१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

इतिहास बदल्ने क्रोएसियाको चाहना

स्पेन र क्रोएसियाले नकआउट चरणमा स्थान सुरक्षित गर्न समूहचरणको अन्तिम खेलको सहारा लिनुपरेको थियो। दुवै टोलीका लागि समूहचरणका अघिल्ला २ खेल सन्तोषजनक बन्न सकेका थिएनन्। क्रोएसियाले इङ्ल्यान्डविरुद्धको पहिलो खेल गुमाएको थियो भने दोस्रो खेलमा चेक रिपब्लिकसँग बराबरी खेलेको थियो। अन्तिम खेलमा स्कटल्यान्डमाथि सानदार जितका साथ समूह ‘डी’ को उपविजेताका रूपमा अन्तिम १६ मा स्थान पक्का गरेको थियो।

यता समूह ‘ई’ का पहिला दुई खेलमा क्रमशः स्विडेन र पोल्यान्डसँग अंक बाँडेको स्पेनले पनि अन्तिम खेलमा स्लोभाकियामाथि रबाफिलो जितका साथ समूह ‘ई’ को उपविजेताका रूपमा अन्तिम १६ मा स्थान पक्का गरेको थियो। क्रोएसिया पछिल्लो तीन संस्करणको युरो कपमा अन्तिम १६ बाट माथि उठ्न सकेको छैन। त्यसैले सोमबार युरो कप २०२० को अन्तिम १६ मा स्पेनको सामना गर्दा क्रोएसिया विगतको इतिहास बदल्न चाहन्छ।  

सन् २०१६ मा फ्रान्समा भएको युरो कपमा यी दुई टोली समूहचरणमा भिडेका थिए। स्पेनमाथि २–१ को जितका साथ क्रोएसिया नकआउट चरणमा प्रवेश गरेको थियो। त्यस टोलीमा व्यापक परिवर्तन भइसकेको छ। अहिले लुका मोडरिच मात्र सो टोलीमा छन्। जसले टोलीको मोर्चा सम्हालिरहेका छन्। अन्तर्राष्ट्रिय फुटबलबाट सुखद बिदाइको लक्ष्य राखेका मोडरिचका लागि जारी प्रतियोगिताको जुन सुकै खेल पनि अन्तिम बन्न सक्छ। 

त्यसैले उनी उपाधिका साथ आफ्नो अन्तर्राष्ट्रिय खेल जीवनमा पूर्णविराम लगाउन चाहन्छन्। क्रोएसियाले रूस विश्वकपको फाइनलसम्मको यात्रा तय गर्दै आफूहरू जुनसुकै टोलीलाई पनि हराउन सक्ने क्षमता रहेको प्रमाणित गरिसकेको छ।

‘स्लोभाकियाविरुद्ध स्पेनले आफ्नो क्षमता प्रमाणित गरिसकेको छ,’ क्रोएसियाका प्रशिक्षक ज्लाट्को डालिचले भने, ‘युवा टोली छ, जो तीव्र गतिमा खेल्ने क्षमता राख्छ। उनीहरू धेरै पास खेल्दै काउन्टरको रणनीति लिन्छन्। तर हाम्रो टोलीमा पनि विशेष क्षमता छ। उनीहरूलाई हाम्रो चुनौती पन्छाउँदै अघि बढ्नु सहज भने छैन। हामी उनीहरूलाई कठिन चुनौती दिँदै क्वार्टरफाइनलमा स्थान बनाउन चाहन्छाैं।’

समूहचरणमा दुई पटक पेनाल्टीको अवसर खेर फालेको भन्दै स्पेनिस टोली आलोचित बन्दै आएको छ। ‘क्रोएसिया विश्वकपको साबिक उपविजेता टोली हो,’ स्पेनका स्ट्राइकर फेरान टोरेसले भने, ‘क्षमतावान् खेलाडीले भरिएको बलियो टोली। उनीहरूलाई हराउन कठिन छ तर असम्भव भने छैन। हामी क्रमिक रूपमा लयमा फर्किरहेका छाैं। त्यसैले कोपेनहेगनमा पनि जितका साथ अघिल्लो चरण प्रवेश गर्नेमा हामी विश्वस्त छौं।’

फ्रान्सविरुद्ध स्विट्जरल्यान्ड

विश्वविजेता फ्रान्स युरो कप २०२० को ग्रुप अफ डेथ मानिएको समूह एफको विजेताका रूपमा अन्तिम १६ मा प्रवेश गरेको थियो। समूहको पहिलो खेलमा आत्मघाती गोल उपहार पाएको फ्रान्सले जर्मनीलाई १–० ले हराएको थियो। त्यसपछिका दुई खेलमा भने फ्रान्सले क्रमशः हंगेरी र पोर्चुगलसँग बराबरी खेल्दै अंक बाँडेको थियो। एक जित र २ बराबरीका साथ फ्रान्स ४ अंक जोड्दै समूह ‘एफ’ को विजेता बनेको थियो।

पाउल पोग्बा, किलियन एम्बाप्पे र करिम बेन्जिमाको आक्रमण रोक्न स्विट्जरल्यान्डको रक्षापंक्तिका लागि चुनौतीपूर्ण बन्न सक्छ। गत संस्करण घरेलु मैदानमा पोर्चुगलसँग स्तब्ध हुँदै उपविजेतामा सीमित फ्रान्स यस पटक नयाँ इतिहास रच्ने लक्ष्यमा छ। रूस विश्वकपको विजेता फ्रान्स युरो कप २०२० को उपाधि जित्दै स्पेनको कीर्तिमानसँग बराबरी गर्न चाहन्छ। स्पेनले सन् २०१० को विश्वकप र सन् २०१२ मा युरो कप जित्दै कीर्तिमान रचेको थियो।

‘स्विट्जरल्यान्ड सहज टोली होइन। ह्यारिस सेफ्रेनोभिच, बेरिल इम्बोला, जार्डान साकिरी सम्मिलित टोलीको चुनौती रोक्न हामीलाई सहज छैन,’ फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्प्सले भने, ‘यो नकआउट चरण हो र यहाँ कुनै पनि टोलीलाई कमजोर रूपमा लिनु हुँदैन। हामीले समूहचरणमा जर्मनी, पोर्चुगल र हंगेरीको सामना गर्‍यो, त्यसैले पनि टोलीको मनोबल बढेको छ।’  

यता स्विट्जरल्यान्ड तेस्रो स्थानको टोलीमध्ये उत्कृष्ट ४ मा पर्दै नकआउट चरणमा प्रवेश गरेको थियो। समूह ‘ए’ मा पहिलो खेलमा वेल्ससँग बराबरी खेलेको स्विटरजल्यान्डले दोस्रो खेलमा टर्कीलाई हराएको थियो भने अन्तिम खेलमा स्विटजरल्यान्डले इटालीलाई नतिजा सुम्पिएको थियो। ‘हामीले स्वाभाविक खेल खेल्दै पाएका अवसरको सदुपयोग गर्नुपर्छ,’ स्विट्जरल्यान्डका रक्षक रिकार्डो रोड्रिग्वेजले भने, ‘सबैले फ्रान्सले जित्छ भन्छन् र यो हाम्रा लागि फाइदा पनि बन्न सक्छ, उनीहरूको बढी आत्मविश्वास छ। हामीले धेरै अवसर पाउँदैनौं, तर पाएका अवसर खेर फाल्ने गल्ती गर्ने छुट भने हामीलाई छैन।’

प्रकाशित: १४ असार २०७८ ०५:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App