ओलम्पिक डेका अवसरमा नेपाल ओलम्पिक टिमले सोमबार आयोजना गरेको मैत्रीपूर्ण टेबल टेनिस प्रतियोगितामा सफल श्रेष्ठ पहिलो भएका छन्।
सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीको भवनमा आयोजित मैत्रीपूर्ण प्रतियोगिताको फाइनलमा भारोत्तोलनका ओलम्पियन कमलबहादुर अधिकारीलाई २–१ सेटमा हराउँदै सफल पहिलो भएका हुन्। विश्वभर ओलम्पिक डेका अवसरमा विभिन्न कार्यक्रम हुँदा नेपालको ३५ जिल्लामा विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। सोही क्रममा सोमबार नेपालका ओलम्पियनहरूको समूह ओलम्पियन टिमले मैत्रीपूर्ण खेलमार्फत ओलम्पिक डे मनाएका हुन्।
उक्त प्रतियोगितामा तेक्वान्दोका युथ ओलम्पिक रञ्जन श्रेष्ठ र सुटिङका टीकाराम श्रेष्ठ संयुक्त रूपमा तेस्रो भएका हुन्। सेमिफाइनलमा रञ्जन कमलसँग र टीकाराम सफलसँग पराजित भएका थिए। उक्त प्रतियोगितामा १७ ओलम्पियनले प्रतिस्पर्धा गरेका थिए। नेपालमा ओलम्पिक मुभमेन्ट अगाडि बढाउनका लागि यस्ता कार्यक्रम सञ्चालन गरिएको ओलम्पिक टिमका संयोजक दीपक विष्टले जानकारी दिए। उनले ओलम्पिक र ओलम्पियनको महत्वबारे नयाँ पुस्तालाई बुझाउन सके मात्र नेपाली खेलको विकास हुन सक्नेमा जोड दिएका थिए।
आगामी जुन २३ मा ‘ओलम्पिक डे’ कै अवसरमा ओलम्पिक टिमले ओलम्पिक भवनदेखि विश्वसम्पदासूचीमा रहेको पाटन दरबार स्क्वायर टर्च र्याली गर्ने भएको छ। त्यहाँ पुर्याएर टर्च र्यालीलाई पुनः सातदोबाटोस्थित नेपाल ओलम्पिक भवनमा ल्याएर नेपालका उपराष्ट्रपति नन्दकिशोर पुनलाई सुम्पिने कार्यक्रम छ।
प्रकाशित: ८ असार २०७८ ०२:३९ मंगलबार