२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

इन्टरको सुखद सुरुआत

इटालियन सिरी ‘ए’ को साबिकको विजेता इन्टर मिलानले शनिबार जिनोवामाथि ४–० को सहज जितका साथ उपाधि  रक्षाको लक्ष्यमा सुखद सुरुआत गरेको छ। सान सिरो  रंगशालामा भएको इन्टर  र जिनोवाबीचको खेलमा करिब २७ हजार दर्शक उपस्थित थिए। इन्टरको सहज जितमा मलान स्किनाइर, हाकान चालनोग्लु, अर्टुरो भिडाल  र इडेन जेकोले समान १/१ गोल गरे। ‘आज टोलीले उत्कृष्ट प्रदर्शन गर्‍यो। सिजनको यो सुखद सुरुआत हो,’ चालनोग्लुले भने, ‘त्यसैले सहज जित सम्भव भयो। टोलीलाई आफ्नो क्षमता  राम्रोसँग थाहा छ। हामी आगामी खेलहरूमा यही उत्कृष्ट लयको निरन्तरता दिन चाहन्छौं।’

सन् २०१२ पछि इन्टरले गत सिजन पहिलो पटक इटालियन सिरी ‘ए’ को उपाधि जितेको थियो। इन्टरलाई सिरी ‘ए’ को उपाधि जिताएका तत्कालीन प्रशिक्षक एन्टोनियो कोन्टेले व्यवस्थापनसँगको मनमुटावका कारण क्लब छोडेका थिए। त्यस्तै आर्थिक समस्याका कारण इन्टरले बेल्जियमका स्ट्राइक र रोमेलु लुकाकुलाई चेल्सीलाई पनि बेचेको थियो। चालनोग्लु  र इभान पेरिसिच यसै सिजन मात्र एसी मिलानबाट इन्टरमा अनुबन्धन भएका हुन्। डेनमार्कका मिडफिल्ड र क्रिस्टियन इरिकसनले पनि यस सिजन खेल्ने या नखेल्ने अझै दुविधा छ।

इरिकसन युरोपियन च्याम्पियनसिप २०२० अन्तर्गत फिनल्यान्डविरुद्ध समूहको पहिलो खेलमा हृदयघातका कारण मैदानमै ढलेका थिए। त्यसपछि उनी मैदानमा फर्किएका छैनन्। हाल उनी घरमै स्वास्थ लाभ लिइरहेका छन्। त्यस्तै, एट्लान्टाले टोरिनोलाई २–१ ले हरायो। एट्लान्टाको जितमा लुइस मुरेल  र  रोबेर्टो पिक्कोलीले समान एक गोल गरेका थिए भने टोरिनोका आन्द्रिया बेटोलले सान्त्वना एक गोल फर्काए। इटालियन सिरी ‘ए’ अन्तर्गत शनिबार राती भएका अन्य खेलमा लाजियोले इम्पोलीलाई ३–१ पराजित गर्दा सासौलोले भेरोनालाई ३–२ ले हरायो।

प्रकाशित: ७ भाद्र २०७८ ०२:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App