२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

कोपा अमेरिकाः इक्वेडरसँग भेनेजुएलाको बराबरी

रोनाल्ड हर्नान्डेजले इन्जुरी समयमा गोल गरेपछि भेनेजुएलाले सोमबार कोपा अमेरिकामा इक्वेडरसँग २–२ गोलको बराबरी गर्दै एक अंक निकाल्न सफल भएको छ।  

एर्टन प्रिक्याडो र गोन्जालो प्लाटाको गोलबाट इक्वेडरले दुई पटक अग्रता लिँदा एडसन कास्टिलोको हेड गोलमार्फत भेनेजुएला खेलमा फर्किएको थियो। १२ खेलाडीमा कोरोना परीक्षण पोजेटिभ देखिएको भेनेजुएलाका लागि यो सफलता महत्वपूर्ण रह्यो। ‘मेरा केटाहरूको प्रदर्शनप्रति प्रशंसा गर्ने मसँग शब्द नै छैन,’ भेनेजुएलाका प्रशिक्षक पेसेइरोले भने, ‘उनीहरू व्यावसायिक रूपमा राम्रो खेल प्रदर्शन गरे। उनीहरूले आफ्नो क्षमता देखाए र राम्रो चुनौती प्रस्तुत गरेका छन्। जसले गर्दा मलाई पनि उत्साहित बनाएको छ।’  

त्यो अंकले पनि इक्वेडरलाई पाँच टोली रहेको समूहमा पुछारमा पुर्‍याएको छ, जहाँ भेनेजुएला दुई अंकसहित एक स्थान माथि छ। आयोजक ब्राजिल उक्त समूहमा दुई खेलमा शतप्रतिशत जितका साथ शीर्ष स्थानमा छ भने कोलम्बिया तीन खेलबाट चार अंकसहित दोस्रोमा छ। कोलम्बियाले सोमबार नै गोइनियामा भएको खेलमा पेरूसँग २–१ ले हार बेहोरेको थियो।  

इक्वेडरले सुरुआतदेखि नै निकै राम्रो दबदबा बनाएको थियो। उसका लागि लियोनार्दो काम्पना र इनेर भ्यालेन्सियाले गोल गर्ने सहज अवसर गुमाएका थिए। भेनेजुएलाले भने पहिलो हाफ सकिन लाग्दा मात्र राम्रो चुनौती प्रस्तुत गर्‍यो, जहाँ १२ यार्ड टाढाबाट क्रिस्टियन कासेरेसले प्रहार गरेका थिए। तर, खेल सकिन ६ मिनेट सकिन लाग्दा इक्वेडरले गोल गर्दै अग्रता बनाउन सफल भयो। रोबर्ट एर्बोलेडाको क्रसमा प्रिक्याडोले गोल गर्दै अग्रता दिलाए। तर, दोस्रो हाफ सुरु भएको छैटौं मिनेटमा नै भेनेजुएला खेलमा फर्कियो। जोसे मार्टिनेजको हेडर पासमा ६ यार्डनजिक अनमार्क रहेका कास्टिलोले गोल गर्दै आफ्नो टोलीलाई खेलमा फर्काए। त्यसको तीन मिनेटपछि नै इक्वेडरले खेलमा फर्कने अवसर पाए पनि कम्पानाको हेडरले जाली चुम्न सकेन।  

तर, खेल सकिन १९ मिनेट बाँकी छँदा इक्वेडरले काउन्टर अट्याकबाट प्राप्त कर्नरमार्पmत अग्रता लियो। भेनेजुएलाका गोलकिपर फारिनेजको फितलो बचाउलाई क्रिस्टियन नोबोआको प्रहार डिफन्डरबाट रिबाउन्डमा प्राप्त बल प्लाटाले गोलमा परिणत गराएका हुन्। तर, इन्जुरी समयमा कास्टिलोको पासमा हर्नान्डेजले गोल गर्दै भेनेजुएलालाई हारको संकटबाट टारे। ‘खेलमा ध्यान नदिँदा महत्वपूर्ण अंक गुम्यो। तर, पनि हामीले आगामी खेलमा लय जारी राख्नुपर्नेछ,’ इक्वेडरका प्रशिक्षक गुस्ताभो अल्फारोले भने।  

पहिलो खेलमा ब्राजिलसँग ४–० को फराकिलो हार बेहारेको पेरूले कोलम्बियामाथि २–१ को रोमाञ्चक जित निकाल्यो। एरी मिनाको आत्मघाती गोल नै कोलम्बियाको हारको कारण बन्यो। सर्जियो पेनाको गोलबाट पेरूले अग्रता लिएको थियो। तर दोस्रो हाफमा मिगुल बोर्जाको पेनाल्टी गोलबाट कोलम्बिया खेलमा फर्किए पनि आत्मघाती गोलबाट हार बेहोर्न पुग्यो।

प्रकाशित: ८ असार २०७८ ०२:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App