८ वैशाख २०८१ शनिबार
खेल

सीमित दर्शकलाई अनुमति

पत्रकार सम्मेलनमा बोल्दै एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा (बायाँ) । तस्बिरः दीपेश श्रेष्ठ /नागरिक

कोरोना महामारीका बीच भारतसँग घरेलु मैदानमा हुने दुई मैत्रीपूर्ण खेलमा दर्शकले अनुमति पाउँछन् कि पाउँदैनन् भन्ने सर्वत्र चासोको विषय बनेको थियो। विश्वकै लोकप्रिय खेल फुटबलको अन्तर्राष्ट्रिय प्रतिस्पर्धा आयोजना हुँदा स्वाभाविक रूपमा रंगशालामा दर्शकको उपस्थिति बाक्लो नै हुने गर्दछ। 

नेपाल पनि त्यसबाट अछुतो रहने कुरै भएन। नेपालमा हुने गरेका अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पनि दर्शकको उपस्थिति बाक्लो हुने गरेको छ। बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो तयारीबारे जानकारी दिने कार्यक्रममा सीमित दर्शकलाई प्रवेश दिने अनुमति पाएको बताएसँगै घरेलु समर्थकले त्रिदेशी फुटबलपश्चात् घरेलु मैदानमा फुटबल हेर्न पाउने भएका छन्।  

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले बुधबार पत्रकार सम्मेलनमार्फत सरकारले सीमित दर्शक प्रवेशको अनुमति दिएको जानकारी दिए। स्वास्थ्य मन्त्रायलले जारी गरेको मापदण्ड पालना गरेर ५ हजार १ सय दर्शकलाई अनुमति दिन सकिने शेर्पाले बताए। दशरथ रंगशालाको पूर्ण क्षमता १५ हजारको हो। ‘दर्शकको प्रवेशबारे सर्वत्र चासो थियो। अन्ततः सरकारले सीमित दर्शक राख्ने अनुमति दिएको छ। 

साथै हामीले स्वास्थ्य प्रोटोकल पनि पालना गर्नेछौं,’ उनले भने, ‘प्रवेशका लागि पिसिआर परीक्षण नेगेटिभको रिपोर्ट वा पूर्णरूपमा भ्याक्सिन लगाएको हुनुपर्नेछ। पाँचवटै गेट खुला गर्नेछौं र सिटअनुसारको गेटबाट प्रवेश गराउनेछौं। प्रत्येक गेटमा रिपोर्ट चेक गर्न डेस्क राख्नेछौं।’ उनले स्टेडियममा पूर्ण रूपमा एएफसीको स्वास्थ्य गाइडलाइनअनुरूप नियम पालना हुने पनि स्पष्ट पारे। एन्फाले भिआइपीतर्फ २ हजार र साधारण प्यारापिटतर्फ १ हजार रूपैयाँ टिकटको मूल्य तोकेको छ।

प्रकाशित: १७ भाद्र २०७८ ०२:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App