१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

पोखरामा स्वीमिङ पुल र सुटिङ रेन्जः वर्षेनी बजेट, तर काम हुँदैन

तीन वर्ष बित्यो, आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सकिए लगत्तै बजेट विनियोजन गरियो । नेपालगन्जबाट नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि झण्डा पोखरा ल्याईयो । त्यसपछि खेलकुद पूर्वाधार निर्माणको लागि बजेट बनाईयो । पूर्वाधारलाई बनाईएको बजेट अनुसार मन्त्रालयबाट छुट्टाईयो । तर बजेट लगातार फ्रिज हुँदै आएको छ । पूर्वाधारको योजना अघि सारेपनि काम भने ठप्पै छ ।  

तयारी नवौंलाई थियो । नवौंको लागि पोखरामा अत्यावश्यक पूर्वाधार स्वीमिङ पुल र सुटिङ रेन्जको छ । २०७५ सालमा नेपालगन्जमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता समापन भयो । झण्डासँगै स्वीमिङ र सुटिङको योजना आयो । योजना कागजमा मात्रै रह्यो । बजेट एकवर्ष अर्को वर्ष फिर्ता हुँदै गएपछि योजनाको सम्भावना भने कमजोर हुँदै गएको छ ।  

‘२०७५ सालमा अध्यक्ष हुँदा नवौंको लागि झण्डा बोकेर ल्याएपछि आवश्यक पूर्वाधारको योजना बनाईयो । त्यसको लागि बजेट पनि माग गरियो’ बर्तमान राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य सम्पन्न श्रेष्ठले भने, ‘योजना बन्यो, बजेट छुट्टियो, काम अघि बढाउने तर्फ चासो कम भयो ।’ २०७६/०७७ र ०७७/०७८ को आर्थिक वर्ष बजेट छुट्टिएर पनि टेण्डर आह्वान हुनै नसक्दा थाती रहेको तत्कालिन पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष समेत रहेका श्रेष्ठले बताए ।  

‘कोरोनाले एकवर्ष समय यत्तिकै खेर गयो । टेण्डर आह्वान हुन सकेन,’ उनको भनाई थियो । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले टेण्डर आह्वान गर्दा ठेकेदार कम्पनीलाई दिनुपर्ने ‘मोविलाज्इड’ पैसा नहुँदा टेण्डर प्रक्रियामा लैजान नसकिएको पोखरामै सञ्चारकर्मीसँगको कुराकानीमा खुलासा गरेका थिए । २५ मिटर चौडाई र ५० मिटर लम्बाईको हिटिङ स्वीमिङ पुल बनाउने चर्चासँगै ४० करोड भन्दा बढी खर्च हुने अनुमान थियो ।  

दुवै योजनालाई परिषदले ५०/५० लाख छुट्टिएको छ । दुईवर्ष यता बजेट छुट्टिँदै फिर्ता भएको छ । एकवर्ष कोरोना कहर रह्यो । ०७६ चैत ११ गतेदेखि लकडाउन हुन पुग्यो । तीन महिना पूर्ण रुपमा लकडाउन भयो । त्यसपछि खुकुलो हुँदै गएपछि खेलकुद पूर्वाधार निर्माणमा परिषदले टेण्डर आह्वान गर्नै सकेन । आर्थिक वर्ष सकिनै लागेको छ । दुई महिना अघि मात्रै ९० लाख रुपैयाँको बहुउद्देश्यीय कभर्ड हलमा पार्केटिङ गर्न उपभोक्ता समितिसँग सम्झौता गरिएको छ । तर त्यो पनि पेश्की बजेट नआउँदा काम हुन सकेको छैन ।  

‘बजेट छ । तर टेण्डर नहुदाँ स्वीमिङ र सुटिङको पूर्वाधारको काम अघि बढाउन सकिएको छैन्’ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालयका प्रमुख लक्ष्मणप्रसाद योगीले सुनाए । उनका अनुसार गण्डकी प्रदेशमा यो आर्थिक वर्षमा २ करोड २० लाख रुपैयाँ छुट्टिएको छ । छुट्टिएको बजेटबाट विभिन्न उपभोक्ता समिति मार्फत काम भने भईरहेका छन् ।  

समितिका प्राविधिक अनिल अधिकारीका अनुसार नवौं राष्ट्रिय खेलकुद पूर्वाधारको लागि विगतको बजेटलाई सानो आकारमा विनियोजन गर्दै काम भईरहेको बताए । ‘यो वर्ष विभिन्न योजनालाई २ करोड २० लाख विनियोजन भएको थियो,’ उनले भने, ‘ सबै जिल्लामा काम भने केही भईसकेको र केही पूरा हुने चरणमा रहेका छन् ।’ यो आर्थिक वर्षको लागि पोखरा रंगशालाभित्रको कभर्ड हल पार्केटिङ गर्न ९० लाख, क्रिकेट मैदान वरिपरी तारजाली लगाउन २५ लाखको सम्झौता भएको थियो । तर काम हुन सकेको छैन । 

त्यस्तै ज्येष्ठ नागरिक कभर्ड हल पोखरा–१९ लाई ५० लाख रुपैयाँ छुट्टाइएको थियो । लमजुङको गौलीटार रंगशाला ५० लाख रुपैयाँ यो आर्थिक वर्षको लागि थियो । बाँकी जिल्लामा कभर्ड हल तथा अन्य पूर्वाधार बनाउने योजना अनुसार १०/१० लाख रुपैयाँ छुट्टाईएको थियो । सानो बजेट अधिकांश कार्यान्वयनमा आएको प्राविधिक अधिकारीको भनाई थियो । 

प्रकाशित: ११ जेष्ठ २०७८ १०:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App