१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

युरो कप २०२०: पुरानो छवि फर्काउने लक्ष्य

 समूहचरणका सुरुआती २ खेलमा लगातार अंक बाँडेपछि स्पेनले युरो कप २०२० को समूहचरण पार गर्छ भन्ने थोरैले मात्र कल्पना गरेका थिए। तर स्पेन स्लोभाकियामाथि ५–० को रबाफिलो जितका साथ अन्तिम १६ मा प्रवेश गरेको थियो । अन्तिम १६ मा स्पेनले क्रोएसियाको चुनौती ५–३ ले पूर्णविराम लगाएको थियो। 

क्वार्टरफाइनलमा स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–१ ले हराउँदै लुइस इनरिकेको टोलीले सेमिफाइनलमा स्थान बनायो। ८ वर्षपछि प्रमुख प्रतियोगिताको अन्तिम ४ मा स्थान बनाएको स्पेनले त्यहाँ चिर प्रतिद्वन्द्वी इटालीको सामना गर्दै छ। मंगलबार राति स्पेन र इटाली पुनः एक पटक युरो कपको अन्तिम ४ मा आमनेसामने हुँदै छन्। 

तर स्पेनिस टोलीमा अहिले धेरै परिवर्तन भइसकेको छ। स्पेन र इटाली युरो कपमा भेट्न लागेको यो लगातार चौथो पटक हो। सन् २०१६ को युरो कप अन्तिम १६ मा इटालीले स्पेनलाई २–० ले हराएको थियो। यसअघि सन् २००८ को युरो कप क्वार्टरफाइनलमा स्पेनले इटालीलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराएको थियो। सन् २०१२ को युरो कपमा स्पेनले इटालीलाई नै ४–० हराउदै उपाधि जितेको थियो। 

सन् २००८ को विजेता स्पेन युरो कपको उपाधि रक्षा गर्ने पहिलो टोलीसमेत बनेको थियो। त्यसयता स्पेनले कुनै पनि प्रमुख प्रतियोगिताको उपाधि जित्न सकेको छैन। ८ वर्षपछि प्रमुख प्रतियोगिताको उपाधि जित्ने लक्ष्य लिएको स्पेनले सो लक्ष्य प्राप्तिका लागि सेमिफाइनलमा पुनः एक पटक इटालीको चुनौती पन्छाउनुपर्नेछ।  

‘मैले प्रतियोगिताको सुरुआतमै भनेको थिएँ, हामी प्रतियोगिताका प्रमुख ८ दाबेदारमध्ये एक हाैँ। अहिले हामी दाबेदार ४ टोलीमध्ये एक हौं,’ स्पेनका प्रशिक्षक लुइस इनरिकेले भने, ‘सुरुआती चरणमा धेरै संघर्ष गरे पनि अहिले भने टोली लयमा फर्किएको संकेत गरिसकेको छ। इटालीविरुद्ध जितका साथ हामी उपाधियात्रामा एक कदम अघि बढ्न चाहन्छाैँ।’

यता समूहचरणका तीनवटै खेलमा अब्बल देखिएको इटालीले अन्तिम १६ मा अस्ट्रियामाथि २–१ को जितका साथ क्वार्टरफाइनलमा स्थान पक्का गरेको थियो। क्वार्टरफाइनलमा विश्व नम्बर एक बेल्जियमलाई २–१ ले पराजित गर्दै युरो कप २०२० को सेमिफाइनलमा स्थान बनाएको इटाली स्पेनविरुद्ध पनि उच्च मनोबलका साथ मैदान उत्रनेछ।  

सन् २००६ को विश्वकप विजेता इटालीले त्यसपछि भने प्रमुख प्रतियोगिताको उपाधि जित्न सकेको छैन। यस पटक इटाली युरो कपको उपाधिका साथ आफ्नो पुरानो छवि फर्काउने लक्ष्यमा हुनेछ।  

‘हामीले बेल्जियमविरुद्ध २ गोल गर्‍यौँ, यद्यपि हामीले गोलअन्तर बढाउने अवसर पाए पनि त्यसको सदुपयोग भने गर्न सकेनौँ,’ इटालीका प्रशिक्षक रोबर्टो मान्चिनीले भने, ‘अब हामीले स्पेनको चुनौती पार गर्नु छ। प्रतियोगितामा जति अघि बढ्यो त्यति कठिन प्रतिद्वन्द्वीको सामना गर्नुपर्छ र हामी त्यसका लागि सधैं तयार छौँ।’

प्रकाशित: २२ असार २०७८ ०३:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App