४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

क्यानको आर्थिक नियमावली पारितः खेलाडीलाई म्याच फीको व्यवस्था

नेपाल क्रिकेट संघ (क्यान) ले आर्थिक कार्यविधि र नियमावली २०७७ मार्फत अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रतियोगिताका खेल्ने खेलाडीलाई म्याच फीका साथै प्रादेशिक संरचनालाई आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ।  

क्यानका कोषाध्यक्ष रोशन सिंहको संयोजकत्वमा रहेको आर्थिक समितिले प्रस्तुत गरेको आर्थिक कार्यविधि र नियमावली २०७७ बाट अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रतियोगिताका खेल्ने खेलाडीले म्याच फी पाउने भएका हुन्। चतुरबहादुर चन्द नेतृत्वको क्यानले पहिलो पटक प्रादेशिक संरचना र जिल्लालाई आर्थिक सहयोग दिने निर्णय गरेको हो। नियमावलीअनुसार एकदिवसीयमा राष्ट्रिय टोलीका पुरुष खेलाडीले १० हजार र महिला खेलाडीले पाँच हजार रूपैयाँ म्यान फी पाउने भएका छन्।  

ट्वान्टी–२० अन्तर्राष्ट्रियमा पुरुष खेलाडीले ५ हजार र महिला खेलाडीले ३ हजार रूपैयाँ म्यान फी पाउनेछन्। घरेलु प्रतियोगिताअन्तर्गत एकदिवसियमा पुरुष खेलाडीले २ हजार ५ सय र महिला खेलाडीले २ हजार तथा ट्वान्टी–२० खेल्ने पुरुष टोलीले २ हजार र महिला खेलाडीले एक हजार पाँच सय दैनिक भत्ता प्राप्त गर्ने छन्। क्यानले आर्थिक कार्यविधि र नियमावली २०७७ मंगलबार पारित गर्दै उक्त निर्णय गरेको हो। मंगलबार बसेको क्यानको बोर्ड बैठकले कोषाध्यक्ष सिंह, सदस्य दुर्गाराज पाठक र माधव कर्माचार्यको समितिले प्रस्तुत गरेको प्रस्तावित नियमावली पारित गरेको थियो।  

यस नियमावलीले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने खेलाडीलाई १० लाख र राष्ट्रिय प्रतियोगिताका खेल्ने खेलाडीलाई पाँच लाखसम्मको बिमा पनि गरेको छ। विभिन्न जिल्लाबाट प्रतियोगिता खेल्न आउने खेलाडी, प्रशिक्षक र अफिसियलका लागि यो नियमावलीले विशेष सम्बोधन गरेको क्यानको विश्वास छ। कोषाध्यक्ष सिंहले नयाँ कार्यविधिले क्यानमा हुने आर्थिक कारोबार पारदर्शी हुने बताएका छन्। पुरानो आर्थिक नियमावलीले जिल्ला संघ, खेलाडी र प्रशिक्षकका लागि कुनै सुनुवाइ नगरेकाले नयाँ नियमावलीको आवश्यता देखिएको थियो। 

सोहीअनुरूप नयाँ कार्यसमिति आएदेखि नै यसलाई परिमार्जन गर्ने कुरा उठेपछि त्यसमा कार्य गरेको थियो। आर्थिक कार्यविधि तथा नियमावलीमा यसअघि नभएका केही पक्षलाई समावेश गरिएको छ। नयाँ कार्यविधि खेलाडीका लागि भने सुखद भएको क्यानका कोषाध्यक्ष सिंहले बताए। ‘यो नियमावलीले काम गर्न सहज गर्नेछ। साथै जिल्ला संघ, खेलाडी र प्रशिक्षकका लागि प्रतियोगिताका खेल्न आउँदा जुन दुःख भोग्नुपर्दथ्यो। त्यो समस्यालाई हल गर्ने काम नियमावलीले गरेको छ,’ सिंहले भने, ‘समग्र प्रादेशिक संरचनालाई पनि राम्रोसँग संबोधन गरेका छौं।’ जिल्लाले वार्षिक एक लाख र प्रदेशले तीन लाख रूपैयाँ कार्यालय सञ्चालनका लागि सहयोग पाउनेछन्।  

उनले आर्थिक नियमावली २०७७ ले ग्रास रुटबाट आउने खेलाडीदेखि अम्पायर, अफिसियल, क्यान पदाधिकारी, ग्राउन्ड स्टाफ, जिल्ला र प्रदेश सबैले पाउने अधिकार, भत्ता र सेवा सुविधालाई सुनिश्चित गरेको बताए। क्यानको लामो इतिहासमा पहिलो पटक आर्थिक नियमावली जारी भएको हो। आर्थिक नियमावलीले क्यानलाई दैनिक कार्य गर्न थप सहज हुनेछ। क्यानले महिला र पुरुष दुवै टोलीका खेलाडीलाई गत वर्ष अन्तर्राष्ट्रिय ओडीआई र ट्वान्टी–२० आईको म्याच फी ५ हजार रूपैयाँ दिने पनि निर्णय गरेको थियो। उमेरसमूहको राष्ट्रिय प्रतियोगिताको म्याच फी एक हजार रूपैयाँ हुने नियमावलीमा उल्लेख छ। 

खाना, बस्न र यातायात खर्चबाहेक म्याच फी पाउने सिंहले बताए। अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी राष्ट्रिय टोली, विभिन्न उमेर समूहका महिला तथा पुरुष खेलाडी, अफिसियल, प्रशिक्षक र चिकिल्सकलगायतले ५० अमेरिकी डलर दैनिक भत्ता पनि पाउनेछन्। जुन खेल सुरु हुनुभन्दा दुई दिन अगाडि र खेल समाप्त भएको एक दिनपछि सम्म लागू हुनेछ।

प्रकाशित: २७ जेष्ठ २०७८ ०४:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App