२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

त्रिकोणात्मक क्रिकेट: मलेसियामाथि फराकिलो जित

आफ्नो ट्वान्टी–२० क्रिकेट इतिहासकै दोस्रो ठूलो योगफल बनाएको नेपालले घरेलु मैदानमा जारी त्रिकोणात्मक क्रिकेट शृंखलामा बिहीबार मलेसियामाथि ६९ रनको फराकिलो जितसहित नेदरल्यान्डविरुद्ध उपाधि चुनौती प्रस्तुत गर्ने भएको छ। त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा २ सय १७ रनको विशाल लक्ष्य पछ्याएको मलेसिया निर्धारित २० ओभर सकिन पाँच बलअगावै १ सय ४८ रनमै समेटिएपछि नेपालले लिगका चार खेलमध्ये तीन जितसहित शनिबार डच टोलीविरुद्ध उपाधि चुनौती प्रस्तुत गर्ने भएको हो।

नेपालको उक्त जितमा सन्दीप लामिछानेले सयौं ट्वान्टी–२० क्रिकेट करियर पनि पूरा गर्दा जारी शृंखलामा ११ विकेट लिए। उनी नेपालबाटै यो आँकडा पूरा गर्ने पहिलो क्रिकेटर हुन्। साथै जारी शृंखलामा सशक्त ब्याटिङ गर्दै दोस्रो पटक दुई सय रनको आँकडा पार गरेको नेपाल आफ्नो ट्वान्टी–२० क्रिकेट इतिहासमै दोस्रो ठूलो योगफलसमेत बनाउन सफल भयो।

गत १३औं सागमा नेपालले भुटानविरुद्ध सर्वाधिक २ सय ३६ रन जोडेको थियो। विशाल लक्ष्य पछ्याएको मलेसियाको सुरुआत भने खासै राम्रो हुन सकेन। सोमपाल कामीले आफ्नो पहिलो दुई ओभरमा दुई विकेट लिएपछि मलेसिया दबाबमा पर्ने आकलन गरिएको थियो। यद्यपि, उसले आक्रामक ब्याटिङ जारी राख्दै आवश्यक रनरेट कम गर्ने लक्ष्य राखे पनि विकेट गुमायो। १२औं ओभरको समाप्तिमा मलेसियाले सय रन पार गरे पनि आधा ब्याट्सम्यान पवेलियन फर्किसकेका थिए। यद्यपि, अमिनुदिन राम्लीले १८ बलमा ४१ रन बटुल्दै मलेसियन इनिङलाई सम्मानजनक स्थितिमा डोर्‍याए।

त्यसअघि कप्तान अहमद फैजले ३१ रनको योगदान दिए। नेपालको बलिङमा सन्दीप, डेब्युटेन्ट कमलसिंह ऐरी र सोमपालले ३/३ विकेट लिए। त्यसअघि करण केसीको आक्रामक ब्याटिङमा नेपालले सात विकेटको क्षतिमा २ सय १६ रनको विशाल योगफल खडा  गर्‍यो। साथै करण सर्वाधिक छिटो अर्धशतकको कीर्तिमानबाट पनि चुके। करणले १८औं ओभरमा धिबेन्द्रन मोगानलाई चार छक्का र १९औं ओभरमा मुहम्मद वाफिकलाई एक छक्का हिर्काएका थिए। सोही मद्दतबाट ११ बलमा ४४ रनमा ब्याटिङ गरिरहेका करण भारतीय ब्याट्सम्यान युवराज सिंहको १२ बलमा अर्धशतकको कीर्तिमाननजिक देखिएका थिए।  

तर, आफ्नो १२औं बलमा करण १ रन मात्र लिन सफल हुँदा त्यो अवसरबाट चुके। साथै इनिङको अन्तिम ओभरमा आउट हुँदा उनी अर्धशतकबाट पनि चुके। सइद अजिजको बलिङमा करणको सट बाउन्ड्री लाइनमा अनवर रहमानले सानदार डाइभिङ क्याच गरे। १३ बल खेलेका करण  सातसहित ४५ रनमा आउट हुन पुगे। करणले कुशल मल्ल (१९ रन) सँग २३ बलमा ६६ रन जोडे। त्यसअघिका ब्याट्सम्यानले पनि उल्लेखनीय योगदान दिँदा नेपाल विशाल योगफल बनाउन सफल भयो। पहिलो विकेट विकेटका रूपमा कुशल भुर्तेल १६ रनमा आउट हुँदा कीर्तिमानबाट पनि चुके।

कुशल ट्वान्टी–२० अन्तर्राष्ट्रियमा लगातार चार अर्धशतक प्रहार गर्ने तेस्रो खेलाडी बन्नेबाट चुकेका हुन्, जुन वेस्ट इन्डिजका क्रिस गेल र न्युजिल्यान्ड ब्रेन्डन म्याककलमको नाममा छ। त्यसअघि कुशलले आसिफ शेखसँग ३३ रन साझेदारी गरेका थिए। त्यसपछि आसिफले कप्तान ज्ञानेन्द्र मल्लसँग ७३ रनको साझेदारी गरे। तर, ज्ञानेन्द्र चार छक्का र एक चौकाको मद्दतबाट ४१ रनमा पवेलियन फर्किए। लगत्तै आसिफ पनि ३२ बलमा ४२ रन बनाएर आउट भए। उनले तीन चौका र तीन छक्का हिर्काए। यी दुवैलाई १२औं ओभरमा अनवर रहमानले पवेलियनको बाटो देखाए।  

नेदरल्यान्डसँग आफ्नो पहिलो ट्वान्टी–२० अर्धशतक बनाएका दीपेन्द्रसिंह ऐरीले पनि तीव्र गतिमा रन बटुले। पाँचौं विकेटका रूपमा आउट हुनुअघि दीपेन्द्रले १७ बलमा ३३ रन जोड्दा पाँच चौका र एक छक्का हिर्काए। त्यसपछि करणले अविश्वसनीय ब्याटिङ गर्दै नेपालको इनिङलाई दुई सयको रन पार गराए। मलेसियाको बलिङमा फित्री साम, रहमान र सइद अजिजले समान २/२ विकेट लिए। ३१ विकेट लिएका छन्।  

सन्दीपको सयौं खेल

विश्वभरको फ्रेन्चाइज क्रिकेटमा स्थापित लेग स्पिनर सन्दीपले लेसियासँगको खेलबाट सयौं ट्वान्टी–२० क्रिकेट करियर पूरा गरेका छन्। यो आँकडा पार गर्दा उनले १ सय ३६ विकेट लिए। उनले नेपालबाट भने २५ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलेका छन्। सयौंको आँकडा पार गरेको दिन सन्दीपले तीन विकेट लिँदा शृंखलामा ११ विकेट निकाले। उनले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा धेरै विकेट लिने नेपाली बलरको कीर्तिमानमा करणलाई पछि पारेका थिए। सन्दीपले कुल ४५ विकेट लिँदा करणको नाममा ४१ विकेट छ। सोमपालले भने ३१ विकेट लिएका छन्।

प्रकाशित: १० वैशाख २०७८ ०४:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App