७ वैशाख २०८१ शुक्रबार
खेल

अभिषेक र अर्पण बाहिरिए

भारतसँग हुने मैत्रीपूर्ण खेल र साफ च्याम्पियनसिपका लागि राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले २५ खेलाडीको सूची तयार पर्दा स्ट्राइकर अभिषेक रिजाल टोलीबाट बाहिरिएका छन्।  

मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले घोषणा गरेको टोलीमा स्ट्राइकर अभिषेक रिजाल, गोलकिपर अर्पण कार्कीसहित शिशिर लेखी बाहिरिएका हुन्। पोखरामा प्रशिक्षण गरिरहेको टोलीबाट प्रशिक्षकले तीन खेलाडीलाई बाहिर राखेर २५ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेका हुन्। दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको स्वर्ण दिलाउँदा उत्कृष्ट खेल प्रदर्शन गरेका अभिषेक टोलीबाट बाहिरिएका हुन्।  

भदौ १७ र २० गते नेपालले काठमाडौंमा भारतसँग मैत्रीपूर्ण खेल खेल्दै छ। त्यसका लागि नेपाली टोली अन्तिम तयारीमा रहेको छ। साफ तयारीमा रहेको नेपालले मैत्रीपूर्ण खेलपछि माल्दिभ्समा हुने साफ च्याम्पियनसिप खेल्नेछ। नेपालसँगको मैत्रीपूर्ण खेलका लागि भारतीय टोली कोलकाताबाट भदौ १४ गते नेपाल आइपुग्नेछ।  

साफ च्याम्पियनसिप असोज १५ देखि ३० गतेसम्म आयोजना हुँदै छ। वर्ष दिनपछि धकेलिएको १३औं संस्करणमा आयोजक माल्दिभ्स, भारत, नेपाल, बंगलादेश र श्रीलंकाको सहभागिता रहने निश्चित भएको छ। यस संस्करणमा भुटान र पाकिस्तानको सहभागिता हुने छैन। प्रतियोगितामा नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। नेपाल र माल्दिभ्सबीचको खेल अक्टोवर १ (असोज १५) मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ। 

नेपालले दोस्रो खेलमा श्रीलंकासँग अक्टोबर ४ (असोज १८), तेस्रो खेलमा भारतसँग अक्टोवर १० (असोज २४) र लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग अक्टोवर १३ (असोज २७) मा खेल्नेछ। लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि अक्टोवर १६ (असोज ३०) मा प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: ९ भाद्र २०७८ ०३:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App