१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

एसियन कप तेस्रो चरण लक्ष्य

नेपालका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले कतार विश्वकप २०२२ तथा चीन एसिया कप २०२३ को छनोट चरणअन्तर्गत बिहीबार चाइनिज ताइपेईको सामना गर्दा स्पष्ट जितका साथ एसियन कप तेस्रो चरण प्रवेशको सम्भावना जीवित राख्ने बताएका छन्। 

विश्वकप छनोटअन्तर्गत समूह ‘बी’ मा चार अवे र १ होम गेम गरी नेपालले हालसम्म एक खेलमा मात्र जित हात पारेको छ, त्यो हो चाइनिज ताइपेईविरुद्ध। त्यसैले बिहीबार कुवेतस्थित जबर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा चाइनिज ताइपेईविरुद्ध मैदान उत्रँदा नेपाल सोही नतिजालाई निरन्तरता दिँदै कम्तीमा समूहको चौथो स्थानमा बस्दै एसिया कप २०२३ को छनोट सम्भावना जीवित राख्न चाहन्छ।  

समूह ‘बी’ मा चार खेलमा शतप्रतिशत नतिजा निकालेको अस्ट्रेलिया १२ अंकका साथ शीर्ष स्थानमा छ। पाँच खेलबाट समान तीन खेल जितेका कुवेत र जोर्डन समान १० अंकका साथ क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। ५ खेलमा एक जितका साथ ३ अंक जोडेको नेपाल चौथो स्थानमा छ। पाँच खेलबाट जितविहीन चाइनिज ताइपेई अंकतालिकाको पुछारमा छ।

छनोट चरणका आठ समूहमध्ये चौथो स्थानमा रहने उत्कृष्ट चार टोली एसियन कप २०२३ छनोटको तेस्रो चरणमा प्रवेश गर्नेछन्। चौथो स्थानका अन्य चार टोलीले भने एसियन कप २०२३ छनोटको प्लेअफको अवसर पाउनेछन्। त्यसैले नेपाल कम्तीमा चाइनिज ताइपेईविरुद्ध स्पष्ट जितका साथ एसियन कप छनोटको तेस्रो चरण प्रवेशको ढोका खुला राख्न चाहन्छ। तर, कुवेतको उच्च तापक्रममा खेल्न नेपाल र चाइनिज ताइपेई दुवै टोलीका लागि कठिन हुने अल्मुताइरीले बताए।

‘कुवेतको मौसम दुवै टोेलीका लागि सहज छैन,’ अल्मुताइरीले भने, ‘यद्यपि हामी ताइपेईविरुद्ध जितका साथ एसियन कप छनोटको सम्भावना कायम राख्न चाहन्छाैं। छोटो तयारीका बावजुद हामी प्रतियोगिताका लागि आएका छाैं। टोलीमा युवा खेलाडीको बाहुल्य छ। इराकविरुद्ध शनिबार सम्पन्न मैत्रीपूर्ण खेलमा लिएको आक्रामक रणनीतिले बिहीबार पनि निरन्तरता पाउनेछ। हामी रक्षापंक्तिमा देखिएको गल्ती सुधार गर्दै स्पष्ट तीन अंक जोड्न चाहन्छाैं।’

विश्वकप छनोट र एसिया कप छनोटको तयारी भन्दै नेपालले शनिबार इराकविरुद्ध मैत्रीपूर्ण खेल खेलेको थियो। कुवेतको अत्यधिक गर्मीसँग अभ्यस्त हुनकै लागि नेपालले इराक भ्रमण गरेको हो। इराकबाटै नेपाल छनोट खेलका लागि कुवेत पुगेको थियो। अल्मुताइरीको टोलीमा युवा खेलाडी प्राथमिकतामा छन्। अल्तुताइरीको आक्रामक रणनीति इराकविरुद्ध केही हदसम्म सफल भएको थियो। १–० ले पछि परेको अवस्थामा पुनरागमन गर्दै २–१ को अग्रता लिन सफल नेपाल अन्ततः रक्षापंक्ति र गोलकिपरबीचको तालमेल अभावले ६–२ को नतिजा सुम्पिन बाध्य भएको थियो।

