coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

नेपाल सुपर लिग: ललितपुरको लक्ष्यमा विशाल बाधक

रक्षक अमित तामाङले अन्तिम मिनेटमा गरेको पेनाल्टी गोलमा एफसी चितवनले नेपाल सुपर लिग (एनएसएल) मा हारको संकट टारेको छ।  

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एफसी चितवनले ललितपुर सिटी एफसीसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको हो। ९०औं मिनेटमा ललितपुरका रक्षक विनोद गुरुङले पेनाल्टी बक्समा ह्यान्ड गर्दा चितवनले पेनाल्टीको अवसर पाएको थियो। अमितले पेनाल्टी अवसरको सदुपयोग गर्दै आफ्नो टोलीको हारको संकट टारेका थिए। यसअघि ४१औं मिनेटमा कमल श्रेष्ठको गोलमा ललितपुरले अग्रता लिएको थियो।

खेलको २१औँ मिनेटमा ललितपुरले गोलको सुनौलो अवसर पाए पनि सदुपयोग गर्न भने सकेन। कप्तान अञ्जन विष्टले प्रहार गरेको पेनाल्टी चितवनका गोलकिपर विशाल सुनारले विफल पारेका थिए। लगत्तै रिबाउन्डमा स्ट्राइकर विमल रानाले गरेको प्रहार पनि विशालले रोकेका थिए। चितवनका गोरान जेकोभिचले नीरज बस्नेतलाई पेनाल्टी बक्समा लडाएपछि ललितपुरले पेनाल्टीको अवसर पाएको थियो। ५४औं मिनेटमा ललितपुरले अग्रता दोब्बर पार्ने अवसर पाएको थियो। तर नवीन लामाको पासमा विमल रानाले गरेको प्रहारमा विशाल बाधक बनेका थिए। लगत्तै रिबाउन्डमा विमलले नै प्रहार गरेको बललाई समेत विशालले रोकेका थिए। 

६१औं मिनेटमा जेकोभिचको पासमा कप्तान भरत खवासको प्रहार बाहिरिँदा चितवनले खेलमा फर्कने अवसर गुमाएको थियो। ६५औं मिनेटमा ललितपुरका स्ट्राइकर नुर्लान जाहिदको प्रहार बारमा लाग्दै फर्कंदा ललितपुरले अग्रता बनाउने अर्को अवसर गुमाएको थियो। खेलमा ललितपुरको एकपछि अर्को प्रहार विफल बनाएका चितवनका गोलकिपर विशाल म्यान अफ दी म्याच भए भने ललितपुरका विनोद गुरुङ प्रमिसिङ प्लेयर अफ दी म्याच भए। चितवनका प्रशिक्षक मेघराज केसीले टोलीले खराब प्रदर्शन गरे पनि गोलकिपर विशालको उत्कृष्ट प्रदर्शनमा अंक जोड्न सफल भएको बताए।

‘विशालले उत्कृष्ट प्रदर्शन गरे,’ केसीले भने, ‘अन्य खेलाडीको प्रदर्शन निकै कमजोर रह्यो। दुई विदेशी खेलाडी पूर्ण रूपमा फिट नहुँदा टोेलीले लगातार दबाब  खेप्नुपर्‍यो । मिडफिल्डर अहमेद मोहम्मद अस्वस्थ भएसँगै खेलको  सातौँ मिनेटमै मैदानबाहिर ल्याउनुपर्‍यो भने अर्का मिडफिल्डर अल्साहेद सहावानले पनि चोटका कारण सोचेअनुरूपको प्रर्दशन गर्न सकेनन्। त्यसैले टोलीले दबाबमा खेल्नु पर्‍यो।

प्रतियोगितमा ललितपुर लगातार दुई खेलमा जितविहीन बन्यो। ललितपुरले पहिलो खेलमा काठमाडौं रेजर्सलाई १–० को नतिजा सुम्पिएको थियो। लगातार दुई खेलमा जितविहीन बने पनि ललितपुरका प्रशिक्षक प्रदीप हुमागाईंले भने आफ्नो टोली निराश नभइसकेको बताए।

‘हामीले अग्रता लिए पनि अन्तिम समयमा त्यसलाई जोगाउन सकेनौँ,’ हुमागाईले भने, ‘हामीले खेलको सुरुआतबाटै चितवनलाई दबाबमा राख्दै लगातार गोलको अवसर सिर्जना गरे पनि त्यसको सदुपयोग गर्न सकेनौँ। १–० को अग्रता बनाएपछि हामीले लगातार एकपछि अर्को गोलको अवसर सिर्जना गरे पनि हाम्रो प्रयासमा चितवनका गोलकिपर विशाल बाधक बने। विशालले उत्कृष्ट प्रदर्शन गरे। ‘हामीले दुई खेलमा स्पष्ट ३ अंक जोड्न सकेका छैनौं,’ हुमागाईले भने, ‘हामीसँग अझै ४ खेल बाँकी छ। हाम्रो अबको लक्ष्य भनेको बाँकी ४ वटै खेलमा शतप्रतिशत अंक जोड्ने हो।’

प्रकाशित: १४ वैशाख २०७८ ०३:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App