामिछानेले क्यानडाविरुद्ध गरेको साझेदारीले नेपाली क्रिकेट अहिलेको अवस्थामा आएको उनी बताउँछन्।

‘करणले क्यानडाविरुद्ध गरेको प्रदर्शन जहिले पनि मानसपटलमा घुमिरहने मेरो प्रशिक्षण करियरको यादगार क्षण हो,’ प्रशिक्षक टमाटाले भने, ‘नेपाल कठिन अवस्थामा थियो। १४४/९ हुँदा नेपाललाई ५१ रन चाहिएको थियो। जुन करणले सन्दीपसँग मिलेर पूरा गरे। यस्तो साझेदारी विरलै मात्र देख्न पाइन्छ। सोही खेलले आज हामी यो अवस्था रहेका छौं।’ सन् २००१ मा लेभल–१ कोचिङ कोर्स पूरा गरेका टमाटाले सन् २००४ मा लेभल–२ पूरा गरेका थिए। त्यसपछि उनले २०११ मा लेभल–३ को कोर्स पनि पूरा गरेका थिए।  

टमाटाकै प्रशिक्षणमा नेपाली यु–१९ टोली सन् २०१२ मा विश्वकपका लागि छनोट भएको थियो। टमाटाकै नेतृत्वमा नेपालले सन् २०१४ को ट्वान्टी–२० विश्वकप खेल्यो। अर्कोतर्फ उनको प्रशिक्षणमा नेपाली यु–१९ टोली सन् २०१२ मा विश्वकपका लागि छनोट हुन पुग्यो। टमाटाको प्रशिक्षणमा नेपाली यु–१९ क्रिकेट टोली दुई पटक (सन् २०१२ र २०१६ मा) आइसिसी युवा विश्वकपमा खेलिसकेको छ। नामिबियामा सम्पन्न विश्व क्रिकेट लिग डिभिजन–२ मा उनले नेपाललाई उपविजेता बनाएका छन्।

प्रकाशित: ३० भाद्र २०७८ ०२:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App