८ वैशाख २०८१ शनिबार
खेल

अन्तर्राष्ट्रिय फुटबलमा रोनाल्डोको सर्वाधिक गोल

क्रिस्टियानो रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी बनेको दिन बुधबार पोर्चुगलले कतार विश्वकप २०२२ छनोटअन्तर्गत रिपब्लिक अफ आयरल्यान्डमाथि रोमाञ्चक २–१ को पुनरागमन जित निकालेको छ।  

विश्वकप छनोटअन्तर्गत बुधबार नै भएको अर्को खेलमा फ्रान्सले बोस्निया एन्ड हर्जगोभिनाविरुद्ध १–१ गोलको बराबरी खेल्दा समूह एफको डेनमार्कले स्कटल्यान्डलाई २–० ले स्तब्ध बनाएको छ। पोर्चुगिज टोलीलाई पुनरागमन जित निकाल्दा क्रिस्टियानो रोनाल्डो एक्लैले दुई गोल गर्दै अन्तर्राष्ट्रिय फुटबलमा एकै देशबाट सर्वाधिक गोल गर्ने खेलाडी बनेका हुन्। 

खेल सकिन एक मिनेट बाँकी र इन्जुरी समयमा दुई गोल पूरा गरेका रोनाल्डोले पोर्चुगलका लागि १ सय ११ गोल गर्दा अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका हुन्। यसअघि रोनाल्डोले इरानका अली दाईले बनाएको १ सय ९ गोलको सर्वाधिक गोलको कीर्तिमानसँग बराबरी बनाएका थिए।

अली दाईले इरानका लागि सन १९९३ देखि २००६ सम्म अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक १ सय ९ गोल गरेका थिए। रोनाल्डोले युरो २०२० मा सो कीर्तिमानलाई बराबरी गरेका थिए। खेलाडी सरुवा बजारको अन्तिमतिर म्यानचेस्टर युनाइटेडमा दोस्रो पटक अनुबन्धित भएका रोनाल्डोले सर्जियो रामोसको युरोपियन प्रतियोगितामा सर्वाधिक १ सय ८० क्यापको कीर्तिमानसमेत बराबरी गरेका छन्।

‘फुटबल करियरमा मेरा लागि यो धेरै खुसीको क्षण हो। मेरो यो कीर्तिमान भयो। मेरा लागि फरक मात्र हो, किनभने विशेष अवस्थामा यो भएको छ,’ राष्ट्रिय टोलीका लागि सर्वाधिक गोल गरेका रोनाल्डोले भने, ‘खेलको अन्तिम समयमा दुई गोल। टोलीलाई जित दिलाउँदै अगाडि बढाउने र उपाधि दिलाउने मेरो सोख हो। पछि परे पनि हामीले अन्तिमसम्म सन्तुलित खेल देखाएर खेल्यौं। नतिजा पोल्टामा पर्‍यो।’  

सर्वाधिक गोलकर्ता बनेका रोनाल्डो युरोपेली क्लब फुटबलका पनि सर्वाधिक गोलकर्ता हुन्। पाँच पटकका बालोन डी’अर विजेता रोनाल्डो युरोपियन कप र च्याम्पियन्स लिगका पनि सर्वाधिक गोलकर्ता हुन्। रियाल मड्रिडका पूर्वफरवार्ड रोनाल्डोले युरोपियन च्याम्पियनसिप इतिहासमा सर्वाधिक १४ र युरो र विश्वकपमा सर्वाधिक २१ गोल गरेका छन्।

विश्वकप छनोटअन्तर्गतको खेलमा पोर्चुगिज टोली पहिलो हाफमा पछि परेको थियो। पहिलो हाफको अन्तिम मिनेटमा जोन इगानले गोल गर्दै आयरल्यान्डका लागि खाता खोलेका थिए। जुन जोन इगानको पहिलो अन्तर्राष्ट्रिय गोल थियो। त्यसअघि १५औं मिनेटमा पोर्चुगलले पेनाल्टी अवसर पाएको थियो। रोनाल्डोले नै प्रहार गरेको पेनाल्टीमा उनी चुकेका थिए।

विपक्षी खेलाडीले ब्रुनो फर्नान्डेजमाथि गरेको फाउलमार्फत पाएको पेनाल्टीमा रोनाल्डो चुक्न पुगेका थिए। उनको पेनाल्टीलाई आयरल्यान्डका १९ वर्षीय गोलकिपर गाभिन बुजुनुले असफल पारिदिएका थिए। पहिलो हाफमा अग्रता लिएको आयरल्यान्डविरुद्ध पोर्चुगलले दोस्रो हाफमा खेलमा फर्किन निकै संघर्ष गर्‍यो। अन्तिम मिनेटसम्म रोकेको आयरल्यान्डविरुद्ध ८९औं मिनेटमा रोनाल्डोले गोल गर्दै टोलीलाई खेलमा फर्काए।

त्यसपछि इन्जुरी समयमा उनले नै गोल गर्दै रोमाञ्चक जित टोलीको पोल्टामा पारे। समूह ‘ए’ मा रहेको पोर्चुगलले चार खेलबाट १० अंक बनाएको छ। तीन खेल खेलेको रिपब्लिक अफ आयरल्यन्ड समूहतालिकामा अंकविहीन छ। विश्वकप छनोटअन्तर्गत बुधबारकै अर्को खेलमा फ्रान्सेली टोली ग्रिजम्यानको गोलको मद्दतमा हारबाट जोगिएको थियो। इडेन डेज्कोले बोस्निया एन्ड हर्जगोभिनालाई ३६औं मिनेटमा अग्रता दिलाएका थिए। तर अग्रता धेरै समय टिकेन। 

चार मिनेटपछि नै ग्रिजम्यानले गोल गर्दै खेल बराबरीमा ल्याए। ५१औं मिनेटमा फ्रान्सका जुलियस कोउन्डे रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिए पनि हर्जगोभिनाले कम खेलाडी भएको फाइदा उठाउन सकेन। अर्को खेलमा भने डेनमार्कले पहिलो हाफमा निकालेको नतिजा जितका लागि पर्याप्त बनेको थियो। 

पहिलो हाफमा डेनमार्कका लागि ड्यानियल वास र जाओकिम मइहिलाले क्रमशः १४औं र १५औँ मिनेटमा गोल गरेका थिए। छनोटअन्तर्गतका अन्य खेलमा क्रोएसियाले रसियासँग गोलरहित बराबरी खेल्दा इजिप्टले एंगोलालाई १–०, नर्वे र नेदरल्यान्ड्सले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे।

प्रकाशित: १८ भाद्र २०७८ ०१:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App