१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

ब्राजिलको सहज जित

क्याप्शन

इक्वेडरविरुद्धको खेलमा स्टार फरवार्ड नेइमारले पेनाल्टीबाट गोल गर्दै टोलीलाई २–० को जित सुनिश्चित गर्दा ब्राजिलले दक्षिण अमेरिकाको विश्वकप छनोटमा शुक्रबार सानदार प्रदर्शन गरेको छ।  

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै गोल दोस्रो हाफमा भएका थिए। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। ६४औं मिनेटमा रिचार्लिसनले गोल गर्दै ब्राजिललाई सुरुआती अग्रता दिलाएका थिए। नेइमारले उपलब्ध गराएको पास रिचार्लिसन आकर्षक शैलीमा बललाई जाली चुमाउन सफल भए। त्यसपछि पनि निकै प्रतिस्पर्धा भएको खेलमा दुवै टोलीले गोल गर्ने प्रयास गरेका थिए। तर सिर्जना भएका सुनौला अवसरमा दुवै टोली चुकेका थिए। गोल गरे पनि दबाब दिएर खेल पस्किएको ब्राजिलले इन्जुरी समयमा पेनाल्टी अवसर पायो। पेनाल्टी प्रहारमा आएका नेइमारले अवसरलाई सदुपयोग गर्दै टोलीको जित निश्चित गरेका थिए।  

इक्वेडरविरुद्ध जित निकालेको ब्राजिल छनोट तालिकाको शीर्ष स्थानमा छ। दोस्रो स्थानको अर्जेन्टिनाभन्दा चार अंक बढी बटुलेको ब्राजिलको अघिल्लो चरणमा पुग्ने सम्भावना बलियो भएको छ। अपराजित अर्जेन्टिना तालिकाको दोस्रो स्थानमा छ। अर्जेन्टिनाले पछिल्लो खेलमा चिलीसँग १–१ को बराबरी खेलेको थियो। अर्जेन्टिनाको छनोट तालिकामा ११ अंक छ। ब्राजिलसँग पराजित इक्वेडर भने तालिकाको तेस्रो स्थानमा छ। 

इक्वेडरको ९ अंक छ। १० टोली रहेको यस समूहबाट शीर्ष पाँच टोली अघिल्लो चरण प्रवेश गर्नेछन्। इक्वेडरविरुद्ध सुरुदेखि नै हाबी भएको ब्राजिलले ७५ प्रतिशत बलमा पकड जमाउन सकेको थियो। तर २० मिनेटपछि ब्राजिल पनि दबाबमा देखिएको थियो। पहिलो हाफ प्रतिस्पर्धात्मक अवस्थामा सकिएको खेलको दोस्रो हाफमा रिर्चालिसनले गोल गरेपछि इक्वेडर दबाबमा परेको थियो। दबाब मात्र खेपेको इक्वेडरले ब्राजिलको सुरुआती गोल हुनुपूर्व २० यार्ड टाढाबाट गरेको प्रहार खेर जाँदा चुुकचुकाउनुपरेको थियो। 

ब्राजिलका प्रशिक्षक टिटेले अग्रता लिएसँगै आफ्ना खेलाडीलाई रक्षापंक्तिमा झारेका थिए। यस्तै इग्वेडरसँगको खेलमा प्राप्त नतिजाले ब्राजिलको अघिल्लो चरण यात्रा सहज भएको प्रशिक्षक टिटेले बताए। ‘सन्तोषजनक खेल देखाउँदै हामीले सुखद नतिजा निकाल्न सक्यौं। नेइमार र रिचार्लिसनले उत्कृष्ट गोल गरे,’ ब्राजिलका प्रशिक्षक टिटेले भने, ‘छनोट चरणका खेलमा देखाएको प्रदर्शनलाई कायम राख्ने सके टोलीले विश्वकपमा राम्रो प्रदर्शन गर्न सक्नेछ।’ यति बेला कतार विश्वकप २०२२ का छनोट खेल भइरहेका छन्।

प्रकाशित: २३ जेष्ठ २०७८ ०५:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App