coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

नेपाल सुपर लिग: बुटवलको अपराजित यात्रामा पूर्णविराम

नेपाल सुपर लिग (एनएसएल) मा बुटवल–लुम्बिनीको अपराजित यात्रामा चौथो चरणमा आएर पूर्ण विराम लागेको छ।एनएसएलअन्तर्गत मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको चौथो चरणको अन्तिम खेलमा बुटवलले काठमाडौं रेजर्सलाई १–० को नतिजा सुम्पिएको हो। खेलको चौथो मिनेटमा स्ट्राइकर स्टेफिन बिनोङले गरेको गोल काठमाडौंको जितका लागि पर्याप्त बन्यो। 

सुदिल राईले दिएको लामो पासमा स्टेफिनले बुटवलका गोलकिपर तथा कप्तान विशाल श्रेष्ठको गल्तीको फाइदा उठाउँदै पोस्टको दिशा दिएका थिए। यस जितपछि चार खेलबाट ७ अंक जोडेको काठमाडौंले शीर्षताको होडसमेत कायम राखेको छ। चौथो चरणको समाप्तिमा समान ७ अंक नै जोडेका विराटनगर सिटी एफसी र धनगढी एफससी क्रमशः पहिलो र दोस्रो स्थानमा छन् भने काठमाडौं तेस्रो स्थानमा छ।  

समान ५ अंक बटुलेका बुटवल र पोखरा थन्डर्स क्रमशः चौथो र पाँचौं स्थानमा छ। ३ अंकका साथ ललितपुर सिटी एफसी छैटांै स्थानमा छ भने २ अंक जोडेको एफसी चितवन अन्तिम स्थानमा छ। प्रतियोगिताको शीर्ष चार टोली क्वालिफायरमा प्रवेश गर्नेछन्, जहाँ शीर्ष दुई टोलीबीचको विजेता फाइनल प्रवेश गर्नेछ। पराजित टोलीले फाइनल प्रवेशका लागि तेसो र चौथो स्थानको टोलीबीचको विजेतासँग खेल्नेछ।

‘पहिलो खेलमा जित हात पारे पनि हामीले त्यसपछि लगातार दुई खेलमा जित हात पार्न सकेका थिएनौं,’काठमाडौंका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले भने, ‘त्यसैले बुटवलविरुद्ध आज हामी जित्नै पर्ने दबाबमा थियौं। खेलको सुरुआतमै निस्किएको गोलले हामी स्पष्ट ३ अंक जोड्न सफल भयौं। यद्यपि, खेलाडीले सुरुबाटै लिएको आक्रामक रणनीतिअनुसार दोस्रो हाफमा भने प्रदर्शन गर्न सकेनन्। आजको जितले टोलीमाथि दबाब हटेको छ।’  

खेलको सुरुबाटै आक्रामक रणनीति लिएको काठमाडौंले तेस्रो मिनेटमै अग्रता लिने अवसर पाए पनि सदुपयोग गर्न भने सकेको थिएन। मिडफिल्डर मेसुके ओलोमोउको प्रहार बुटवलका गोलकिपर विशालले विफल पारेका थिए। सातौं मिनेटमा बुटवलले खेलमा फर्कने अवसर खेर फाल्यो। मिडफिल्डर विलियाम ओपुकुले गरेको पेनाल्टी काठमाडौंका गोलकिपर विकेश कुथुले सहजै बचाएका थिए। सुमन लामालाई काठमाडौंका विश्वास श्रेष्ठले लडाउँदा बुटवलले पेनाल्टीको अवसर पाएको थियो।

पहिलो खेलमा पोखरालाई २–० ले हराएको बुटवल दोस्रो खेलमा चितवनसँग र तेस्रो खेलमा विराटनगरसँग बराबरीमा रोकिएको थियो। ‘खेलको सुरुआतमै गोल बेहोरेपछि टोली दबाबमा प¥यो,’बुटवलका प्रशिक्षक सनोज श्रेष्ठले भने, ‘त्यस लगत्तै टोलीले खेलमा फर्कने अवसर पाए पनि आशा गरिएका खेलाडीले पेनाल्टी गुमाए, त्यो नै आज हाम्रो हारको टर्निङ प्वाइन्ट बन्यो। मुख्य खेलाडी रविन श्रेष्ठ र अमिर श्रेष्ठ चोटका कारण नहुँदा टोलीले स्वाभाविक लय अनुसारको प्रदर्शन गर्न सकेन।’

प्रकाशित: २२ वैशाख २०७८ ०४:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App