१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

भारतलाई शृंखला

दीपक चाहरको अविजित ६९ रनको मद्दतमा मंगलबार भारतले श्रीलंकाविरुद्धको दोस्रो एकदिवसीय खेलमा ३ विकेटको रोमाञ्चक जित निकालेको छ।

जितसँगै भारतले तीन खेलको शृंखला २–० ले आफ्नो पक्षमा पारेको छ। २ सय ७६ रनको लक्ष्य भारतले जबाफी ब्याटिङ गर्दै ५ बल बाँकी छँदै ७ विकेट गुमाएर भेटाउँदा शृंखलामा अग्रता लिएको हो। सुरुआत राम्रो नगरेको भारतका लागि दीपक चाहर र भुवनेश्वर कुमारले सम्हालिएको प्रदर्शन गर्दै टोलीलाई जिततर्फ डोर्‍याएका थिए। धरमराएको इनिङ सम्हाल्ने क्रममा दीपक चाहरले ८२ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ६९ रन बनाई अविजित रहँदै जित पक्का गराए। भुवनेश्वर कुमार २८ बलमा २ चौकासहित १९ रनमा अविजित रहे।  

आठौं विकेटका लागि दीपक र भुवनेश्वर कुमारले ८४ रनको उत्कृष्ट साझेदारी गरेपछि भारतले रोमाञ्चक जित हात पारेको हो। यस्तै सूर्यकुमार यादवले ५३ रनको अर्धशतकीय इनिङ्स खेल्दा मनीष पाण्डेले ३७ रनको व्यक्तिगत स्कोर बनाए। क्रुनाल पाण्ड्याले ३५ रन जोडे भने कप्तान शिखर धवन २९ रनमा पवेलियन फर्किएका थिए। श्रीलंकाका वानिन्दु हसरंगाले ३ विकेट लिए। कसुन रजिथा, लक्षण सन्दकन र दासुन सनाकाले एक/एक विकेट आफ्नो नाममा लेखाए। यस जितसँगै भारतले तीन खेलको एकदिवसीय शृंखला एक खेलअगावै जितेको छ । यसअघिको पहिलो खेलमा भारतले ७ विकेटको फराकिलो जित निकालेको थियो।  

घरेलु मैदानमा भइरहेको शृंखला बराबरी गर्ने लक्ष्यका साथ पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७५ रन बनाएको थियो। खेलमा श्रीलंकाका लागि चारिथ आश्लन्काले ६५ रनको अर्धशतकीय इनिङ खेलेका थिए। अभिष्का फेर्नान्डोले ५० रन बनाउँदा चामिका करुणारत्ने ४४ रनमा अविजित रहे । मिनोद भानुकाले ३६ तथा धनञ्जय सिल्भाले ३२ रन बनाउँदा अन्य ब्याट्सम्यानले सम्झनलायक प्रदर्शन गर्न सकेनन्। बलिङतर्फ भारतका भुवनेश्वर कुमार र युजभेन्द्र चाहलले ३/३ विकेट निकाल्दा म्यान अफ दी म्याच घोषित दीपक चाहरले २ विकेट आफ्नो नाममा लेखाए।  

‘यस्ता खेल हामीलाई पाठ हुने गर्दछन्। कठिन अवस्थाको खेललाई कसरी सम्हाल्ने भन्ने यो राम्रो उदाहरण भएको छ,’ जितपछि भारतका कप्तान शिखर धवनले भने, ‘सबैले आफ्नो ठाउँबाट राम्रो प्रदर्शन गरेका छन्। यो खेलमा चाहरको प्रदर्शन निकै तारिफयोग्य रह्यो। लेग स्पिनरविरुद्ध उनले गरेको सम्हालिएको प्रदर्शनबाट टोलीलाई सुखद नतिजा हात लाग्यो।’ 

प्रकाशित: ७ श्रावण २०७८ ०३:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App