१९ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

लिभरपुलद्वारा सिजनको सुखद सुरुआत

घरेलु टोली नर्विच सिटीविरुद्ध लिभरपुलले प्रिमियर लिगमा शनिबार ३–० सानदार जित निकाल्दा प्रशिक्षक योर्गान क्लोपले चोटमुक्त हुँदै टोलीमा फर्किएका भर्जिल भानडायकको खेललाई मुक्तकण्ठले प्रशंसा गरेका छन्।

नयाँ सिजनको प्रिमियर लिगमा सुखद सुरुआत गर्ने क्रममा लिभरपुलले भ्रमणलाई सार्थक बनाउँदा प्रशिक्षक क्लोपले भानडायकको खेललाई प्रशंसा गरेका हुन्। यसअघि भानडायक घुँडाको चोटले गस्त थिए। डिओगो जोटा, रोबर्टो फिर्मिनो र मोहम्मद सालाहजस्ता खेलाडीलाई मैदान उतार्दै क्लोपले नयाँ सिजनको सुरुआतबाट क्लबलाई अगाडि बढाउन चाहे।

‘खेलमा फर्किएका भानडायकको खेलको स्तर वास्तवमै प्रशंसनीय थियो। सबै किसिमको स्तर उनको खेलमा झल्किएको थियो,’ प्रशंसा गर्दै क्लोपले भने, ‘उनका लागि ९० मिनेट खेल्नु निकै कठिन थियो। निर्धारित समय खेल्नका लागि अझै समय लाग्छ।’

सुरुआतबाट नै घरेलु टोलीलाई दबाब दिएर खेलेको लिभरपुलले २६औं मिनेटमा गोलको खाता खोलेको थियो। डिएगो जोटाले सालाहको पासमा आकर्षक गोल गर्दै टोलीलाई सुरुआती अग्रता निकालेका थिए। त्यसपछि केही रक्षात्मक देखिएको नर्विचले पहिलो हाफको अन्तिमतिर खेलमा फर्किने प्रयास गरे पनि सफल हुन सकेन। दोस्रो हाफमा लिभरपुलले आक्रामक खेल्यो। ६५औं मिनेटमा रोबर्टो फिर्मिनोले गोल थप्दै अग्रता दोब्बर पारे। सालाहकै पासमा फिर्मिनोले गोल गर्दै टोलीको अग्रता २–० मा पुर्‍याएका थिए। ७४औं मिनेटमा सालाहले टोलीका लागि तेस्रो गोल गर्दै जित निश्चित गरे।

नयाँ सिजनको पहिलो भ्रमण सफल बनाउँदै लिभरपुलले सुखद सुरुआत गरेको हो। उता पराजित नर्विचले भने हारबाट नयाँ सिजनको प्रिमियर लिग आरम्भ गरेको छ। लिभरपुलले दोस्रो खेल बर्नलीसँग खेल्नेछ भने नर्विचले साबिक विजेता म्यानचेस्टर सिटीको मैदानमा आतिथेय गर्नेछ।

प्रिमियर लिगअन्तर्गत शनिबारै सम्पन्न खेलमा वाटफोर्डले एस्टनभिल्लामाथि ३–२ को रोमाञ्चक जित निकाल्दा लेस्टर सिटीले उल्भरह्याम्पटनमाथि १–० को संघर्षपूर्ण जित निकाल्यो। निकै रोमाञ्चक बनेको खेलमा जेम्स भार्डीले ४१औं मिनेटमा गरेको गोल निर्णायक बन्दा लेस्टरको सुखद सुरुआत भएको हो। यस्तै एभर्टनले पाहुना टोली साउथह्याम्पटनमाथि ३–१ को सुखद नतिजा निकाल्दा चेल्सीले क्रिस्टल प्यालेसमाथि ३–० को सानदार जित दर्ता गरेर नयाँ सिजनमा सुखद सुरुआत गरेको छ।

प्रकाशित: ३२ श्रावण २०७८ ०१:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App