१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

‘संकटकालका बावजुद ओलम्पिक हुन्छ’

 कोभिड–१९ महामारीका कारण टोकियोमा अहिले संकटकाल लगाइएको छ। सो संकटकाल मे ३१ सम्मका लागि कायम छ। तर अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) का उपाध्यक्ष जोन कोइट्सले भने संकटकालका बावजुद पनि टोकियो ओलम्पिक २०२० सञ्चालन हुने दाबी गरेका छन्। कोभिड–१९ महामारीको संक्रमण दर बढेसँगै जापान सरकारले टोकियोलगायत ९ सहरमा संकटकालको घोषणा गरेको थियो। अहिले भने जापानमा संक्रमणको दर घट्दो क्रममा छ।

‘हामीले संकटकाल जारी रहँदा पनि टोकियोमा ५ वटा खेलको प्रशिक्षण गराइसकेका छौं,’ कोइट्सले भने, ‘हामीले खेलाडीका साथै स्वयम्सेवक, प्राविधिक टोली र सुरक्षाकर्मीलगायत जापानका नागरिकलाई कसरी संक्रमणबाट सुरक्षित राख्न सकिन्छ भनेर योजनाहरू बनाइरहेका छाैं।’  

‘अहिले सबैको चासोको विषय एउटै बनेको छ, फेरि टोकियो ओलम्पिक स्थगित हुने हो कि होइन ?’ कोइट्सले अगाडि भने, ‘जस्तोसुकै परिस्थितिमा पनि यस पटक ओलम्पिक निर्धारित समयमा नै आयोजना हुन्छ। हामी निरन्तर विश्व स्वास्थ्य संगठनसँग सम्पर्कमा छाैं। हामी उनीहरूको सल्लाहअनुसारै अघि बढिरहेका छाैं। संकटकाल जारी रहे पनि हटे पनि हामी डब्लुएचओ र जापान सरकारले दिएको स्वास्थ्य मापदण्ड पूर्ण रूपमा पालना गर्नेछौं।’  

गत वर्ष नै आयोजना हुनुपर्ने भए पनि कोभिड १९ को महामारीका कारण प्रतियोगिता एक वर्ष पछि धकेलिएको थियो। यस पटक प्रतियोगिता जुन २३ बाट सुरु हुने तालिका छ। तर हालै जापानमा भएको एक सर्वेक्षणमा भने ७० प्रतिशत जापानी नागरिक ओलम्पिक तत्काल आयोजना नगरियोस् भन्ने पक्षमा देखिएका छन्। जापान सरकार आफैंले पनि पटकपटक प्रतियोगिता निर्धारित मितिमै सञ्चालन हुने र यसमा शंका नगर्न आग्रह गर्दै आएको छ।

‘जापानी नागरिक कोभिड–१९ महामारीको संक्रमण फेरि नफैलियोस् भन्ने चाहन्छन् र यो जायज चाहना हो। हामी उनीहरूको मतको सम्मान गर्छौं,’ कोइटस्ले भने, ‘जापानमा अहिले कोभिड १९ विरुद्ध भ्याक्सिन लगाउनको संख्या न्यून छ। अहिले पनि भ्याक्सिन लगाउने कार्य जारी छ। जब धेरै संख्यामा मानिसहरूले भ्याक्सिन लगाउँछन्, तब ओलम्पिक आयोजनासम्बन्धी उनीहरूको धारणामा क्रमिक रूपमा परिवर्तन आउनेमा हामी विश्वस्त छौं।’

ब्रिटिस ओलम्पिक कमिटीले टोकियो ओलम्पिकअघि नै त्यसमा सहभागी हुने आफ्ना खेलाडी, प्रशिक्षक र त्यसमा संलग्न सबै पदाधिकारीलाई कोभिड १९ विरुद्धको भ्याक्सिन लगाइसक्ने घोषणा गरिसकेको छ। कोइट्सले कठिन परिस्थितिको सामना गरिरहनुपरे पनि आइओसी टोकियो ओलम्पिक स्थगित गर्ने पक्षमा नरहेको पनि बताए।

प्रकाशित: ९ जेष्ठ २०७८ ०४:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App