२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

जन्मदिनमा मूल्यवान् उपहार खोज्दै

फिल फोडेनले ८ वटा प्रमुख उपाधि जितिसकेका छन्। शुक्रबार आफ्नो २१औँ जन्मदिन मनाउने तयारीमा रहेका फोडेनका लागि शनिबार च्याम्पियन्स लिग फाइनलमा चेल्सीलाई हराउँदै म्यानचेस्टर सिटीले उपाधि जितेमा त्यो सबैभन्दा मूल्यवान् उपहार बन्न सक्छ।

सिटीको घरेलु मैदान इत्तिहाद रंगशालाभन्दा १० किलोमिटरको दूरीमा रहेको स्टकपोर्टमा जन्मिएका फोडेन सिटीका लागि स्थानीय स्टार भन्दा फरक पर्दैन। उनले ६ वर्षको उमेरमा सिटीको एकेडेमीमा अभ्यासको अवसर पाएका थिए। सो समयमा तेस्रो डिभिजनमा घटुवा भइसकेको सिटी पुनः प्रिमियर लिगमा फर्किएको थियो।

‘हामीसँग सीमित आर्थिक स्रोत थियो र उत्कृष्ट खेलाडी भित्र्याउने बजेट थिएन। सीमित स्रोत र साधनका बावजुद टोलीले आफ्नो प्रयास जारी राखेको थियो’, सिटीको एकेडेमीका पूर्वम्यानेजर जेम कास्सेलले भने।

म्यानचेस्टर युनाइटेडले फोडेनलाई लोकल ट्यालेन्टका रूपमा भित्र्याउने प्रयास गरिरहेको थियो। युनाइटेडसँगै फोडेनलाई भित्र्याउन लिभरपुल र एभर्टनले समेत इच्छा देखाएका थिए। स्पेनका मिडफिल्डर आन्दे्रस इनिएस्टाजस्तै खेल्ने शैलीकै कारण फोडेनले स्टकपोर्ट इनिएस्टा को उपनाम पाएका थिए।

‘फिल भिन्न तर विशेष देखिन्थे,’ कास्सेलले भने, ‘उनी मैदानमा सधैं चनाखो रहन्थे। यही कुराले उनलाई विशेष बनाएको थियो।’

सिटीले उनलाई यु–९ टोलीमा सहजै अनुबन्धन गर्न पाउँथ्यो तर फोडेन स्वयम्ंले भने स्थानीय क्लब रेड्डिस भल्क्यान्सबाट स्थानीय प्रतियोगिता खेल्दै आफ्नो क्षमता थप निखार्न चाहे।

‘हाम्रो चालचलन चुनौतीपूर्ण थियो,’ कास्सेलले भने, ‘मानिसहरू भन्ने गर्दथे, उनीहरूलाई खेल्न दिऊँ, नतिजा नहेरौँ तर पछि नतिजा हेरेरै हाम्रो चर्को आलोचना हुने गर्दथ्यो। यसले हामीलाई धेरै पाठ सिकायो। त्यसपछि हामी पनि खेलाडीको अनुभवसँगै उपाधि जित्नेतर्फ केन्द्रित भयौँ।’ त्यही चुनौती पार गर्दै अघि बढेका फोडेनले आफूलाई विश्वमाझ छुट्टै परिचय बनाइसकेका छन्। उनले आफूलाई सम्भावना बोकेको युवा खेलाडीका रूपमा उभ्याइसकेका छन्।

‘सिटी प्रशिक्षकका रूपमा कुनै पनि प्रशिक्षकले फोडेनको पहिलो खेल हेर्न पाउनु नै भाग्य हो,’ सन् २०१७ मा प्रि सिजनको अभ्यासदौरान हाउस्टनविरुद्धको मैत्रीपूर्ण खेलसँगै १७ वर्षको उमेरमै सिटीबाट डेब्यु गरेपछि प्रशिक्षक पेप ग्वार्डिओलाले फोडेनको बारेमा भनेका थिए।

त्यसै वर्ष इङल्यान्डले स्पेनलाई हराउँदै यु–१७ विश्वकपको उपाधि जित्दा फोडेनले दुई गोल गरेका थिए। उनी प्रतियोगिताकै सर्वोत्कृृष्ट खेलाडी घोषित भएका थिए।

फोडेन सिटीमै बस्छन् अथवा लोनमा अन्यत्र जान्छन्, सर्वत्र चासोको विषय बनेको थियो। तर ग्वार्डिओलाले फोडेनलाई सिटीमै राख्ने निर्णय गरे। उनले गत सिजनसम्म वैकल्पिक खेलाडीका रूपमा सीमित अवसर पाउँथे तर यस सिजन फोडेनले आफूलाई प्रमुख खेलाडीका रूपमा स्थापित गर्दै निरन्तर सुरुआती ११ बाट खेल्दै आएका छन्। उनले यस सिजन १६ गोल गरे।

‘पेप ग्वार्डिओलाले फोडेनमा त्यही देखे, जुन हामीले उनी ६ वर्षको हुँदा देखेका थियौँ। ग्वार्डिओलाले फोडेनमा परिपक्वता ल्याए,’ कास्सेलले भने, ‘सबैले फिलले अझै खेल्नुपर्छ। उनलाई अनुभवका लागि भए पनि अन्यत्र लोनमा पठाउनुपर्छ भन्थे। तर ग्वार्डिओला आफ्नो निर्णयबाट पछि हटेनन्। आज फोडेन सिटीका स्टार भइसकेका छन्,जो हाम्रै एकेडेमीका उत्पादन हुन्।’

प्रकाशित: १३ जेष्ठ २०७८ ०४:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App