२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

टोटेनह्याम छोड्दै केन

इङ्लिस स्ट्राइकर ह्यारी केनले यस सिजनको अन्त्यसँगै टोटेनह्याम हट्सपर छाड्ने क्लबलाई जानकारी गराएको विभिन्न रिपोर्टहरूले सार्वजनिक गरेका छन्।  

यस सिजन टोटेनह्यामको प्रगतिप्रति असन्तुष्टि जनाएका केन १२ वर्षपछि उत्तरी लन्डन क्लब छाड्ने निर्णयमा पुगेको सञ्चारमाध्यमले जनाएका हुन्। आगामी जुन ११ देखि युरो कप २०२० सुरु हुनुअघि नै इङ्ल्यान्डका कप्तान केन आफ्नो भविष्यबारे निर्णय गर्न चाहन्छन्। उनको टोटनह्यामसँगको सम्झौता अझै तीन वर्ष बाँकी छ। उनको क्लब छाड्ने निर्णयमा कठिन वार्ताकारको रूपमा परिचित टोटेनह्यामका अध्यक्ष ड्यानिल लेभी बाधक बन्न सक्नेछन्। यद्यपि, टोटनह्यामले भने २७ वर्षे केनको भविष्यबारे सार्वजनिक धारणा राख्न चाहेको छैन।

यस सिजनको प्रिमियर लिगमा अन्तिम दुई खेल बाँकी रहँदा टोटेनह्यामको युरोपा लिग छनोट सम्भावना पनि जीवितै छ। ‘यसबारे केही भन्न चाहदैनौं र अहिले हामी सुखद रूपमा यस सिजनको अन्त्य गर्ने लक्ष्यमा छौं। सबै जनाको ध्यान त्यसमा नै केन्द्रित छ,’ क्लबका प्रवक्ताले भने। यस सिजनको प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र च्याम्पियन्स लिगको फाइनलिस्ट चेल्सी सबै केनको नयाँ गन्तव्यका रूपमा देखा परेका छन्। केनले यस सिजनका सबै प्रतियोगिता गरेर ३२ गोल गरेका छन्। टोटेनह्यामकै पूर्वप्रशिक्षक माउरिसियो पोचेटिनोको क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) र स्पेनिस क्लब रियाल मड्रिडसँग पनि केनको नाम जोडिएको छ।  

टोटेनह्यामकै युथ एकेडेमीबाट आएका केनले क्लबबाट ३ सय ३४ खेलमा २ सय २० गोल गरेका छन्। उनी अहिले विश्वकै उत्कृष्ट फरवार्डका रूपमा स्थापित भइसकेका छन्। यद्यपि, यस सिजन आफ्नो कदम र भविष्यबारे कुराकानी गर्न कठिन रहेको केनले बताएका थिए। उनले आफ्नो लक्ष्य उपाधि जित्ने रहेको बताउँदै आएका छन्, तर टोटेनह्यामले सन् २००८ देखि असफलता बेहोर्दै आएको छ। सन् २००८ मा लिगको उपाधि जितेयता टोटनह्याम उपाधिविहीन छ। केनकै मद्दतमा क्लबले सन् २०१९ मा च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाए पनि लिभरपुलसँग स्तब्ध भएको थियो।  

केनले क्लबलाई दुई पटक लिग कपको फाइनलमा पुर्‍याउँदा यसै सिजन म्यानचेस्टर सिटीसँग पराजित भएको थियो। यसअघि केनकै प्रेरणामा टोटेनह्यामले सन् २०१५ मा लिग कप फाइनलमा स्थान बनाए पनि चेल्सीसँग पराजित हुन पुगेको थियो। गत महिना जोजे माउरिन्होलाई बर्खास्त गरेपछि टोटेनह्याम हाल मुख्य प्रशिक्षकविहीन छ। अन्तरिम प्रशिक्षक रायन मासनले टोलीको प्रशिक्षण समालिरहेका छन्। उनको प्रशिक्षणमा प्रिमियर लिगका दुई खेल बाँकी रहँदा युरोपा लिगमा स्थान बनाउने सम्भावना पनि जीवितै छ।

प्रकाशित: ५ जेष्ठ २०७८ ०४:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App