१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

रोनाल्डो युभेन्ट्समै रहने

पोर्चुगिच स्टार क्रिस्टियानो रोनाल्डोको इटालियन फुटबलमा भविष्य अन्योलबारे चर्चा चलिरहँदा युभेन्ट्सका प्रशिक्षक आन्द्रे पिर्लोले उनी क्लबमै रहने बताएका छन् । लिगमा यस सिजनको फाइनल खेलअगाडि युभेन्ट्सका प्रशिक्षक पिर्लोले रोनाल्डोका लागि इटालीमा यो अन्तिम सिजन नहुने बताएका हुन् । 

लिगको १२औं स्थानमा रहेको बोलोग्नाविरुद्धको अन्तिम खेल बाँकी छँदा आगामी सिजनको च्याम्पियन्स लिग खेल्ने सम्भावना युभेन्ट्ससँग छैन । अन्तिम खेलबाट अन्य दाबेदार नेपोली र एसी मिलान अंकतालिकाबाट झरे मात्र युभेन्ट्सले च्याम्पियन्स लिग सुरक्षित गर्नेछ । यस सिजनको लिग च्याम्पियन इन्टर मिलान शीर्ष स्थानमा रहँदा एटलान्टा दोस्रो, मिलान तेस्रो र नेपोली चौथोमा छन् । एक खेल बाँकी छँदा युभेन्ट्स एटलान्टासँग तीन अंक, मिलान र नेपोलीसँग समान दुई अंकले पछि छ ।  

यी टोलीको हारका साथै युभेन्ट्सले जिते मात्र पिर्लोको टोलीले आगामी सिजनको च्याम्पियन्स लिग खेल्न पाउनेछ । पिर्लोले आफ्नो क्लब युरोपियन फुटबलकै ठूलो प्रतियोगिता च्याम्पियन्स लिगमा छनोट हुन असफल भए पनि रोनाल्डोले युभेन्ट्स नछाड्ने विश्वास व्यक्त गरेका छन् । ‘मैले अझै रोनाल्डोलाई युभेन्ट्सकै जर्सीमा देख्नेछु र उनी आफ्नो लक्ष्यमा केन्द्रित छन्,’ प्रिम्याच कन्फ्रेन्समा पिर्लोले भने, ‘उनले कोपा इटालिया जितेका छन् । त्यहाँबाट पनि उनले आफूलाई प्रमाणित गरिसकेका छन् । बाँकी रहेको लिग खेलमा उनको ध्यान केन्द्रित छ । त्यसपछि थप छलफल गरौंला ।’

युरोपका तीन फुटबल लिगको सिजनमा शीर्ष गोलकर्ता बन्ने रोनाल्डो पहिलो फुटबलरसमेत हुन् । उनले इङ्ल्यान्ड, स्पेन र इटालीमा त्यो सफलता प्राप्त गरेका हुन् । यस सिजनको सिरी ‘ए’ मा पनि उनले सर्वाधिक २८ गोल गरेका छन् । दोस्रो स्थानका रोमेलु लुकाकु उनीभन्दा ६ गोलले पछाडि छन् । साथै पिर्लोले यस सिजनको अन्तिम खेलबाट आफ्नो पनि क्लबमा भविष्य निर्धारण नहुने बताएका छन् ।

प्रकाशित: १० जेष्ठ २०७८ ०२:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App