१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

ओलम्पिक भिलेजमा महामारीको भय

टोकियो ओलम्पिक उद्घाटनभन्दा केही दिनअगाडि ओलम्पिक भिलेजमा रहेका खेलाडीमा कोरोना भाइरस संक्रमण बढ्न थालेपछि महामारीको भय झन् बढेको छ।

एक अफिसियलमा कोरोना संक्रमण भएको एक दिनपछि नै ओलम्पिक भिलेजमा रहेका खेलाडीमा पहिलो पटक कोरोना पोजेटिभ भेटिएको हो। आइतबार नै दक्षिण अफ्रिकी ओलम्पिक फुटबल टोलीका खेलाडीमाथि पनि संक्रमण पुष्टि भएको छ। हजारौं खेलाडी रहेका कम्प्लेक्समा एकपछि अर्को संक्रमण पुष्टि भएपछि ओलम्पिकमाथि भय बढेको हो।

विश्वभरबाट हजारौं खेलाडी महामारीकै कारण एक वर्ष ढिला गरी हुन लागेको ओलम्पिकतर्फ प्रस्थान गरिरहेका समय भिलेजमा नै महामारी मडारिएको छ। कोभिड–१९ को खतराका कारण जापानभित्रबाटै ओलम्पिक आयोजनाको विपक्षमा मत देखिएको थियो। तर, आयोजक र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (कमिटी) जसरी नै ओलम्पिकको आयोजना सम्पन्न गर्ने तयारीमा जुटिरहेका छन्। टोकियो २०२० को प्रवक्ता मासा टाकायाले संक्रमित सदस्यको टोलीलाई नै आइसोलेसनमा राखिएको बताएका छन्। ‘एउटा देश र एकै खेलका खेलाडी संक्रमित भएका छन्।

उनीहरूलाई रुममा नै आइसोलेटमा राखिएको छ। उनीहरूलाई खानेकुरा पनि त्यहाँ पठाइनेछ,’ प्रवक्ता टाकायाले भने, ‘त्यो टोलीका सबै खेलाडीमा परीक्षण गरिएको थियो, तर उनीहरूमा संक्रमण भेटिएको छैन।’ भिलेजमा रहेका कम्प्लेक्समा करिब ६ हजार ७ खेलाडी र अफिसियल पुगिसकेका छन्।  

संक्रमणकै डरले टोकियो ओलम्पिकका अधिकांश खेल बन्द रंगशालाबीच हुनेछन्। तर पनि ओलम्पिकको आयोजना जापानभित्रै नै समर्थनमा छैन। जसको कारण दुखी बनिरहेका आयोजकले दैनिक रूपमा सबै खेलाडीमा कोरोना परीक्षण गर्ने र ती भिलेजलाई एन्टी भाइरसको अवस्थामा राख्ने जनाएको छ। यसैबीच ओलम्पिक गेम्सका कार्यकारी निर्देशक क्रिस्टोफे दुबीले एक समूहबाट अर्को समूहमा भाइरस संक्रमणको वातावरण नै सिर्जना हुन नदिने प्रयास भइरहेको दाबी गरे। तर, टोकियोका जनता ओलम्पिक भिलेजमा नै भाइरस फैलिएकाले निकै संशकित भएका छन्।

‘ओलम्पिक भिलेज पनि सुरक्षित रहनेछन् भन्ने मलाई लाग्दैन। त्यहाँ पनि भाइरसको संक्रमण बढ्नेछ र स्थिति निकै खतरनाक हुनेछ,’ कस्मेटिक कम्पनीकी २३ वर्षीया कामदार रिसोका कासाहारले भनिन्। त्यही कम्पनीका सुरक्षा गार्ड सोतारो वातानाबेले स्थिति अझै सामान्य नभइरहेको अवस्थामा किन ओलम्पिक आयोजना गरिएको भन्दै प्रश्न गरेका छन्। यही ओलम्पिकमा भाइरसका पाँच संक्रमण जोडिसकेका छन्, जहाँ यसै महिना मात्र चार खेलाडीमा संक्रमण पुष्टि भएको छ।

दक्षिण कोरियन ओलम्पिकका सदस्य रियु सियुङ मिनमा पनि जापान आएपछि संक्रमण पुष्टि भएको थियो र उनी पनि आइसोलेसनमा बसिसकेका छन्। गत शनिबार नै आइओसीका अध्यक्ष थोमस बाचले जापानीलाई ओलम्पिकलाई समर्थन गर्न आग्रह गरेका थिए।

खेलाडीले निषेधित वातावरणमा ओलम्पिकमा खेल्दा दैनिक जसो कोरोना परीक्षण र सामाजिक दूरीमा रहनेछन्। साथै उनीहरूलाई प्रतिस्पर्धा सकिएको ४८ घन्टाभित्र जापान छोड्न निर्देशनसम्म गरिएको छ। अस्ट्रेलियाका खेलाडी ओलम्पिकका लागि उड्नुअघि नै क्वारेन्टिनमा बस्नुपर्नेछ।

एक सदस्यमा संक्रमण भएपछि उनीहरू क्वारेन्टिनमा बस्नुपरेको हो। १ सय ९४ जनाको अस्ट्रेलियन ओलम्पिक टिमबाट बास्केटबलका लिज काम्बेज र टेनिसका निक किर्गियोस बाहिरिएका छन्। टोकियो ओलम्पिकका प्रमुख सेइको हासिमोतोले जापान आउने खेलाडी केही चिन्तित हुने भए पनि कोभिड–१९ को विवरण पूर्ण रूपमा पारदर्शी हुने बताएकी छन्। 

जापान र ओलम्पिक अफिसियलले स्वागत कार्यक्रमलाई पनि निकै सीमिततामा राखेका छन्। आइओसीका अध्यक्ष बाच आउने क्रममा ४० जना व्यक्ति मात्र स्वागतमा थिए। 

प्रकाशित: ४ श्रावण २०७८ ०३:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App