२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

लोमान्थाङ खेलकुदः चराङ, किमलिङ, लो–घेकर र छोसेरलाई नतिजा

गत बिहीबारदेखि उपल्लो मुस्ताङबासी खेलकुदको रौनकमा झुमेको छ । जनचेतना युवा क्लब लोमान्थाङको आयोजनामा दुईदिन अघिदेखि फुटबल र भलिबल प्रतियोगिता शुरु भएको छ । लो–घेकर दामोदरकुण्ड गाउँपालिका– २ ढाकमारमा ‘तेस्रो छोग्याल जिङ्मी स्मृति कप’ लिगकम नकाउट फुटबल तथा भलिबल प्रतियोगिता शुरु भएको छ । फुटबल र भलिबलका लिगचरणका खेलहरु सञ्चालित छन् । शनिबार मात्रै भलिबलका चार खेल टुंगिएको छ ।  

शनिबारको प्रतिस्पर्धामा चराङ युवाक्लब टीम एले घिलिङ युवा क्लबको टिम एलाई सोझो दुई सेटमा पराजित गरेको छ । पहिलो सेट २५–१२ जितेको चाराङले दोस्रो सेटपनि २५–१५ले जित्दै नतिजा आफनो पक्षमा पार्यो । यसैगरी अर्को खेलमा माउण्ड कैलाश किमलिङ युवा क्लबले दामोदरकुण्ड युवा क्लब यारालाई २५–५, २५–८ को सेटले पराजित गरेको थियो । तेस्रो खेलमा लो घेकर युवा क्लब मराङले बुद्धशान्ति युवा क्लब चराङ बीलाई २५–१८, २५–२० को सेटमा पन्छाएको थियो ।  

शनिबारको चौथो तथा अन्तिम खेलमा कन्चोङ्लिङ युवा क्लब छोसेरले जनचेतना युवा क्लब टीम बीलाई २५–६, २५–१८ सेटमा पराजित गर्दै अगाडि बढ्यो । यसैगरी फुटबल तर्फको प्रतिस्पर्धामा उदयश्री युवा क्लब ठिनी एले दामोदरकुण्ड युवा क्लब यारालाई १–०ले पराजित गरेको छ । एक गोल पहिलो हाफ अघि नै पेनाल्टी मार्फत गोल गर्दै जित निकाल्यो । छिरिङ ढुण्डुपले पेनाल्टीमा गोल गरेका थिए ।क्लबका अध्यक्ष भुजुङ गुरुङका अनुसार भलिबल र फुटबल प्रतियोगितामा विभिन्न १३ क्लबका १६ टोलीले प्रतिस्पर्धा गरेका छन् ।  

भलिबल बेष्ट अफ थ्री र फाईनल मात्रै बेष्ट अफ फाईभमा प्रतिस्पर्धा गर्ने छन् । फुटबल भने १० जना खेलाडी मैदानमा उत्रिने छन् । फुटबलमा ३०÷३० मिनेटको प्रतिस्पर्धा गराईएको छ । उनका अनुसार फुटबल मैदान ८० मिटर लम्बाई र ५५ मिटर चौडाईको छ । प्रतियोगितामा फुटबल विजेताले १ लाख १ हजार १ रुपैयाँ नगद पुरस्कारसहित शिल्ड पदक तथा प्रमाणपत्र पाउने छन् । उपविजेताले ५० हजार ५ सय ५ रुपैयाँ प्राप्त गर्ने छ । भलिबल तर्फ विजेताले ७५ हजार र उपविजेताले ३७ हजार पाँच सय ५ रुपैयाँ नगद पुरस्कार थाप्ने छन् । 

प्रकाशित: १६ श्रावण २०७८ १०:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App