coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

मेसी आगमनले एम्बाप्पेको लक्ष्य पूरा होला ?

लियोनल मेसी र बार्सिलोनाकै पूर्वसहयात्री नेयमारबीच पेरिस सेन्ट जर्मन (पिएसजी) मा पुनर्मिलान हुँदै छ। तर, अर्जेन्टिनी स्ट्राइकर मेसीको पिएसजी आगमनपछि फ्रान्सेली स्ट्राइकर केलियन एम्बाप्पेको क्लब भविष्य के हुन्छ भन्नेबारे चर्चा हुन थालेको छ।

पिएसजीको एउटा मात्र लक्ष्य भनेको च्याम्पियन्स लिगको उपाधि जित्नु हो र त्यसका लागि स्टार खेलाडी अनुबन्धनमा पिएसजीले कुनै कसर बाँकी राखेको छैन। मेसीको आगमनसँगै पिएसजीको अग्रपंक्तिमा नेयमार, मेसी र एम्बाप्पे एक साथ उत्रने अनुमान गरिँदै आएको छ। तर, एम्बाप्पेको पिएसजीमा भविष्य भने अझै  दुबिधामा रहेको चर्चा हुन थालेको छ। मेसीले मंगलबार मात्र पिएसजीसँग दुई वर्षको सम्झौता गरेका थिए। मेसीलाई वार्षिक ४१ मिलियन युरो दिन पिएसजी सहमत भएको थियो।  मेमा मात्र नेयमारले पिएसजीसँगको सम्झौता नवीकरण गर्दै सन् २०२५ सम्म आफ्नो यात्रा बढाइसकेका छन्।

मंगलबार नै सम्झौता गरे पनि मेसी बुधबार मात्र पत्रकार सम्मेलनमा उपस्थित भएका थिए। गत बिहीबार स्पेनिस ला लिगा क्लब बार्सिलोनाले अप्रत्याशित रूपमा मेसीसँगको सम्झौता अन्त्य गरेको थियो। बार्सिलोनाले चाहना हुँदाहुँदै पनि ला लिगाको आर्थिक नियमका कारण मेसीसँगको सम्झौता अन्त्य गर्न बाध्य भएको जनाएको थियो। मेसी क्याम्प नोउ बर्हिगमनपछि आइतबार बिदाइका लागि आयोजना गरिएको पत्रकार सम्मेलनमा उपस्थित भएका थिए, जहाँ पिएसजी जाने सम्भावना सत्य रहेको उनको संकेत थियो। 

मेसीको बर्हिगमनपछि इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले आफूहरू उनलाई अनुबन्धन गर्ने दौडमा नरहेको जनाएपछि पिएसजी मेसीका लागि इच्छा देखाउने एक मात्र दाबेदार टोली बन्न पुग्यो। यता एम्बाप्पेको पिएसजीसँगको सम्झौता भने यसै सिजनको अन्त्यसँगै सकिनेछ। एम्बाप्पेलाई भित्राउन स्पेनिस लालिगा महारथी रियाल मड्रिडले लामो समयदेखि इच्छा देखाउँदै आएको छ।

मंगलबार मात्र मड्रिडबाट छापिने खेलकुद दैनिक एएसले ‘एम्बाप्पेलाई ल्याउन सम्भव छ?’ भन्ने शीर्षकको समाचार प्रकाशन गरेको थियो। जहाँ उल्लेख गरिएको छ, ‘मेसीको पिएसजी आगमनले एम्बाप्पेको मड्रिड सरुवाको सम्भावना बढेको छ।’ एम्बाप्पेले भने पिएसजी छोड्ने खबर सत्य नभएको बताउँदै आएका छन्। ‘म पिएसजीमै रमाइरहेको छु भन्ने सबैलाई थाहा छ,’एम्बाप्पेले मेमा दिएको एक अन्तर्वार्तामा भनेका थिए, ‘तर क्लबसँग विभिन्न योजना छ। जुन लामो समयसम्म चल्नेछ र म यसमा सहमत छु। त्यसैले मेरो पिएसजी बर्हिगमन बारेका कुनै पनि खबर सत्य होइनन् ।’ मेसीको आगमनपछि पिएसजीका मालिक नारिस अल–खालफीलाई एम्बाप्पेको क्लब भविष्यका बारेमा सोधिएको प्रश्नमा क्लबको च्याम्पियन्स लिग उपाधि सपनामा नेयमार र एम्बाप्पेसँगै मेसी सारथी रहेको प्रतिक्रिया दिएका थिए।‘केलियन पेरिसका खेलाडी हुन्। उनी उत्कृष्ट छन् र उनीसँग जितको मानसिकता छ। उनले पटकपटक आफू यही टोलीमा बस्न रुचाउने बताउँदै आएका छन् र विश्वमा पिएसजीजस्तो प्रतिस्पर्धी टोली अरू छ जस्तो मलाई लाग्दैनँ,’नासिरले भने, ‘एम्बाप्पेसँग पिएसजीमा बस्नुको विकल्प छैन।’

यस सिजनका लागि पिएसजीले मेसीभन्दा अघि जियानलुइगी डोनारुम्मा, सर्जियो रामोस, जर्जिन्हो विज्नाल्डम र असरफ हाकिमीलाई अनुबन्धन गरिसकेको छ। एम्बाप्पे पछिल्ला तीन सिजन लगातार लिग वानको शीर्ष गोलकर्ता रहँदै आएका छन् । त्यसैले पनि उनी हाल टोलीका मुख्य स्ट्राइकर हुन्। एम्बाप्पे आफूलाई टोलीका स्ट्राइकरमध्ये नम्बर एक बनाउन चाहन्छन्। तर, के मेसीको आगमनले एम्बाप्पेको लक्ष्य पूरा होला? नेयमारले मेसीको पिएसजी आगमनबारे इन्स्टाग्राममा पोस्ट गर्दै उनको स्वागत गरेका थिए। तर एम्बाप्पेले भने मेसीको पिएसजी आगमनबारे कुनै प्रतिक्रिया जनाइसकेका छैनन्। 

प्रकाशित: २९ श्रावण २०७८ ०२:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App