१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

आइओसीले दबाब दिएको खबर निराधार : सुगा

 जापानका प्रधानमन्त्री योसिहिदे सुगाले टोकियो ओलम्पिक २०२० को आयोजनाका लागि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले दबाब दिएको भन्ने खबर निराधार भएको बताएका छन्।

कोभिड १९ संक्रमण दर बढ्दो क्रममा रहे पनि जापान सरकार कुनै पनि हालतमा टोकियो ओलम्पिक आयोजना गर्न तयार भएपछि जापानी नागरिक असन्तुष्ट छन्। उनीहरूमाझ आइओसीको दबाबमा जापान कठिन अवस्थामा पनि टोकियो ओलम्पिक आयोजना गर्न तयार भएको चर्चा चल्न थालेको छ। कोभिड १९ महामारीकै कारण एक वर्ष पछि धकेलिएको टोेकियो ओलम्पिक २०२० शुक्रबारबाट सुरु हुँदै छ। प्रतियोगिता सुरु हुन मात्र दुई दिन बाँकी रहँदा सुगाले जापान ओलम्पिक आयोजनाका लागि तयारी अवस्थामा रहेकाले बाहिर सार्वजनिक भएजस्तो आफूहरू समस्यामा नरहेको दाबी गरेका हुन्।

‘हामीले नै कोभिड १९ महामारीका कारण स्थगित गरिएको ओलम्पिक २०२१ जुलाई २३ बाट आयोजना गछौैँ भनेका हौं। हामीले नै गरेको प्रस्तावमा आइओसी सहमत भएको हो,’ सुगाले भने, ‘हामीलाई कुनै दबाब दिइएको छैन। आइओसीको दबाबका बीच प्रतियोगिता आयोजना गर्न लाग्यो भन्ने खबर आधारहीन छ ।’ सुगाले टोकियोमा अन्य सहरको तुलनामा कोभिड १९ संक्रमणको दर न्यून रहेकाले प्रतियोगिता स्वस्थ र सुरक्षित रूपमा सफल हुनेमा दुबिधा नलिन आग्रह गरे।

टोकियो सहरको कुल जनसंख्या १४ मिलियन छ। जहाँ दैनिक कोभिड १९ संक्रमितको संख्या औसत १ हजार छ, जुन अन्य सहरको तुलनामा ज्यादै न्यून हो।

यद्यपि बुधबार भने टोकियोमा कोभिड १९ संक्रमितको दर १ हजार ८ सय ३२ रहेको थियो। जुन जनवरीयताकै उच्च हो। जापानका स्वास्थ्य अधिकारीहरूले त्यहाँका नागरिकलाई घरबाहिर ननस्किन,ओलम्पिक टिभीमा हेर्न र भौतिक दूरी कायम गर्न आग्रह गरेका छन्।

सुगाले पटकपटक टोकियो ओलम्पिक २०२० को आयोजना रोक्न सुझाव आए पनि आफू प्रतियोगिता आयोजनाप्रति अडिग रहेको बताए। ‘सबैभन्दा सरल उपाय भनेको शान्त बस्नु हो,’ उनले भने, ‘हामी विभिन्न कठिन चुनौती पार गर्दै यहाँसम्म आइपुगेका छौं।’

टोकियो ओलम्पिक २०२० का केही खेल बुधबारबाटै सुरु भए पनि प्रतियोगिता भने शुक्रबारबाट मात्र औपचारिक रूपमा सुरु हुँदै छ। प्रतियोगिता अगस्ट ८ सम्म सञ्चालन हुनेछ। प्रतियोगिताका अधिकांश खेल बन्द रंगशालामा खेलाइनेछ।  

प्रकाशित: ७ श्रावण २०७८ ०३:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App