२४ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

क्रिस्टिना पोल्यान्डतर्फ

घर फर्कन असुरक्षा महसुस भएको भन्दै शरणका लागि विश्व  जगतलाई पुकार गरेकी बेला रूसी ओलम्पिक खेलाडी क्रिस्टिना सिमानौस्काया बुधबार पोल्यान्डतर्फ  प्रस्थान गरेकी छन्। २४ वर्षे स्प्रिन्टर क्रिस्टिनाले आफ्नै देशको राष्ट्रिय टोलीमाथि आलोचना गरेपछि बेलारूसद्वारा खेलको बीचैमा फर्काइए पनि उनले घर जान अस्वीकार गरेकी थिइन्। केही खेलाडी अयोग्य हुँदाहुँदै पनि सर्ट नोटिसमा उनीहरूलाई ओलम्पिक चार सय मिटरको प्रतिस्पर्धामा सहभागी गराइएको उनको आरोप थियो। त्यसपछि बेलारूसले उनलाई कारबाही गर्दै दुई सय मिटर र चार सय मिटरको दौडबाट हटायो। उनलाई टोकियोबाट फिर्ता पठाउन विमानस्थलमा लगेको थियो। घर फर्किन अस्वीकार गर्दै उनले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)लाई हस्तक्षेप गर्न आग्रह गरिन्। टोकियो ओलम्पिक प्रतिस्पर्धा चलिरहँदा क्रिस्टिना कूटनीतिक नाटकको केन्द्रबिन्दु बनिरहिन्।

यसबीच क्रिस्टिनाले असुरक्षाको महसुस गरेपछि गत आइतबारदेखि टोकियो २०२० ले उनलाई सुरक्षा प्रदान गरेको थियो। बुधबार पनि उनी सुरक्षा घेरामा एयरपोर्ट पुगेकी थिइन्। उनी त्यहाँ पुग्दा सञ्चार माध्यमको घुइँचो थियो, तर उनले प्रतिक्रिया दिन अस्वीकार गरिन्। गत दुई हप्ता उनी पोल्यान्ड दूतावासको छत्रछायाँमा थिइन्। उनी वार्सा जाने भनिएको छ। यद्यपि, उनको यात्रा  अस्ट्रियातर्फ  मोडिए पनि कुनै अप्रत्याशित निर्णय हुने छैन। किनकि अस्ट्रियाले पनि उनलाई आफ्नो देशमा स्वागत गरेको थियो। विवादित निर्वाचनका कारण बेलारूस ओलम्पिकमा  अझै पनि राजनीतिक आन्दोलन भइरहेको छ। गत वर्ष एलेक्जान्डर लुकासेन्को देशको सत्तामा फर्किएपछि ओलम्पिकको नेतृत्वमा पनि उनको छोरा भिक्टोर पुगेका थिए।  

तथापि, धेरै खेलाडीले ओलम्पिकमा पुनः चुनावको माग गरेका थिए। पुनः निर्वाचन माग गर्दै हस्ताक्षर गर्ने दुई हजार बेलारूसी खेलाडीमध्ये क्रिस्टिना पनि एक हुन्। त्यसैले पनि उनीमाथि राजनीतिक समस्या उत्पन्न हुने संकेत देखिएको थियो। तथापि, टोकियो पुगेर उनले सामाजिक सन्जालमा आफ्ना प्रशिक्षकविरुद्ध जुन किसिमले आलोचना गरिन्, त्यसले उनलाई झन् समस्यामा पार्‍यो । त्यसका बीच उनका पति पनि बेलारुसबाट युक्रेन पुगेका थिए। उनीहरूको पोल्यान्डमा नै भेट हुने सम्भावना रहेको छ। उनका पति पनि बेलारूसी शासकका कट्टर आलोचक थिए। पोल्यान्डका प्रधानमन्त्री म्याटयुज मोराविस्कीले पनि क्रिस्टिनालाई आफ्नो देशमा निकै सुरक्षित तवरबाट राखिने विश्वास व्यक्त गरिसकेका छन्।

बेलारूसमाथि छानबिन

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले उक्त घटनाबारे बेलारूस ओलम्पिक टिममाथि छानबिन गर्ने जनाएको छ। तर, केही अभियन्ताहरूले भने बेलारूसमाथि प्रतिबन्ध लगाउनुपर्ने र त्यहाँका खेलाडीलाई तटस्थ टोलीका रूपमा प्रतिस्पर्धा गर्ने वातावरण सिर्जना गराउन माग गरेका छन्। आइओसीका प्रवक्ता मार्क एडम्सले बुधबार बेलारूस ओलम्पिक कमिटीबाट रिपोर्ट प्राप्त भएको त्यसबारे मूल्यांकन हुने बताए। उनका अनुसार त्यो घटनाको सत्यतथ्य थाहा पाउन आइओसीले अुनशासन आयोग पनि गठन गरेको छ।

खेलाडीको ग्लोबल संस्थाहरूले पनि क्रिस्टिनालाई अपरहणको धम्की भइरहेको र यसबाटै बेलारूसले खेलाडीमाथि कति धेरै अन्याय गरेको छ भन्ने स्पष्ट हुने बताएको छ। खेलाडीमाथि राजनीतिक विचार लादिएको भन्दै आइओसीले बाबु लुकासेन्को र छोरा भिक्टोर दुवैमाथि प्रतिबन्ध लगाएको छ। टोकियो ओलम्पिक सुरु हुनुभन्दा अघि लुकासेन्कोले बेलारूसका अफिसियल र खेलाडीलाई धम्काएको समेत सार्वजनिक भएको थियो।

अमेरिकाले पनि लुकासेन्कोको सरकारलाई खेलाडीमाथि दमन नगर्न चेतावनी दिएको थियो। लुकासेन्को सन् १९९४ देखि बेलारूसको सत्तामा छन् र गत मेमा आफ्ना विरोधीलाई गिरफ्तार गर्न लिथुआनियामा फाइटर प्लेन नै पठाएको उनीमाथि आरोप लागेको थियो। तथापि, पोल्यान्डका डेपुटी परराष्ट्रमन्त्री पावेल जाबलन्स्कीले भने क्रिस्टिनामाथि सो घटना नहुने र उनी आफ्नो देशमा सुरक्षित रहनेमा विश्वस्त पारेका छन्। यसैबीच युक्रेनका एक बेलारूसी अभियन्ता पनि बेपत्ता भएको समाचार बाहिरिएको थियो। पछि उनी मृत फेला परे। त्यसैले संयुक्त राष्ट्रसंघले त्यो मृत्युबारे निष्पक्ष ढंगबाट छानबिन गर्न युक्रेनसँग माग गरेको छ। 

प्रकाशित: २१ श्रावण २०७८ ०१:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App