८ वैशाख २०८१ शनिबार
खेल

‘दीर्घकालीन सोच राखेर टोली संयोजन’

सिमसिम पानीमा राष्ट्रिय टोलीले बिहीबार दशरथ रंगशालामा अभ्यास गरिरहँदा उनीहरूको लक्ष्य इराकसँगको मैत्रीपूर्ण खेलमा राम्रो नतिजा निकाल्दै विश्वकप छनोट खेल्ने छ। कोरोनाका कारण कठोर स्वास्थ्य मापदण्ड अपनाउँदै टोली बन्द प्रशिक्षणमा छ।  

इराकसँगको मैत्रीपूर्ण खेलमा अनुभव सँगाल्दै विश्वकप छनोट खेल्ने रोडम्याप रहेको टोलीमा अहिले अधिकांश युवा र केही पाका खेलाडीले स्थान पाएका छन्। टोलीमा धेरै परिवर्तन हुँदा नयाँ अनुहारको इन्ट्री भएको छ भने केही पाका खेलाडीले आराम पाएका छन्। 

विश्वकप छनोटमा राम्रो नतिजा निकाल्दै नेपालको एसियन कपमा छनोट हुने लक्ष्य रहेको छ। विश्वकप छनोटअन्तर्गत बाँकी रहेका तीन खेल खेल्न नेपाल इराकबाटै तटस्थ स्थल कुवेत प्रस्थान गर्न लागेको हो। दीर्घकालीन सोच राखेर टोलीको संयोजन गरेको मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइीले बताए।

नेपाली राष्ट्रिय फुटबल टोली आगामी मंगलबार नेपाल कतार एयरवेजको चार्टर फ्लाइटबाट इराक जान लागेको हो।

‘विभिन्न चरणबाट २३ खेलाडीको टुङ्गो लागेको छ। विगतको नतिजालाई हेरेर भन्दा पनि आगामी दिनमा राष्ट्रिय टोलीको सम्भावना हेरेर टोलीको घोषणा गरेको हँु,’प्रमुख प्रशिक्षक अलमुताइरीले भने। मैत्रीपूर्ण खेलका लागि नेपाल कतार एयरवेजको चार्टर फ्लाइटबाट इराक प्रस्थान गर्नेछ। टोली आगामी मंगलबार कतार एयरवेजको चार्टर फ्लाइटबाट इराक जान लागेको व्यवस्थापक मधुसूदन उपाध्यायले जानकारी दिए।  

‘कतार एयरवेजको विशेष सहयोगमा नेपाली टोली भ्रमण गर्न सम्भव भएको छ,’ टोलीका व्यवस्थापक उपाध्यायले भने, ‘३० तारिखका लागि तय भएको चार्टर फ्लाइट राष्ट्रिय टोलीका लागि नै अगाडि सारिएको छ। त्यो हाम्रा लागि सहयोग भयो। हामीले सरकारी निकायबाट लिनुपर्ने स्वीकृतिदेखि कागजात मिलाउने प्रक्रियालार्ई पूरा गरेका छौं।’

नेपालको तालिकाअनुसार जेठ १५ गते इराकसँग नेपालले मैत्रीपूर्ण खेल खेल्नेछ। इराकसँगको खेलपछि नेपाली टोली फिफा विश्वकप छनोट प्रतियोगिता खेल्न कुवेत जानेछ। इराकसँग नै खेलेको टोली उतैबाट छनोट खेल्न जाने तालिका छ। मैत्रीपूर्ण खेल, विश्वकप छनोट र एसियन कप छनोटका लागि राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मंगलबार २३ खेलाडीको घोषणा गरेसँगै आएका प्रतिक्रियाको बिहीबार पत्रकार सम्मेलनमा खण्डन गरे।  

‘केही खेलाडी टोलीबाट बाहिर रहँदा विभिन्न किसिमका आलोचना आइरहेका छन्,’ प्रशिक्षक अलमुताइरीले भने, ‘आलोचनाभन्दा पनि हामी नतिजा चाहन्छौं। बन्द प्रशिक्षणमा बोलाइएका सबै खेलाडी राम्रा हुन्। तीमध्येबाट पनि हाम्रो लक्ष्यलाई भेटाउन मिल्ने खालका खेलाडी छनोट गरेको हुँ।’ पहिलो अन्तर्राष्ट्रिय खेल खेलाउन लागेका प्रशिक्षक अलमुताइरीले नेपालको लक्ष्य साफ च्याम्पियनसिप र एएफसी कप भएको भन्दै युवा खेलाडीलाई विशेष प्राथमिकता दिएको पत्रकार सम्मेलनमा बताएका थिए। 

कुवेतमा हुने छनोटको बाँकी खेलअन्तर्गत नेपालले जेठ २० गते चाइनिज ताइपेई, जेठ २४ गते जोर्डन र जेठ २८ गते अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। उक्त छनोट खेल खेलेपछि टोली जेठ २९ फर्किनेछ। समूह ‘बी’ मा रहेको नेपाल सम्मिलित अन्य टोलीले पनि सेन्ट्रल भेन्यु कुवेतमा छनोट खेल खेल्दै छन्। छनोट खेलअन्तर्गत पाँच खेल खेलेको नेपालको समूह तालिकामा ३ अंक छ।  

चाइनिज ताइपेईलाई २–० ले पराजित गरेको नेपाल चौथो स्थानमा छ। त्यस्तै १२ अंक जोडेको अस्ट्रेलिया शीर्ष स्थानमा छ भने १० अंक जोडेको कुवेत दोस्रो स्थानमा छ। त्यसै गरी समान १० अंक जोडेको जोर्डन तेस्रो स्थानमा छ भने चाइनिज ताइपेई अंकविहीन तालिकाको अन्तिम स्थानमा छ। 

प्रकाशित: ७ जेष्ठ २०७८ ०५:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App