१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

युरो कप २०२०: इटाली युरो कप च्याम्पियन

२०१८ को विश्वकपमा छनोट हुन नसकेको इटालीलाई सम्हालेर युरो कपको उपाधि दिलाएका प्रशिक्षक रोबर्टो मान्सिनीको सफल प्रशिक्षणले टोलीलाई लागेको कालो दाग केही हदसम्म मेटिएको छ।  

५५ वर्षपछि युरो कपको उपाधिनजिक पुगेको घरेलु टोली इङ्ल्यान्डलाई आइतबार पेनाल्टी सुटआउटमा ३–२ ले स्तब्ध बनाउँदै इटालीले उपाधि उचाल्दा प्रशिक्षक रोबर्टो मान्सिनी सबैका आकर्षणका केन्द्र बनेका छन्। ३४औं अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अपराजित यात्रालाई निरन्तरता दिँदा प्रशिक्षक मान्सिनीको टोली इटालीले दोस्रो पटक युरोपियन च्याम्पियनसिपको उपाधि उचाल्न सफल भयो। निर्धारित ९० र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटबाट लिइएको निर्णयमा इटाली भाग्यमानी भएको हो।  

चार पटक विश्व च्याम्पियन बनेको इटालीले यसअघि १९६८ मा पहिलो पटक युरोपियन च्याम्पियनसिपको उपाधि उचालेको थियो। इटालीले आइतबार पहिलो पटक फाइनल प्रवेश गरेको इङ्ल्यान्डलाई उसैको मैदानमा स्तब्ध बनाउँदा युरोपियन च्याम्पियनसिपको उपाधि संख्या दुई पुर्‍याएको हो। १९६६ पछि पहिलो पटक मुख्य प्रतियोगिताको फाइनलमा स्थान बनाएको इङ्ल्यान्डले घरेलु समर्थकलाई खुसी बनाउन सकेन। मान्सिनीको टोलीले पुनरागमन गर्दै खेलमा फर्किएर नयाँ इतिहास रच्न सफल भएको हो।  

‘यात्रा अझै लामो छ। हामी इटालीका सर्वसाधारणलाई उपाधि जितेर खुसी दिन चाहन्थ्यौं। किनकि जनता उपाधिका धेरै भोका थिए। यो उपाधिले सबैमा खुसी छाएको छ,’ इटालीका प्रशिक्षक मान्सिनीले भने। इटालीलाई युरोपियन च्याम्पियनसिपको दोस्रो उपाधि दिलाएका मान्सिनीको व्यक्तिगत प्रशिक्षण करियरमा भने यो १४औं उपाधि हो। इटालीका लागि भने यो पहिलो उपाधि हो। उमेरसमूहका खेलमा इटालीबाट खेलेका मान्सिनीले आफ्नो खेलाडी जीवनमा कुनै उपाधि नजिते पनि प्रशिक्षण करियरमा भने टोलीलाई उपाधि दिलाउन सफल भएका हुन्।

१७ वर्षे प्रशिक्षण करियरमा मान्सिनीले फियोरिन्टिना, लाजियो, इन्टर मिलान, म्यानचेस्टर सिटी र गालातासारेका लागि उपाधि दिलाएका छन्। २०१८ को विश्वकप छनोट हुन असफल टोलीलाई उपाधि दिलाएसँगै कतार विश्वकपमा पनि सहभागी हुने उच्च मनोबल मिलेको छ। ‘प्रशिक्षक मान्सिनीले सुरुआतमा उपाधि उचाल्ने लक्ष्य राख्नुपर्छ भन्दै प्रेरणा खेलाडीलाई दिएका थिए। लक्ष्य उपाधि भएपछि खेलाडी खेल्ने ऊर्जा मिल्छ भन्ने उनले बारम्बार सम्झाउँथे,’ कप्तान जर्जियो चिलिनीले भने, ‘उपाधिले टोलीको शिर उच्च बनाउन सहयोग पुर्‍याएको छ। प्लेअफमा स्विडेनसँग पराजित भएपछि विश्वकप गुम्दा लागेको कालो दाग पातलिएको छ।’ यता इङ््ल्यान्डका प्रशिक्षक साउथगेटले फाइनलमा इटालीसँग टोली पराजित हुनु निकै पीडादायी रहेको प्रतिक्रिया दिएका छन्।

‘हामी सबै संगै छौं। खेलाडीले देशका लागि खेल्दाखेल्दै पनि पनि पराजित हुन पर्‍यो। टोलीमा केही अविश्वसनीय क्षणहरू खेलाडीबाट पाएको छु,’ इङ्ल्यान्ड प्रशिक्षक साउथगेटले भने। यता कप्तान ह्यारी केनले युरोको फाइनलमा बेहोरेको पराजयले आगामी करियरमा पनि असर पार्ने बताए। ‘हामीले समूहको रूपमा जे हासिल गरेका छौं। त्यसलाई एक समूहका रूपमा गर्व गर्न आवश्यक छ। फाइनलसम्मको यात्रा टोलीले हात पारेको सफलताका रूपमा लिनुपर्छ,’ इङ्ल्यान्डका कप्तान ह्यारी केनले भने, ‘पेनाल्टीमा हार्नु संसारको सबैभन्दा खराब अनुभव हो। खेलअघिको रात हाम्रो थिएन। तर समग्रमा भन्नुपर्दा प्रतियोगिता सानदार रह्यो। हामीले सम्पन्न प्रतियोगितामा प्राप्त नतिजालाई लिएर हाम्रो शिर उच्च राख्न आवश्यक छ।’

इङ्ल्यान्ड पहिलो पटक समूहको शीर्ष स्थानमा रहँदै युरो कपको फाइनल पुगेको थियो। नकआउट चरणको खेलमा इङ्ल्यान्डले जर्मनी, युक्रेन र डेनमार्कको चुनौतीलाई पार गर्दै उपाधिनजिक पुगेको थियो। प्रतियोगितामा इङ्ल्यान्डले दुई गोल बेहोर्न पुग्यो। तर वेम्बली मैदानमा घरेलु टोली इटालीसँग पेनाल्टीमा ३–२ ले पराजित भयो। इङ्ल्यान्डका जाडोन सान्चो, मार्कुस रासफोर्ड र बुकायो साकाको प्रहार असफल बनेको थियो। सान्चोको प्रहार पोस्टमा लागेर फर्किएको थियो। रासफोर्ड र साकाको प्रहार इटालीका गोलरक्षक जियानलुइजी डोनारुम्माले बचाउ गरेका थिए।

प्रकाशित: २९ असार २०७८ ०३:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App