४ वैशाख २०८१ मंगलबार
खेल

ओलम्पिक महिला फुटवल : अमेरिका स्विडेनसँग स्तब्ध

स्वर्ण पदकको प्रमुख दाबेदार अमेरिका टोकियो ओलम्पिक २०२० अन्तर्गत महिला फुटबलमा बुधबार स्विडेनसँग ३–० ले स्तब्ध हुँदा ब्रिटेनले भने विजयी सुरुआत गरेको छ।

अमेरिकाले हालसम्म ४ पटक ओलम्पिकअन्तर्गत महिला फुटबलमा स्वर्ण जितेको छ। ओलम्पिकमा सन् १९९६ बाट महिला फुटबल समावेश गरिएको थियो। सन् २०१६ को रियो ओलम्पिकमा पनि स्विडेनले क्वार्टरफाइनलमा अमेरिकालाई पेनाल्टी सुटआउटमा निराश पारेको थियो।

सन् २०१६ को रजत पदक विजेता स्विडेनको सहज जितमा स्टेना ब्ल्याकस्टेइनियुसले दुई र वैकल्पिक खेलाडी लिना हर्टिगले एक गोल गरेका थिए। टोकियो ओलम्पिक २०२० को औपचारिक उद्घाटन शुक्रबार हुने भए पनि महिला फुटबल भने बुधबारबाटै सुरु भएको हो। कोभिड १९ संक्रमणको त्रासका कारण ओलम्पिकका अधिकांश खेल बन्द रंगशालामा खेलाइनेछ। 

अमेरिकाको सन् २०१९ यता ४४ खेलको अपराजित यात्रामा समेत पूर्णविराम लागेको छ। ओलम्पिकमा अमेरिकाले निर्धारित ९० मिनेटमा खेल गुमाएको यो दोस्रो पटक मात्र हो। ‘स्विडेन विश्वकै एक उत्कृष्ट टोली हो,’ अमेरिकाकी स्ट्राइकर मेगन रापोइनीले भनिन्, ‘हामीसँग अबको तीन दिनमा अर्को खेल बाँकी छ, त्यसैले स्विडेनविरुद्धको हारपछि पनि हामी निराश भैहाल्न पर्ने अवस्था छैन।’ 

ब्रिटेनले समूह एफमा चिलीलाई २–० ले हराउँदा नेदरल्यान्ड्सले भने जाम्बियामाथि १०–२ को रबाफिलो जित हात पार्‍यो।त्यस्तै न्युजिल्यान्डले अस्ट्रेलियालाई २–० र ब्राजिलले चीनलाई ५–० ले पराजित गरे। यता जापान भने क्यानडासँग १–१ को बराबरीमा रोकिएको छ।

प्रकाशित: ७ श्रावण २०७८ ०३:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App