११ असार २०८१ मंगलबार
image/svg+xml
खेल

महिला राष्ट्रिय फुटबल टोली : दोस्रो चरणमा २८ जना छनोट

एएफसी महिला एसियन कप २०२२ को छनोट तयारीमा रहेका नेपाली राष्ट्रिय महिला फुटबल टोलीका आइतबार शीर्ष २८ खेलाडीलाई सार्वजनिक गरिएको छ।

नेपालले आगामी सेप्टेम्बर १३ देखि २५ सम्म उज्बेकिस्तानमा एएफसी महिला एसियन कप २०२२ को छनोट चरण खेल्दै छ। सोही प्रतियोगिताका लागि नेपाली महिला टोली ललितपुरस्थित एन्फा कम्प्लेक्समा प्रशिक्षणरत छ। नेपाली राष्ट्रिय महिला टोलीका प्रमुख प्रशिक्षक ग्यारी फिलिप्सले सोमबार दोस्रो चरणमा २८ जना खेलाडीको नाम सार्वजनिक गरेका हुन्। उनले ४५ सदस्यीय प्रारम्भिक टोली बोलाए पनि परीक्षाका कारण नेपाल पुलिसका ६ मध्ये पाँच जना खेलाडी प्रशिक्षणमा सहभागी हुन पाएनन्। एक खेलाडी भने कोभिड–१९ को संक्रमणमा परिन्।

पछिल्लो पटक राष्ट्रिय टोलीमा नियमित स्थान बनाउँदै आएकी रेखा पौडेलले भने दोस्रो चरणमा स्थान बनाउन सकिनन्। त्यसैले पनि बन्द प्रशिक्षणमा ३९ जना मात्र खेलाडीको सहभागिता थियो। छनोट चरणमा नेपाल समूह ‘एफ’ मा छ। उक्त समूहमा रहेका फिलिपिन्स र हङकङलाई पराजित गर्दै समूहविजेता बन्न सके मात्र नेपालले भारतमा आगामी जनवरीमा हुने एएफसी महिला एसियन कप महिला च्याम्पियनसिपको यात्रा तय गर्नेछ। कुल १२ टोलीले खेल्ने एसियन कपमा आयोजक भारतसहित जापान, अस्ट्रेलिया र चीनले स्थान बनाइसकेका छन्। बाँकी आठ राष्ट्रले भने यसै वर्ष सम्पन्न हुने छनोट चरणबाट एसियन कप खेल्नेछन्।

सोही छनोट चरणमा नेपालले फिफा विश्व वरीयतामा ६८औं स्थानको फिलिपिन्स र ७६औं स्थानको हङकङ जस्ता बलिया राष्ट्रको चुनौती पार गर्नुपर्नेछ। नेपाल विश्व वरीयतामा एक सय स्थानमा छ। दोस्रो चरणमा तीन गोलकिपर अन्जना रानामगर, एन्जिला तुम्बाप्पो सुब्बा, उषा नाथसहित अमिशा कार्की, अमृता जैसी, अनिता बस्नेत, अनिता केसी, अञ्जली वाइबा, विमला बिक, विमल चौधरी, दीपा राई, गीता राना, हेमा चौधरी, हीराकुमारी भुजेल, इन्दिरा राई, मनीषा राउत, मञ्जली योञ्जन, निशा थोकर, प्रीति राई, पूजा राना, पुनम जर्घामगर, रजनी थोकर, रश्मि घिसिङ, रेनुका नगरकोटे, सविता राना, सरु लिम्बु, शर्मिला थापा र सृजना सिंह छनोट भएका छन्। 

प्रकाशित: ३२ श्रावण २०७८ ०१:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App