६ वैशाख २०८१ बिहीबार
खेल

युनाइटेड र लिभरपुलबीच खेल स्थगित

म्यानचेस्टर युनाइटेडका मालिकविरुद्ध समर्थकले मैदान प्रवेश गरेर विरोध जनाएपछि आइतबारको म्यानचेस्टर युनाइटेड र लिभरपुलबीचको खेल स्थगित भएको छ। खेल अगावै करिब दुई सय समर्थक युनाइटेडको मैदानमा प्रवेश गरेर मालिकविरुद्ध नाराबाजी गरेका थिए। सोही कारण युनाइटेडले खेल स्थगित गरेको हो। 

लिभरपुलसँगको खेलमा युनाइटेड पराजित भएमा चार खेल अगावै म्यानचेस्टर सिटी शीर्ष स्थानमा रहँदै प्रिमियर लिगको च्याम्पियन हुने थियो। सिटी आइतबार चार सिजनको अन्तरालमा तेस्रो पटक उपाधि उचाल्ने टोली बन्ने थियो। तर, खेल स्थगित हुँदा सिटीलाई उपाधिको छिनोफानो हुन आफ्नो अर्को खेलमा सुखद नतिजा कुर्नुपर्ने भएको छ। 

दोस्रो स्थानको युनाइटेडले एक खेल कम खेल्दा ६७ अंक जोडेको छ भने सिटीले ३४ खेलबाट ८० अंक बनाएको छ। युरोपियन सुपर लिगको अवधारणामा क्लबले सहमति जनाएको भन्दै समर्थकले विरोध गर्दै आएका छन्। यद्यपि, पछिल्लोपटक क्लबले नै युरोपियन सुपर लिगमा नजाने निर्णय गरिसकेका छन्। युनाइटेडका खेलाडी प्रवेश गर्ने स्थलमा नै समर्थकले धर्ना दिए पनि सुरक्षाकर्मीले उनीहरूलाई मैदान बाहिर निकालेका थिए। 

‘म्यानचेस्टर युनाइटेडका समर्थकको विरोधलाई क्लबले मनन गर्नुपर्छ। शान्तिपूर्ण विरोध गर्ने अधिकार उनीहरूमा छ,’युनाइटेडको विज्ञप्तिमा भनिएको छ, ‘समर्थकले मैदान प्रवेश गरेर विरोध प्रदर्शन गर्दा अपनाउनुपर्ने सावधानीमा हामी चुकेका छौं। त्यसका लागि माफी माग्न चाहन्छौं।’ यस्तै प्रिमियर लिगले पनि विज्ञप्ती जारी गर्दै समर्थकको भावना बुझेको र परिस्थितिअनुसार लिएको निर्णय समय सान्दर्भिक भएको प्रतिक्रिया दिएको छ।

 ‘समर्थक मैदान प्रवेश गरेपछि अपनाइनु पर्ने सावधानीका रूपमा खेल स्थगित भएको हो,’ प्रिमियर लिगले उल्लेख गरेको छ। युनाइटेडको निर्णयप्रति भ्रमणकारी टोली लिभरपुलले पनि सहमति जनाएको छ। यद्यपि, सबै खेलाडी सम्भावित संक्रमणबाट टाढा रहनेमा आशंका गरेको छ। आइतबार लिगको अर्को खेलमा टोटेनह्यामले सेफिल्ड युनाइटेडमाथि ४–० को फराकिलो जित निकाल्यो। टोटेनह्यामको जितमा ग्यारेथ बेलले ह्याट्रिक पूरा गर्दा सन ह्युङ मिनको नाममा एक गोल रह्यो।

 सुरुदेखि प्रतिस्पर्धात्मक बनेको खेलमा बेलले ३६औं मिनेटमा गोल गर्दै टोटेनह्यामलाई अग्रता दिलाएका थिए। त्यसपछि पहिलो हाफमा थप गोल हुन सकेन। घरेलु टोली टोटेनह्यामका लागि सनले ५१औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए पनि भिडियो सहायक रेफ्रि (भिएआर)ले मान्यता दिएन। ६१औं मिनेटमा बेलले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता अग्रता दोब्बर पारे। ६९औं मिनेटमा बेलले आकर्षक गोल गर्दै ह्याट्रिक पूरा गर्दा टोटेनह्याम ३–० ले अगाडि रह्यो।  

७७औं मिनेटमा सनले गोल गर्दै टोटेनह्यामको अग्रता ४–० मा पु¥याए। बाँकी समयमा थप गोल हुन सकेन र टोटेनह्याम फराकिलो जित निकाल्न सफल भयो। जितसँगै टोटेनह्याम ३४ खेलबाट ५६ अंक जोड्दै लिगको पाँचौं स्थानमा उक्लिएको छ। सेफिल्ड १७ अंकसहित पुछारमै छ। लिगकै अर्को खेलमा आर्सनलले न्युक्यासल युनाइटेडलाई उसैको मैदानमा २–१ ले स्तब्ध बनायो। जितपछि आर्सनल अंकतालिकाको नवौं स्थानमा उक्लिएको छ।

प्रकाशित: २१ वैशाख २०७८ ०५:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App