५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

ग्रिजम्यानलाई स्थापित हुने मौका

स्टार स्ट्राइकर लियोनल मेसी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) मा अनुबन्धित भएसँगै बार्सिलोना एन्टोनियो ग्रिजम्यानलाई स्थापित गर्न चाहन्छ। मेसीको बहिर्गमनपछि ग्रिजम्यानलाई क्याटलान क्लबलाई नेतृत्व लिने उत्कृष्ट मौका पनि हुनेछ।  

आगामी शनिबार बार्सिलोनाले एट्लेटिको बिलबाओको मैदानमा आतिथेय गर्दा ग्रिजम्यानले टोलीका लागि १ सय एकौं खेल खेल्दै छन्। दोस्रो चरणको खेलमा बार्सिलोनाले स्पेनिस लिगमा भ्रमण गर्न लागेको हो। अन्ततः फ्रान्सका स्ट्राइकर ग्रिजम्यानले मेसीको अनुपस्थितिमा टोलीलाई संयोजन गर्दै प्रतिनिधित्व गर्नेछन्। क्लबका लागि धेरैभन्दा धेरै खेलेर इतिहास बनाउन चाहने ग्रिजम्यानले बार्सिलोनाका लागि खेल्न पाउँदा रमाउने बताए।  

‘अझै सय खेल खेल्न पाउँछु भन्ने अपेक्षा छ। क्लबलाई अगाडि बढाउँदै इतिहास रच्न चाहन्छु,’ फ्रान्सका स्ट्राइकर ग्रिजम्यानले भने, ‘म टोलीलाई मैदानभित्र र बाहिर दुवै स्थानमा रहेर सहयोग गर्न चाहन्छु। साथै अट्याक र रक्षांपक्तिमा पनि मेरो चाहना छ। बार्सिलोनाको सदस्य रहेर खेल्न रमाउँछु।’

मेसी क्लबमा रहँदा पनि ग्रिजम्यानले उत्कृष्ट खेल प्रदर्शन गर्दै आएका छन्। तर उनको उपस्थितिमा भने ओझेलमा पर्ने गरेका थिए। सोही कारण उनले अपेक्षाअनुसारको खेल खेल्न पाएनन्। एट्लेटिको मड्रिडबाट १ सय २० मिलियन युरोमा २०१९ मा बर्सिलोना गएका ग्रिजम्यान मेसीको छायामा परेको टिप्पणी हुँदै आएको थियो। विश्वकपको उपाधि उचाल्दाका सदस्य ग्रिजम्यान फाइनल खेलको म्यान अफ दी म्याच घोषित भएका थिए।  

३० वर्षीय ग्रिजम्यानले ला लिगा क्लब बार्सिलोनाका लागि ३५ गोल पूरा गरेका छन्। लुइस स्वारेज, युवा खेलाडी औसमाने डेम्बेले र अन्सु फाती हुँदा उनको प्रदर्शनको चर्चा विरलै हुने गरेको थियो। सुरुआती ११ मा कमै मात्र समावेश हुने ग्रिजम्यानले खेलाडी प्रतिस्थापनमा मौका पाउने गरेका थिए। अब मेसीको बहिर्गमनपछि जिम्मेवारी थपिने निश्चित नै रहेको छ। अब भने नेदरल्यान्ड्सका अन्तर्राष्ट्रिय खेलाडी डिपाए क्लबमा आए पनि ग्रिजम्यान र उनको तादात्म्यता नछुट्टिने प्रशिक्षक रोनाल्ड कोम्यानले यसअघि संकेत दिइसकेका छन्। दुई खेलाडीबीच सम्बन्ध स्थापित गर्न प्रयास गरिरहेको प्रशिक्षक कोम्यानले संकेत गरेका हुन्।  

यसअघि सिजनको सुरुआत हुँदा दुवै खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका थिए। रियाल सोसिडाडसँगको खेलमा बार्सिलोनाले ४–२ को जित निकाल्दा दुवैको प्रदर्शनलाई प्रशिक्षक कोम्यानले मुक्तकण्ठले प्रशंसा गरेका थिए। जसमा सर्जियो अग्विरो र मार्टिन ब्राथवेटले गोल गर्दै टोलीलाई सुखद सुरुआत दिलाएका थिए। जुन सिजनको पहिलो खेल थियो। १७ वर्षपछि मेसीबिना पहिलो पटक सिजनको सुरुआत गर्दा टोलीले सुखद नतिजा निकाल्न सफल भएको हो। मेसी केही साताअघि मात्र क्लबको आर्थिक अड्चनका कारण क्लब छाड्दै पेरिस सेन्ट जर्मन (पिएसजी) मा अनुबन्धित भएका छन्।  

‘पहिलो खेल भएकाले हाम्रा लागि निकै महत्वपूर्ण थियो,’ ग्रिजम्यानले भने, ‘पहिलो खेल नै हाम्रो लागि निकै रोमाञ्चक बन्यो। कुनै पनि हालतमा जित चाहन्थ्यौं। सोचेअनुसार नतिजा पनि आयो। जितले खेलाडीमाा मनोबल बढेको छ। आगमी खेलमा पनि सुखद नतिजा निकाल्नेमा आशावादी छौं।’ शनिबार एट्लेटिको बिलबाओसँग भिड्न लागेको बार्सिलोनाले पछिल्ला १५ लिग खेलमध्ये १२ मा सुखद नतिजा हात पारेको छ।

यसअघि एट्लेटिको बिलबाओले एल्चेसँग गोलरहित बराबरी खेल्दै लिगको सुरुआत गरेको थियो। स्पेनिस ला लिगामा पहिलो चरणका खेलमा साबिक विजेता एट्लेटिको मड्रिडले सुखद सुरुआत गर्दा अर्को क्लब रियाल मड्रिडले पनि सुखद नतिजा निकालेको छ। पहिलो चरणको खेलमा पाँच टोलीले सुखद सुरुआत गर्दा १० टोलीले बराबरी र पाँच टोलीले हारबाट लिग सुरु गरेका छन्।

प्रकाशित: ४ भाद्र २०७८ ०१:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App