२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

कोपा अमेरिकाः अर्जेन्टिनाको पहिलो जित

गुइडो रोड्रिग्वेजको निर्णायक गोलमा अर्जेन्टिनाले छिमेकी प्रतिद्वन्द्वी उरुग्वेलाई हराउँदौ कोपा अमेरिकामा पहिलो जित निकालेको छ।  

जितसँगै अर्जेन्टिनाले आफ्नो समूह ‘बी’ मा चिलीसँग समान चार अंक भए पनि शीर्ष स्थानमा बस्दै अग्रता बनाएको छ। पहिलो खेलमा चिलीसँगै बराबरीमा रोकिएको अर्जेन्टिनाले दोस्रो खेलमा भने जित दर्ता गरेको हो। उरुग्वेले भने खराब प्रदर्शन गर्दै हारबाट कोपा अमेरिकाको सुरुआत गरेको छ। यी दुईबीच अन्य छिमेकी प्रतिद्वन्द्वीको तुलनामा अत्यधिक प्रतिस्पर्धा भएका छन्। यी दुई टोलीले मात्र ३२औं पटक कोपामा प्रतिस्पर्धा गर्दा २८ जित एवं चार बराबरीमा खेल सकिएका छन्।

यद्यपि, दक्षिण अमेरिकाका महारथी अर्जेन्टिना र उरुग्वेले शुक्रबारको प्रतिस्पर्धामा त्यस किसिमका प्रदर्शन देखाएनन्। छैटौं पटक बालन डिअ’र विजेता लियोनल मेसीको पहिलो प्रहार उरुग्वेका गोलकिपर फर्नान्डो मुसलेराले रोके पनि रिबाउन्डमा प्राप्त बललाई लाउटारो मार्टिनेज गोल गर्न असमर्थ भए। लगत्तै क्रिस्टियन रोमेरोको अर्को प्रहार उरुग्वेका गोलकिपर मुसलेराले सहजै रोकेका थिए।  

तर, १३औं मिनेटमा अग्रता लिएपछि अर्जेन्टिनामाथि दबाब कम भएको थियो। मेसीकै क्रस बलमा रोड्रिग्वेजको हेडर दोस्रो बारमा लागेर गोलमा परिणत हुँदा अर्जेन्टिनाको अग्रता बन्यो। तर, उरुग्वेले पनि बिस्तारै गति लिँदा अर्जेन्टिनाले भने काउन्टरमा आक्रमण बुन्दा उरुग्वेका गोलकिपर मुसलेरा धेरै पटक परीक्षा दिन बाध्य भए। तर, पहिलो हाफमा उरुग्वे भने अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजलाई ठूलो चुनौती दिन असफल रह्यो। दोस्रो हाफको सुरुआतमै केही परिवर्तन गर्दा उरुग्वेको प्रदर्शनमा केही गति प्राप्त भएको थियो।  

यद्यपि, अग्रपंक्तिमा लुइस स्वारेज र एडिन्सन काभानीजस्ता स्टार खेलाडी हुँदा पनि उरुग्वे अवसरहरू सिर्जना गर्न असफल रह्यो। माटियस भिनाले ६ यार्डनजिक राम्रो क्रस गरे पनि स्वारेज र काभानी दुवै गोलमा परिणत गर्न असफल भए। त्यसलगत्तै स्वारेजको बाइसाइकल किक पनि पोस्टको सही दिशा लिन असफल रह्यो। उनको प्रहार बारमाथिबाट अकासियो। २० यार्ड नजिकबाट मेसीको फ्रिकिक प्रहारलाई उरुग्वेका गोलकिपर मुसलेराले सहजै नियन्त्रणमा लिँदा अर्जेन्टिनाले १–० को नतिजामै चित्त बुझाउनुपर्‍यो। कोपा अमेरिकाकै अर्को खेलमा इङ्ल्यान्डमा जन्मिएका बेन ब्रेरेटनको गोल मद्दतमा चिलीले बोलिभियामाथि १–० को साँघुरो जित निकाल्यो। २२ वर्षे बेन चिलीका आमा र इङ्ल्यान्डका पिताबाट स्टोक अन ट्रेन्टमा जन्मिएका सन्तान हुन्। उनी इङ्ल्यान्डको च्याम्पियनसिप क्लब ब्लाकबर्नका फरवार्ड हुन्। चिलीले पहिलो खेलमा अर्जेन्टिनासँग बराबरी खेल्दा उनले राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए। इङ्लिस च्याम्पियनसिप क्लबमै करियर बिताइरहेका उनले काउन्टर अट्याकमा उत्कृष्ट फिनिस गरेका थिए।  

चिलीले पहिलो हाफमा लगातार आक्रमण गरे पनि ठूलो अग्रता लिन भने सकेन। खेलको १० मिनेटमा चिलीले काउन्टर अट्याक बुन्दा एडुआर्ड भर्गासको पासमा उनले गोल गरेका थिए। त्यसपछि पनि चिलीका आक्रमण बोलिभियाका गोलकिपर कार्लोस लेम्पेले बिफल बनाए। दोस्रो हाफममा भने बोलिभियाले राम्रो सुरुआत गर्‍यो। यद्यपि, डेनी साभेद्राको सशक्त प्रहार चिलीका गोलकिपर क्लाउडिओ ब्राभोले सफल हुन दिएनन्। डेनी बेजारानोको अर्को प्रहार असफल हुँदा बोलिभिया प्रतियोगितामा पहिलो अंक जोड्न असफल भयो।

प्रकाशित: ६ असार २०७८ ०१:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App