५ पुस २०८१ शुक्रबार
image/svg+xml
खेल

युनाइटेडको सानदार सुरुआत

ब्रुनो फर्नान्डेजको ह्याट्रिक र पाउल पोग्बाको उत्कृष्ट प्रदर्शनमा म्यानचेस्टर युनाइटेडले शनिबार लिड्स युनाइटेडमाथि ५–१ को फराकिलो जितसहित यस सिजनको इङ्लिस प्रिमियर लिगमा सानदार सुरुआत गरेको छ।

आफ्नो घरेलु मैदान ओल्ड ट्राफोर्डमा भ्रमणकारी टोली लिड्सलाई स्तब्ध बनाउँदै युनाइटेडले लिगमा विजयी यात्रा सुरु गरेको हो। युनाइटेडले फराकिलो जित निकाल्दा यसै सिजन अनुबन्धित जाडोन सान्चोले पनि डेब्यु गरे। युनाइटेडलाई फराकिलो जित दिलाउन पोग्बाको खेल उत्कृष्ट खेल रह्यो र उनी एक्लैले चार एसिस्ट गरे। मासन ग्रिनउड र पे्रडले १/१ गोल आफ्नो नाममा लेखाउँदा लिड्सका लुक आयलिङले एक गोल फर्काए। ३०औं मिनेटमा पोग्बाको पासमा ब्रुनोले टोलीको खाता खोलेका थिए। तर, ४८औं मिनेटमा लुकले गोल गर्दै लिड्सलाई बराबरीमा फर्काउँदा पहिलो हाफ १÷१ को बराबरीमा सकियो।

दोस्रो हाफमा भने युनाइटेड आक्रामक रूपमा प्रस्तुत भयो। ५२औं मिनेटमा पोग्बाकै पासमा ग्रिनउडले टोलीका लागि दोस्रो गोल थप्दा दुई मिनेट पछि नै ब्रुनोले पोग्बाकै पासमा व्यक्तिगत दोस्रो गोल गरे। त्यसपछि ६०औं मिनेटमा भिक्टर लिन्डेलफको पासमा ब्रुनो ह्याट्रिक पूरा गर्न सफल भए। यससँगै ब्रुनो यस सिजन ह्याट्रिक गर्ने पहिलो खेलाडीसमेत बनेका छन्। ६८औं मिनेटमा फ्रेडले गोल गर्दै युनाइटेडलाई ५–१ को सानदार जित दिलाए। फ्रेडले पनि पोग्बाको पासमा गोल गरेका हुन्। जितसँगै युनाइटेडले पहिलो खेलमा महत्वपूर्ण तीन अंक जोड्दै लिगतालिकाको शीर्षमा आफूलाई उभ्याएको छ।

यता ७४ वर्षपछि प्रिमियर लिगमा बढुवा भएको ब्रेन्टफोर्डले पहिलो खेलमै बलियो प्रतिद्वन्द्वी आर्सनलविरुद्ध शुक्रबार २–० को सानदार जित निकाल्दै नयाँ सिजनमा सुखद सुरुआत गरेको छ। समर्थकले भरिएको घरेलु मैदानमा ब्रेन्टफोर्डलाई जित दिलाउन सेर्गी कानोसले २२औं र क्रिस्टियन नोगार्डले ७३औं मिनेटमा १/१ गोल गर्दा नवप्रवेशीले सिजनमा सुखद सुरुआत गरेको हो। पराजयसँगै आर्सनल पहिलो खेलमा नै नवप्रवेशीसँग स्तब्ध हुन पुगेको हो।  

सन् २०२० को मार्चपछि बे्रन्टफोर्डको मैदानमा पहिलो पटक १७ हजार समर्थकले भ्रमणकारी टोली आर्सनलविरुद्धको खेल हेर्ने मौका पनि पाए। पहिलो खेलमै स्तब्ध हुन पुगेको आर्सनलका प्रशिक्षक मिकेल अर्टेटा नवप्रवेशीसँगको पराजयले तनावमा देखिए। सन् २०१८/१९ को सिजनमा पाँचौं स्थानमा रहँदै सिजन सकेको आर्सनल २०१९/२० को सिजनमा आठौं स्थानमा खुम्चिएको थियो। त्यसैले पनि आर्सनललाई आगाडि बढ्न चुनौती थपिएको छ। जसका कारण प्रशिक्षक अर्टेटा तनावमा छन्। गत सिजन च्याम्पियनसिपको प्लेअफमा स्वान्सी सिटी हराउँदै ब्रेन्टफोर्ड प्रिमियर लिगमा उक्लिएको हो। 

प्रकाशित: ३१ श्रावण २०७८ ०३:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App