coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

नेपाल सुपर लिग: फिनिसिङको समस्यामा ललितपुर

फिनिसिङमा समस्याले लगातार चौथो खेलमा समेत निरन्तरता पाउँदा ललितपुर सिटी एफसीको शीर्ष चारमा रहँदै नेपाल सुपर लिग (एनएसएल)को प्लेअफमा प्रवेश गर्ने सम्भावना कमजोर बनेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा ललितपुर पोखरा थन्डर्ससँग गोलरहित बराबरीमा रोकिएको हो। 

उद्घाटन खेलमा काठमाडौ रेजर्सलाई १–० को नतिजा सुम्पिएको ललितपुर त्यसपछि लगातार तीन खेलमा बराबरीमा रोकिएको छ। दोस्रो खेलमा एफसी चितवनसँग १–१ को बराबरीमा रोकिएको ललितपुरले तेस्रो खेलमा पनि धनगढी एफसीसँग १–१ को बराबरी नतिजा नै सामना गरेको थियो। चितवनविरुद्ध ललितपुरका कप्तान अञ्जन विष्टले र धनगढीविरुद्ध नुर्लान जाहिदले पेनाल्टीको अवसर गुमाएका थिए।  

ललितपुरले प्रतियोगितामा चार खेलको समाप्तिमा मात्र दुई गोल गरेको छ। एक गोल रक्षक कमल श्रेष्ठले गरेका छन् भने एक गोल वैकल्पिक स्ट्राइकर रञ्जन विष्टको नाममा छ। पहिलो खेलबाटै सुरुआती ११ मा लतिलपुरका अग्रपंक्तिको जिम्मेवारी सम्हालेका अञ्जन, विमल राना, जाहिद र विलिम पोसिन्कोभिचको प्रहारले जाली चुम्न सकिरहेको छैन। जसको प्रत्यक्ष असर टोलीको नतिजामा देखिन्छ। चार खेलबाट १ हार र ३ बराबरीको नतिजापछि ३ अंकका साथ ललितपुर छैटौं स्थानमा छ।

शीर्ष स्थानको धनगढीको सात अंक छ भने बुटवल लुम्बिनी एफसी र पोखरा थन्डर्स समान पाँच अंकका साथ क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। समान चार अंक जोडेका विराटनगर सिटी एफसी र काठमाडौं रेजर्स क्रमशः चौथो र पाँचौं स्थानमा छन्। तीन खेलमा दुई अंक जोडेको चितवन सातौं स्थानमा छ। 

‘हामीले सुरुआती तीन खेलमा एक रूपको प्रदर्शन गर्‍याैं। तर आज टोलीले सोचेअनुरूपको प्रदर्शन गर्न सकेन,’ललितपुरका प्रशिक्षक प्रदीप हुमागाँइले भने, ‘हामीले राम्रो खेल्दा खेल्दै पनि पहिलो खेलबाटै देखिएको फिनिसिङ समस्या चौथो खेलसम्म पनि निरन्तर छ। जसको प्रत्यक्ष असर टोलीको नतिजामा देखिएको छ। हाम्रो लक्ष्य बाँकी दुई वटै खेल जित्दै शीर्ष चारको सम्भावना जीवित राख्ने हो।’  

पोखराविरुद्ध अञ्जनले दुई सुनौलो अवसरलाई पोस्टको दिशा दिन सकेनन्। ५१औं मिनेटमा अञ्जनले पोखराका गोलकिपर दीप कार्की बिट भइसक्दासमेत गोल गर्न सकेनन्। उनको प्रहार पोखराका रक्षक अजित भण्डारीले गोल लाइनबाट क्लियर गरेका थिए। त्यस्तै ८५औं मिनेटमा पनि अञ्जनले टोलीलाई प्रतियोगिताकै पहिलो जितको सँघारमा पुर्‍याउने अवसर पाए पनि सदुपयोग गर्न सकेनन्। अञ्जनको फितलो प्रहार पोखराका गोलकिपर दीपले सहजै नियन्त्रणमा लिए। यता पोखराका सहायक प्रशिक्षक राजेश साहीले पहिलो हाफमा गरेको प्रदर्शनले दोस्रो हाफमा निरन्तरता नपाउँदा टोलीले अंक बाँड्नु परेको बताए।

प्रकाशित: २० वैशाख २०७८ ०४:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App