२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

युरो कप २०२०ः उपाधिरक्षाको लक्ष्य

साबिकको विजेता पोर्चुगल युरो कपको उपाधि रक्षा गर्ने दोस्रो टोली बन्ने लक्ष्यमा छ। फर्नान्डो सान्तोसको टोलीले मंगलबार समूह ‘एफ’ मा हंगेरीविरुद्धको खेलसँगै आफ्नो उपाधिरक्षाको यात्रा सुरुआत गर्नेछ। सन् २००८ को विजेता स्पेन सन् २०१२ मा युरो कपको उपाधि रक्षा गर्ने पहिलो टोली बनेको थियो।

पोर्चुगल प्रतियोगितामा उत्कृष्ट सुरुआत गर्न चाहन्छ कारण समूह ‘एफ’ बाट अन्तिम १६ प्रवेशका लागि समेत हंगेरीविरुद्धको खेल महत्वपूर्ण छ। समूह ‘एफ’ मा पोर्चुगल र हंगेरीसँगै गत संस्करणको उपविजेता फ्रान्स र युरोपेली फुटबलको दाबेदार टोली जर्मनीसमेत रहेका छन्। सन् २०१६ मा घरेलु टोली फ्रान्सलाई निराश पारेको पोर्चुगलको टोलीमा अहिले पनि अधिकांश पुरानै खेलाडी छन्। कप्तान क्रिस्टियानो रोनाल्डो १ सय ९ अन्तर्राष्ट्रिय गोलको विश्व कीर्तिमान तोड्न मात्र ५ गोल टाढा छन्। पोर्चुगलले सन् २०१६ को युरो कपको समूहचरणमा न कुनै खेल जित्यो न त हार्‍यो तर पनि सान्तोसको टोली ३ अंकका साथ समूहचरण पार गर्न सफल भएको थियो। समूह ‘एफ’ को विजेताका रूपमा हंगेरी र उपविजेताका रूपमा आइसल्यान्ड नकआउट चरणमा प्रवेश गरेका थिए। पोर्चुगल भने तेस्रो स्थानमा रहने टोलीमध्ये उत्कृष्ट टोलीका रूपमा अन्तिम १६ मा प्रवेश गरेको थियो। अन्तिम १६ को अतिरिक्त समयमा क्रोएसियालाई निराश बनाएको पोर्चुगलले क्वार्टरफाइनलमा पोल्यान्डलाई र सेमिफाइनलमा वेल्सलाई हराएको थियो। 

समूहचरणमा जितको स्वाद नचाखेको पोर्चुगल फ्रान्सलाई स्तब्ध पार्दै युरो कप २०१६ को विजेता बन्यो। युरो कप इतिहासमा पोर्चुगल सधैं दाबेदार टोलीका रूपमा रहँदै आएको छ। पोर्चुगलले सन् १९८४,२००० र २०१२ मा सेमिफाइनल प्रवेश गरेको थियो भने सन् १९९६ र २००८ मा क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो। सन् २००४ मा घरेलु मैदानमा सम्पन्न युरो कपको फाइनलमा पोर्चुगल ग्रिससँग स्तब्ध भएको थियो। पोर्चुगल पछिल्लो ६ खेलमा अपराजित रहँदै आएको छ। युरो कप २०२० अघिका मैत्रीपूर्ण खेलमा पोर्चुगलले स्पेनसँग गोलरहित बराबरी खेलेको थियो भने इजरायललाई ४–० ले हराएको थियो।

‘पक्कै पनि, हामी उपाधि दाबेदार टोली हाैं, समूहचरण पार गर्न नसकेमा त्यो टोलीको अहिलेसम्मकै ठूलो असफलता हुनेछ,’ पोर्चुगलका प्रशिक्षक सान्तोसले भने, ‘हामी उपाधि रक्षाको लक्ष्यका साथ यहाँ आएका हांै। हामी लयमा छौं, त्यसैले युरोपियन फुटबलमा अर्को सफलता चुम्नेमा विश्वस्त छौं।’ यता हंगेरीले सन् १९६४ को युरो कपमा तेस्रो स्थानमा चित्त बुझाएको थियो। सन् १९६८ को संस्करणमा भने हंगेरी पहिलो पटक युरोपियन च्याम्पियन बन्यो। तर सन् २०१६ को संस्करणसम्म हंगेरीले प्रतियोगिताको छनोट चरणसमेत पार गर्न सकेन। 

सन् २०१६ को युरो कपअन्तर्गत समूह ‘एफ’ को विजेताका रूपमा समूहचरण पार गरेको हंगेरी अन्तिम १६ मा प्रवेश गरेको थियो। तर नकआउट चरणमा बेल्जियमसँग लज्जास्पद हार व्यहोर्न बाध्य भयो। हंगेरी प्लेअफमा बुल्गेरिया र आइसल्यान्डलाई हराउँदै युरो कप २०२० का लागि छनोट भएको हो। ‘हामी समूहचरण पार गर्न चाहन्छौं,’ हंगेरीका प्रशिक्षक मार्को रोसीले भने, ‘हामी प्रतियोगितामा आफ्नो विशेष छाप छोड्न चाहन्छाैं। युरोपियन फुटबलमा हंगेरीको विगतको साख फर्काउन चाहन्छाैं।’

प्रकाशित: १ असार २०७८ ०३:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App