११ मंसिर २०८१ मंगलबार
image/svg+xml
खेल

स्विमिङ पुल र सुटिङ रेन्ज निर्माण: बजेट छुट्टिँदै फिर्ता हुँदै

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सकिएलगत्तै नेपालगन्जबाट नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि झन्डा पोखरा ल्याइयो। त्यसपछि खेलकुद पूर्वाधार निर्माणका लागि बजेट बनाइयो। पूर्वाधारलाई बनाइएको बजेटअनुसार मन्त्रालयबाट छुट्ट्याइयो। तर हिटिङ स्विमिङ पुल र सुटिङ रेन्ज बनाउने बजेट लगातार फ्रिज हुँदै आएको छ। पूर्वाधारको योजना अघि सारे पनि काम भने ठप्पै छ।  

‘२०७५ सालमा अध्यक्ष हुँदा नवौंको लागि झन्डा बोकेर ल्याएपछि आवश्यक पूर्वाधारको योजना बनाइयो। त्यसको लागि बजेट पनि माग गरियो,’ वर्तमान राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य सम्पन्न श्रेष्ठले भने, ‘योजना बन्यो। बजेट छुट्टियो। काम अघि बढाउनेतर्फ चासो कम भयो।’ २०७६/०७७ र ०७७/०७८ को आर्थिक वर्षमा बजेट छुट्टिएर पनि टेन्डर आह्वान हुनै नसक्दा निर्माण थाती रहेको तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्षसमेत रहेका श्रेष्ठले बताए।  

‘कोरोनाले एक वर्ष समय त्यसै खेर गयो। टेन्डर आह्वान हुन सकेन,’ उनको भनाइ थियो। राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवालले टेन्डर आह्वान गरेपछि ठेकेदार कम्पनीलाई दिनुपर्ने ‘मोबाइलाज्इड’ पैसा नहुँदा टेन्डर प्रक्रियामा जान नसकिएको पोखरामै सञ्चारकर्मीसँगको कुराकानीमा खुलासा गरेका थिए। २५ मिटर चौडाइ र ५० मिटर लम्बाइको हिटिङ स्विमिङ पुल बनाउँदा ४० करोडभन्दा बढी खर्च हुने अनुमान थियो। दुवै योजनालाई परिषद्ले ५०/५० लाख छुट्ट्याएको छ।

दुई वर्षयता बजेट छुट्टिँदै फिर्ता भएको छ। एक वर्ष कोरोना कहर रह्यो। ०७६ चैत ११ गतेदेखि लकडाउन हुन पुग्यो। तीन महिना पूर्ण रूपमा लकडाउन भयो। त्यसपछि खुकुलो हुँदै गए पनि खेलकुद पूर्वाधार निर्माणमा परिषद्ले टेन्डर गर्नै सकेन। आर्थिक वर्ष सकिनै लागेको छ। दुई महिनाअघि मात्रै ९० लाख रूपैयाँको बहुउद्देश्यीय कभर्ड हलमा पार्केटिङ गर्न उपभोक्ता समितिसँग सम्झौता गरिएको छ। तर त्यो पनि पेस्की बजेट नआउँदा काम हुन सकेको छैन।  

‘बजेट छ। तर टेन्डर नहुँदा  स्विमिङ र सुटिङको पूर्वाधारको काम अघि बढाउन सकिएको छैन,’ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालयका प्रमुख लक्ष्मणप्रसाद योगीले सुनाए। उनका अनुसार गण्डकी प्रदेशमा यो आर्थिक वर्षमा २ करोड २० लाख रूपैयाँ छुट्टिएको छ। छुट्टिएको बजेटबाट विभिन्न उपभोक्ता समितिमार्फत काम भने भइरहेका छन्। समितिका प्राविधिक अनिल अधिकारीका अनुसार नवौं राष्ट्रिय खेलकुद पूर्वाधारका लागि विगतको बजेटलाई सानो आकारमा विनियोजन गर्दै काम भइरहेको बताए। ‘यो वर्ष विभिन्न योजनालाई २ करोड २० लाख विनियोजन भएको थियो,’ उनले भने, ‘सबै जिल्लामा केही काम भइसकेका र केही पूरा हुने चरणमा छन्।’  

यो आर्थिक वर्षको लागि पोखरा रंगशालाभित्रको कभर्ड हल पार्केटिङ गर्न ९० लाख, क्रिकेट मैदान वरिपरि तारजाली लगाउन २५ लाखको सम्झौता भएको थियो। तर काम हुन सकेको छैन। त्यस्तै ज्येष्ठ नागरिक कभर्ड हल पोखरा–१९ लाई ५० लाख रूपैयाँ छुट्ट्याइएको थियो। लमजुङको गौलीटार रंगशालालाई ५० लाख रूपैयाँ यो आर्थिक वर्षका लागि थियो। बाँकी जिल्लामा कभर्ड हल तथा अन्य पूर्वाधार बनाउने योजना अनुसार १०/१० लाख रूपैयाँ छुट्ट्याइएको थियो। सानो बजेट अधिकांश कार्यान्वयनमा आएको प्राविधिक अधिकारीको भनाइ थियो। 

प्रकाशित: १२ जेष्ठ २०७८ ०२:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App