१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

युरो कप २०२०ः रोनाल्डोको नेतृत्वमा पोर्चुगल

आगामी शुक्रबारबाट हुने युरोपका २०२० मा पोर्चुगल अनुभवी खेलाडी क्रिस्टियानो रोनाल्डोको नेतृत्वमा नयाँ युवा खेलाडीसहित उपाधिरक्षा गर्ने लक्ष्यका साथ मैदान उत्रिनेछ।  

बेर्नान्डो सिल्भा, डिओगो जोटा, जोआओ फिलिक्स र आन्दे्र सिल्भाजस्ता युवा खेलाडी समेटिएको टोली पोर्चुगलले आक्रामक रणनीतिका साथ युरो कपको थालनी गर्ने अनुमान गरिएको छ। युरोपियन च्याम्पियनसिपमा उत्कृष्ट नतिजा निकाल्दै पोर्चुगल युरो कपमा राम्रो छाप छाड्ने लक्ष्यका साथ मैदान उत्रिनेछ। चोटका कारण २०१६ को युरो कप गुमाएका बेर्नान्डो सिल्भा पोर्चुगल टोलीको सुरुआती रोजाइमा पर्ने सम्भावना रहेको छ। सिल्भाले ५४ खेलमा टोलीको प्रतिनिधित्व गर्दा ७ गोल गरेका छन्। म्यानचेस्टर सिटीमा राम्रो प्रदर्शन गरेका सिल्भाको अनुभवी खेलबाट पोर्चुगल यस संस्करणको युरो कपमा मैदान उत्रनेछ।  

यस्तै प्रिमियर लिगका अर्का प्रभावशाली खेलाडी डिएगो पनि चोटमुक्त हुँदा टोलीमा समावेश भएका छन्। यसअघि भएको स्पेनसँगको मैत्रीपूर्ण खेलमा उनले प्रभावशाली खेल प्रदर्शन गरेका थिए। उक्त खेलमा पोर्चुगलले स्पेनसँग गोलरहित बराबरी खेलेको थियो। १२ अन्तर्राष्ट्रिय खेलमा ६ गोल गरेका २४ वर्षीय लिभरपुलका फरवार्ड बेर्नान्डोले रोनाल्डोसँगै टोलीलाई अगाडि बढाउनेछन्। पाँच पटकका बालोन डी ओर विजेता रोनाल्डोले पोर्चुगल टोलीको नेतृत्व गर्नेछन्। हेडरमार्फत गोल गर्दै विश्वकप २०२२ को छनोट खेलमा सर्बिया र लक्जेम्बर्गविरुद्ध रोनाल्डोले गोल गरेका थिए। लयमा देखिएका रोनाल्डोले नयाँ खेलाडी र पाका अनुभवी खेलाडीलाई संयोजन गर्दै उपाधि रक्षाको जिम्मेवारी सम्हाल्नेछन्।

पाको उमेरसम्म पनि प्रभावशाली खेल प्रदर्शनलाई निरन्तरता दिएका रोनाल्डोजस्तै पोर्चुगलमा टोलीमा अहिले युवा खेलाडीको वर्चस्व रहेको छ। एट्लेटिको मड्रिडमा २१ वर्षको कलिलै उमेरमा प्रभावशाली खेल देखाएका जोआओ फिलिक्स पनि टोलीका महत्वपूर्ण खेलाडी हुन्। उनले स्पेनसँग गोलरहित बराबरी खेल्दा उत्कृष्ट प्रदर्शन गरेका थिए। उनै फिलिक्स विश्वकप छनोटअन्तर्गत अजरबैजान र सर्बियाविरुद्धको खेलमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गर्दै प्रभावशाली खेल देखाएका थिए। ‘मेरो विचारमा उपस्थित भएका खेलमा मेरो प्रदर्शन राम्रो भएको प्रतिक्रिया पाएको छु। सिनियर खेलाडीको साथमा मैले टोलीलाई राम्रो योगदान गर्नेमा विश्वस्त छु,’युरो कप तयारीमा व्यस्त रहेका फिलिक्सले भने।  

यस्तै टोलीमा कमब्याक गरेका आन्द्रे सिल्भा पनि अपेक्षा गरिएका खेलाडी हुन्। गोल गर्नसमेत सक्षम सिल्भा पोर्र्चुगल टोलीका पहिलो रोजाइका खेलाडी बन्न सक्छन्। २५ वर्षीय सिल्भाले जर्मन बुन्डेसलिगाको क्लब इन्ट्य्राक्ट फ्य्रान्कफर्टमा २८ गोल गरेका छन्। २०१६ देखि राष्ट्रिय टोलीमा स्थान बनाएका सिल्भाले पोर्चुगलका लागि ३८ खेलबाट १६ गोल गरेका छन्। उनी युरोपको गोल्डेन बुट जित्ने खेलाडीको सूचीको चौथो स्थानमा छन्। उनीअगाडि रोनाल्डो, लियोनल मेसी र रोबर्टो लेवान्डोवस्की रहेका छन्। उनी आबद्ध क्लब इन्ट्य्राक्ट फ्य्रान्कफर्ट सम्पन्न लिगबाट एक अंकले पछि पर्दै आगामी सिजनको च्याम्पियन्स लिग गुमाउन पुगेको छ।  

‘मेरो यो करियरकै उत्कृष्ट समय हो। म यति बेला मानसिक र शारीरिक दुवै तरिकाले फिट छु,’ राष्ट्रिय टोलीमा जोडिएपछि सिल्भाले सञ्चारमाध्ययमसँग भने, ‘उत्कृष्ट समयलाई म सदुपयोग गर्न चाहन्छु। देशका लागि खेलेर नतिजा दिलाउन चाहन्छु।’ पोर्चुगलको टोलीमा अहिले युवा खेलाडीको वर्चस्व रहेको छ। प्रतिभावान् खेलाडीलाई संयोजन गरेको पोर्चुगललाई उपाधि रक्षाको चुनौती रहेको छ।

प्रकाशित: २४ जेष्ठ २०७८ ०४:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App