७ वैशाख २०८१ शुक्रबार
खेल

नेपाल सुपर लिग: बुटवल र ललितपुर प्लेअफमा

धनगढी एफसी र काठमाडौं रेजर्र्सले नेपाल सुपर लिग (एनएसएल)को प्लेअफमा स्थान बनाइसक्दा शनिबारको प्रतिस्पर्धा अघि विराटनगर सिटी एफसी, ललितपुर सिटी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी प्लेअफको होड थिए।

शुक्रबार एफसी चितवनमाथि उत्कृष्ट पुनरागमनमा २–१ को जित हात पारेको पोखराले आठ अंकका साथ तेस्रो स्थानमा उक्लिँदा प्लेअफ सम्भावना कायम राखेको थियो। शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो खेलमा आमनेसामने भए, विराटनगर र ललितपुर। निकै तनावपूर्ण बनेको खेलमा ललितपुरले बाजी मार्‍यो र हारसँगै विराटनगरको प्लेअफ सम्भावना पनि पूर्णविराम लाग्यो। ललितपुर तेस्रो स्थानमा उक्लिएसँगै प्लेअफ प्रवेश गर्ने तीन टोलीको टुङ्गो लाग्यो।

प्लेअफ प्रवेश गर्ने अन्तिम टोलीका लागि पोखरा र बुटवल प्रतिस्पर्धामा थिए। ८ अंक जोडेको पोखरा चौथो स्थानमा थियो। धनगढीविरुद्धको जितले मात्र बुटवलको प्लेअफको ढोका खुल्ने समीकरण थियो, तर हार या बराबरीको नतिजाले भने पोखरा भाग्यमानी बन्ने थियो। यद्यपि, सुमन लामाको निर्णायक गोलबाट बुटवल धनगढीमाथि १–० को साँघुरो जित निकाल्दै प्लेअफमा स्थान बनाउन सफल भयो। ८० औं मिनेटमा सुमनले गरेको गोलबाट बुटवलले शीर्ष टोली धनगढीमाथि जित निकाल्यो।  

समान ८ अंक भए पनि बुटवलले हेड टु हेडमा पोखरालाई पछि पारेको हो। समूहचरणमा बुटवलले पोखरालाई २–० ले हराएको थियो, त्यो नतिजा नै बुटवलको प्लेअफ यात्रामा निर्णायक बन्यो। धनगढी र काठमाडाैं समान १० अंकका साथ पहिलो र दोस्रो स्थानमा रहँदा ललितपुर ९ अंकका साथ तेस्रो स्थानमा रह्यो। समान ८ अंक जोडेका बुटवल र पोखरा क्रमशः चौथो र पाँचाैं स्थानमा रहे। विराटनगरले ७ अंक जोड्यो । लिग चरणको अन्तिम खेल आइतबार एफसी चितवन र काठमाडौंबीच हुनेछ।  

जितले चितवनको प्रतियोगितामा सुखद अन्त्य हुनेछ। काठमाडौं भने जितबाट अंकतालिकाको शीर्षमा रहनेछ। मंगलबारबाट सुरु हुने पहिलो प्लेअफमा धनगढी र काठमाडौं आमनेसामने हुनेछन् भने दोस्रो प्लेअफमा भने ललितपुर र बुटवल भिड्नेछन्। पहिलो प्लेअफको विजेता फाइनल प्रवेश गर्नेछ भने पराजित टोलीले फाइनल प्रवेशका लागि दोस्रो प्लेअफको विजेतासँग खेल्नेछ।

विराटनगरमाथि ललितपुरको रबाफ

तनावपूर्ण खेलमा विराटनगरलाई ४–० ले स्तब्ध पार्दै ललितपुरले तेस्रो स्थानमा रहँदै प्लेअफमा स्थान पक्का गरेको थियो। पहिलो खेलमा हार सामना गरेको ललितपुरले त्यसपछिका लगातार तीन खेलमा अंक बाँडेपछि मुख्य प्रशिक्षक प्रदीप हुमागाईलाई बर्खास्त गरेको थियो। पाँचौं चरणको खेलमा राजु तामाङको प्रशिक्षणमा ललितपुरले बुटवलमाथि १–० को जितका साथ प्लेअफ सम्भावना जीवन्त राख्यो।  

साथै अन्तिम खेलमा विराटनगरमाथि रबाफ देखाउँदै ललितपुरले प्लेअफमा स्थान पक्का गर्‍यो । ३६औं मिनेटमा कप्तान अञ्जन विष्टको गोलबाट ललितपुरले अग्रता लिएको थियो। विमल रानाको प्रहार विराटनगरका गोलकिपर किशोर गिरिले रोक्दा रिबाउन्डमा प्राप्त बललाई उनले जाली चुमाए। ६३औं मिनेटमा विमलले ललितपुरको अग्रता दोब्बर पारे। ललितपुर २–० ले अघि रहेसँगै खेलको सुरुआतबाट लगातार रेफ्रीको निर्णयप्रति आपत्ति जनाउँदै आएका विराटनगरका प्रशिक्षक यान लले आफ्ना खेलाडीलाई खेल छाडेर मैदानबाहिर आउन निर्देशन दिएका थिए।  

विराटनगरका खेलाडी मैदानबाट बाहिरिएपछि खेल करिब १० मिनेट रोकिनपुग्यो। ८१औं मिनेटमा कमल श्रेष्ठको फ्रिकिकमा गोल गर्दै अञ्जनले ललितपुरको अग्रता ३–० मा पुर्‍याए। खेल सकिन ५ मिनेट बाँकी हुँदा विजय धिमाल दोस्रो पहेंलो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि विराटनगरले १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको थियो। इन्जुरी समयको छैटौं मिनेटमा नुर्लान जाहिदले गोल गर्दै ललितपुरको रबाफिलो जित पक्का गरेका थिए।  

‘हाम्रो टोली पहिलेबाटै सन्तुलित थियो।तर,  फिनिसिङमा चुक्दा हामीले स्पष्ट तीन अंक जोड्न सकिरहेका थिएनौं,’ललितपुरका प्रशिक्षक राजु तामाङले भने, ‘पाँचौं चरणको खेलमा बुटवलमाथि जित निकालेसँगै हाम्रो प्लेअफ सम्भावना ब्युँतिएको थियो। सो जितले टोलीको मनोबल बढाएको थियो। विराटनगरविरुद्ध जितको विकल्प थिएन। त्यसैले आज हामीले आक्रामक खेल्यौं र खेलाडीले स्वाभाविक प्रदर्शन गर्दा सहज जित सम्भव भयो।’

यता विराटगरनका प्रशिक्षक यान लले भने पुनः एक पटक रेफ्रीको विरोध गरे। ‘आज मैदानमा के भयो तपाईहरूले देख्नु भएकै छ। रेफ्रीको गलत निर्णयका सिकार भयौं,’यानले भने, ‘हामीले तीन पटक स्पष्ट पेनाल्टी पाउनु पर्ने हो। तर रेफ्रीले ललितपुरको पक्षमा निर्णय गरिरहे। यसले खेलाडीको मनोबल घट्यो। त्यसैले मंैले टोलीलाई मैदान बाहिर आउन निर्देशन दिएको हुँ ।’

प्रकाशित: २६ वैशाख २०७८ ०७:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App