२३ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

अनलाईन मार्फत कराँते प्रशिक्षण

कोरोनाको दोस्रो लहर शुरुवातसँगै खेलकुद गतिविधि शून्यमा झरेको छ । पोखरा रंगशाला गत बैशाख ९ गतेदेखि पूर्ण रुपमा बन्द गरिएको छ । कुनैपनि खेलकुदका गतिविधि नगर्न नगराउन निर्देशसहित बैशाख मसान्तसम्म रंगशाला प्रवेशमा रोक लगाइएको छ ।  

राष्ट्रिय खेलकुदको निर्देशनमा जिल्ला तथा क्षेत्रीय खेलकुद विकास समितिले सूचना नै टाँस गरेको छ । २५ जना भन्दा बढी भीडभाड नगर्न जिल्ला प्रशासन कार्यालयले नै सूचित गरेको छ । प्रशासनको र खेलकुद विकास समितिको सूचनाले जिल्लामा खेलकुदका गतिविधि शून्यमा पुगेको छ ।  

खेलकुदका गतिविधि रोकिएसँगै लेखनाथमा भने कराँतेको प्रशिक्षण चलेको छ । प्रशिक्षण भने अनलाईन मार्फत बालबालिकालाई प्रशिक्षण गराउन शुरु गरिएको छ । अनलाईन मार्फत खेलकुद प्रशिक्षण गराइएको पोखराको खेलकुद इतिहासमै  सम्भवत पहिलो भएको पदाधिकारीले बताएका छन् ।  

‘बालवालिकालाई स्वास्थ्यप्रति सचेत गराउँदै विहानी समयमा जुम मार्फत प्रशिक्षण शुरु गरिएको हो,’ लेखनाथ डोजोका प्रमुख एवं प्रशिक्षक सुवास खड्काले भने, ‘आजबाट शुरु गरिएको छ । पहिलो दिन १० जना प्रशिक्षार्थी सहभागि भएका छन् ।’ लेखनाथ डोजोमा ८० जना प्रशिक्षार्थी छन् ।  

बालबालिका वार्षिक परीक्षाको तयारीमा छन् । केहीको वार्षिक परीक्षा सकिएको छ । बालबालिकाको परीक्षा सकिएपछि यसै सातादेखि अझ बढ्ने छन् । ‘बालबालिका अबेरसम्म नसुतोस भन्ने ध्येय हो,’ उनको भनाई थियो–‘भोलिबाट कराँतेकै ड्रेसमा प्रशिक्षण शुरु गराईने छ ।’ पहिलो दिन भएकै कारण प्रशिक्षार्थीले कम भएपनि सहभागिता जनाए ।  

बालबालिका आफ्नै घरबाटै सिकिरहेका छन् । ‘कराँतेको बेसिक तालिम जुम मार्फत सिकाईएको छ,’ उनको भनाई थियो । कोरोनाको दोस्रो लहरले बालबालिका संक्रमित हुदैं गएका छन् । त्यसले गर्दा बालबालिकालाई घरमै रहेर पनि नियमित प्रशिक्षण हुदाँ स्वास्थ्य रहने विश्वास छ ।

प्रकाशित: १९ वैशाख २०७८ ०७:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App