सो खेलमा नेपालका लागि स्ट्राइकर अञ्जन विष्ट र मिडफिल्डर मनीष डाँगीले समान एक गोल गरेका थिए। छनोट चरणको पहिलो लेगमा चाइनिज ताइपेईविरुद्ध २–० को जित हात पारेको खेलमा नेपालका लागि दुवै गोल अञ्जनले गरेका थिए। इराकविरुद्ध गोल गर्दै अञ्जनले आफू अझै पनि लयमै रहेको प्रमाणित गरिसकेका छन्। त्यस्तै मनीषले पनि डेब्यु खेलमै गोल गर्दै आफ्नो क्षमता प्रमाणित गरेका छन्। त्यसैले चाइनिज ताइपेईविरुद्ध नेपाल उच्च मनोबलका साथ मैदान उत्रनेछ।  

नेपालले विश्वकप छनोटअन्तर्गत समूह ‘बी’ का आफ्ना चार वटै अवे खेल र एउटा होम गेम पनि खेलिसकेको छ। पूर्वतालिकाअनुसार नेपालले बाँकी रहेका तीन खेल दशरथ रंगशालामा खेल्नुपर्ने थियो। तर, मैदान तयार नभएको भन्दै कुवेतविरुद्धको होम गेम न्युट्रल भेन्युका रूपमा भुटानमा खेलेको नेपालले कोभिड–१९ महामारीका कारण तालिका प्रभावित बनेपछि सेन्ट्रल भेन्यु कुवेतमा बाँकी तीन खेल खेल्न लागेको हो।

यता चाइनिज ताइपेईका प्रशिक्षक भोम का हुमले कुवेतको मौसममा खेल्न निकै कठिन हुने बताए। ‘कोभिड–१९ संक्रमित भएपछि टोली केही महत्वपूर्ण खेलाडीबिनै कुवेत भ्रमणमा निस्किएको हो,’ हुमले भने, ‘नेपाल हामीभन्दा बलियो देखिएको छ। टोलीमा स्थान बनाएका युवा खेलाडीले नेपालविरुद्ध आफूलाई प्रमाणित गर्छन् भन्नेमा म विश्वस्त छु।’

विश्वकप छनोटमा नेपालको प्रदर्शन  

छनोट चरणको पहिलो खेलमा जोर्डनलाई ७–० को नतिजा सुम्पिएको नेपालले दोस्रो खेलमा चाइनिज ताइपेईलाई २–० ले हराएको थियो। तेस्रो खेलमा भने नेपाल अस्ट्रेलियासँग ५–० ले हार्दा चौथो खेलमा जोर्डनलाई ३–० को नतिजा सुम्पिएको थियो। होम गेमको पहिलो खेलमा नेपाल न्युट्रल भेन्यु भुटानमा कुवेतसँग १–० ले पराजित भएको थियो।

चाइनिज ताइपेईको प्रदर्शन  

यता चाइनिज ताइपेईले भने प्रतियोगितामा अहिलेसम्म जितको स्वाद चाख्न पाएको छैन। पहिलो खेल जोर्डनसँग २–१ ले गुमाएको चाइनिज ताइपेई दोस्रो खेलमा नेपालसँग निराश भएको थियो। तेस्रो खेलमा अस्ट्रेलियालाई ७–१ को नतिजा सुम्पिएको ताइपेई चौथो खेलमा कुवेतसँग ९–० ले पराजित भएको थियो। जोर्डनविरुद्ध दोस्रो लेगमा ताइपेई ५–० ले निराश भएको थियो।

हेड टु हेड  

फिफा वरीयताको १ सय ४१औँ स्थानको चाइनिज ताइपेई र १ सय ७१आ स्थानको नेपाल अहिलेसम्म दुई पटक आमनेसामने भएका छन्। पहिलो खेल सन् २०१९ जुन ६ मा दरशथ रंगशालामा भएको थियो। मैत्रीपूर्ण उक्त खेलमा १–० ले पछि परेको अवस्था उल्ट्याउँदै नेपालले अन्ततः १–१ को बराबरी गरेको थियो। नेपाल र चाइनिज ताइपेई दोस्रो पटक सन् २०१९ सेप्टेम्बर १० मा चाइनिज ताइपेईको मैदानमा विश्वकप छनोटका लागि भिडेका थिए। उक्त खेलमा नेपाल २–० ले विजयी भएको थियो।

प्रकाशित: २० जेष्ठ २०७८ ०४:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App