१२ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

सकियो चुनौतीपूर्ण टोकियो ओलम्पिक

महामारीका कारण एक वर्ष ढिला गरी आयोजित टोकियो ओलम्पिक २०२० को आइतबार आइओसीका अध्यक्ष थोमस बाचले समापन घोषणा गरे, जुन रद्द गर्न धम्की सहनुपरेकाले आयोजना गर्नु निकै  चुनौतीपूर्ण थियो। 

 

महामारीका कारण दर्शकबिना ६८ हजार क्षमताको ओलम्पिक स्टेडियममा भएको समापन समारोहमा आइओसीका अध्यक्ष बाचले टोकियो ओलम्पिकलाई ‘अभूतपूर्व’ को संज्ञा पनि दिएका थिए। ‘यस्तो कठिन परिस्थितिमा पनि हामीले विश्वलाई अमूल्य उपहार दियौं,’ समापन समारोहमा बाचले खेलाडीलाई भने, ‘टोकियो आयोजना गर्नु सबैभन्दा ठूलो चुनौती थियो र यो ३२औं ग्रीष्मकालीन ओलम्पिक समापन भएको घोषणा गर्दछु।’ आइतबार सम्पन्न भएको ओलम्पिकका अधिकांश  प्रतिस्पर्धाका भेन्यु दर्शकरहित थिए, जहाँ केही खेलाडी, टिम अफिसियल र पत्रकारको मात्र सहभागिता रह्यो।  

ओलम्पिक भिलेजमा सामाजिक दूरी, बायो सेक्युर बबलमा खेलाडीको बसाइँ, प्रतिस्पर्धा र प्रशिक्षण स्थलबाहेक मास्कको प्रयोग र ४८ घन्टाभित्र देश छाड्नुपर्ने टोकियोको स्वास्थ्य सुरक्षाको नीति थियो। समापन समारोहमा पेरिसकी मेयर एन्नी हिडाल्गोलाई सन् २०२४ को पेरिस ओलम्पिकको झन्डा पनि हस्तान्तरण गरिएको थियो, जसको प्रत्यक्ष प्रसारण फ्रान्सको राजधानीमा अत्यधिक दर्शकको उपस्थितिमा गरिएको थियो। बाचले ओलम्पिक रद्द गर्ने र बीमा असुल गर्ने बाटो रहँदा यस विषयमा छलफल भए पनि खेलाडीका लागि ओलम्पिक सञ्चालन गरिएको बताए।  

जापानमा कोरोना संक्रमणको उच्च स्थितिका कारण स्वास्थ्य संकटकाल र त्यहाँको जनता नै आयोजनाको विपक्षामा रहँदा पनि ओलम्पिक सम्पन्न गर्नु निकै चुनौती पूर्ण रह्यो। तर, पदकतालिकामा तेस्रो रहँदै जापानी खेलाडीले थोरै भए पनि आफ्ना नागरिकको मन जित्ने प्रयास गरे। टोकियोले आगामी अगस्ट २४ देखि पारालम्पिक पनि आयोजना गर्दै छ। चीनमा स्वास्थ्य संकटकालको अवस्थामा विन्टर ओलम्पिक रद्द गरिनुपर्ने र त्यहाँ मानवअधिकार हननका विषयलाई लिएर सहभागिता नजाउने जस्ता समाचार बाहिरिँदा टोकियोले ओलम्पिक सफलतापूर्वक सम्पन्न गरेको छ।  

प्रकाशित: २५ श्रावण २०७८ ०४:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App