पोखरा खेलकुदको सहर भनेर धेरै व्याख्या गरिन्छ। खेलकुदको राजधानीसमेत भनिन्छ। राजधानीको रूपमा व्याख्या गरिएअनुसार अन्तर्राष्ट्रिय एरिनामा खेलाडीको उपस्थिति भने कमजोर छ।
गण्डकी प्रदेशबाट ओलम्पिकमा खेलाडी सहभागितालाई नियाल्दा निकै कहालीलाग्दो छ। १९६४ देखि २०२१ सम्म आइपुग्दा गण्डकी प्रदेशबाट तीन जनाले मात्रै ओलम्पिकमा सहभागिता जनाएको इतिहास छ। दुई पुरुष र एक महिला खेलाडीको सहभागिता छ। सन् १९६४ मा ब्रिटिस लाहुरे समेत रहेका ओमप्रकाश तामाङ (बक्सिङ), १९९२ मा नारायण गुरुङ (तेक्वान्दो) र सन् २००० मा भगतवी केसी (सुटिङ)को सहभागिता रह्यो । त्यसयता गण्डकी प्रदेशबाट ओलम्पिकमा सहभागिता जनाउने सामथ्र्य देखिएको छैन।
नेपाली खेलाडीको ओलम्पिक सहभागिता वाइल्ड कार्डमार्फत हुँदै आएको छ। पूर्वाधार नभएको अवस्थामा उपस्थिति रह्यो। दुई दशकयता पूर्वाधार थपिने क्रम बढ्दो छ। पोखरालाई खेलकुद सहर भनिरहँदा अन्तर्राष्ट्रिय एरिनामा सहभागिता कमजोर हुनुमा खेलकुद निकाय योजनाबद्ध रूपमा अघि बढ्न नसकेको गुनासो स्वयं खेलकुद निकायका पदाधिकारी गर्छन्।
‘खेलकुद निकायसँग योजनाबद्ध कार्यक्रम नै छैन। प्रशिक्षण छैन। टालटुले शैलीमै चल्यौं। त्यसले गर्दा खेलकुदमा नतिजा आउन सकेको छैन,’ गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव तेजबहादुर गुरुङले भने, ‘हामी खेलकुद आयोजना राम्रो गर्छौ। तर नतिजामा छैनौं।’ उनका अनुसार गण्डकी प्रदेश मास स्पोर्ट्समा लोकप्रिय छ । व्यक्तिगत प्रतिस्पर्धामा ध्यान दिनुपर्छ। खास गरी मार्सल आर्ट्सका खेलमा विशेष चासो देखाउनुपर्छ।’
पछिल्लो समय टिकेर खेल क्षेत्रमा लाग्ने खेलाडी नै नभएको नेपाल ओलम्पिक कमिटीको बुझाइ छ। खेलकुदको विकास र खेलाडी उत्पादनमा पूर्वाधार, प्रशिक्षक र सम्बन्धित संघहरूको सक्रियता र निरन्तरता हुनुपर्नेमा ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ बताउँछन्। ‘खेलकुदको स्तरलाई जिल्लाको पूर्वाधारसँग हेरिन्छ। संघको सक्रियता अनि प्रशिक्षकले प्रशिक्षण गराएको अवस्थालाई हेर्नुपर्छ।’ उनको भनाइ थियो। उनका अनुसार खेलाडी खेलकुदमा टिकेर बस्ने अवस्था छैन। अधिकांश खेलाडी ‘ड्रपआउट’(खेल्ने अनि छाड्ने) हुने प्रवृत्ति बढ्दो छ । ‘जुन खेलमा अन्तर्राष्ट्रिय पदकको सम्भावना हुन्छ, त्यस खेललाई प्रवद्र्धन गर्नुपर्छ’, उनले भने, ‘योजना नै कमजोर छ। योजना नहुँदा फोकस हुँदैन। त्यसबाट अपेक्षा गर्न सकिँदैन।’
गण्डकी प्रदेशमा सबैभन्दा कमजोर पूर्वाधार सुटिङ हो। तर ओलम्पिक सहभागिता भने उत्कृष्ट मान्नुपर्छ। कमजोर पूर्वाधार भए पनि सुटिङले भने ओलम्पिक सहभागिता गराइसकेको छ। बागलुङकी भगवती केसीले सुटिङमा वाइल्ड कार्डमार्फत सहभागिता जनाइसकेकी छन्। ‘ओलम्पिकको लागि पूर्वाधार नभएपछि सुटिङको अन्तराष्ट्रिय एरिनामा सहभागिता उत्कृष्ट छ,’ ओलम्पियन भगवती केसीले भनिन्, ‘तर खेलाडीले भनेजस्तो अवसर अझै पाएका छैनन्।’
अन्य खेलकुदको पूर्वाधार बन्दै गए पनि सुटिङ रेन्जको छैन । प्रशिक्षक पनि छैनन्। राष्ट्रिय खेलकुद परिषद्ले ध्यान दिएको छैन। प्रदेश खेलकुद परिषद्ले पनि बुझ्न सकेको छैन। ‘आफ्नो अनुकूल खेलाडीलाई छानेर पठाउने प्रवृत्तिले खेलाडीको मनोबल घट्दै गएको छ,’ उनको गुनासो थियो, ‘सुटिङमा पूर्वाधारमा ध्यान नदिँदा सुटिङ खेल नै लोप हुने डर छ।’
प्रकाशित: ६ श्रावण २०७८ ०४:०२ बुधबार