coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

किरण धनगढीका आइकोनिक खेलाडी

नेपाल सुपर लिग (एनएसएल) को टोली धनगढी फुटबल क्लबले नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर तथा कप्तान किरणकुमार लिम्बुलाई बिहीबार आइकोनिक खेलाडीका रूपमा भित्र्याएको छ। किरणले एनएसएलसँगै पाँच वर्षपछि नेपाली घरेलु फुटबलमा पुनरागमन गर्न लागेका हुन्। 

उनले पछिल्लो पटक २०७२ मा मनाङ मस्र्याङ्दीबाट लिग खेलेका थिए। सन् २०१७ –२०१८ को सिजन उनले माल्दिभ्सको टिसी स्पोर्ट्सबाट व्यावसायिक लिग खेले। २०१८ को मध्यबाट भने किरणले लगातार तीन सिजन मिनरबा पन्जाबबाट आइलिग खेल्दै आएका छन्। 

गत सिजनबाट क्लबले नाम परिवर्तन गर्दै राउन्ड ग्लास पन्जाब भएको थियो। उनी गत सिजन आइलिगकै उत्कृष्ट गोलकिपर घोषित भएका थिए। किरणले एनएसएल खेल्न धनगढीले गरेको प्रस्तावमा आफू सन्तुष्ट भएको बताए। ‘म पाँच वर्षपछि घरेलु फुटबलमा पुनरागमन गर्दै छु,’ किरणले भने, ‘म निकै उत्साही छु। क्लबलाई उपाधि जिताउन शतप्रतिशत प्रयास गर्नेछु। टोली सन्तुलित छ। आशा छ, टोलीले उत्कृष्ट प्रदर्शन गर्नेछ।’

धनगढीले बिहीबार नै युगलकिशोर राईलाई मुख्य प्रशिक्षकका रूपमा भित्र्याएको छ। यसअघि धनगढीले नाइजेरियाका तोपे फुजालाई प्रशिक्षकका रूपमा भित्र्याएको थियो, तर एनएसएलको टोली सम्हाल्ने प्रशिक्षकका लागि एएफसीको ‘ए’ कोचिङ लाइसेन्स अनिवार्य गरिएसँगै धनगढीले युगललाई मुख्य प्रशिक्षकका रूपमा अनुबन्धन गरेको हो।  

‘टोली सन्तुलित छ, आशा छ हामीले उत्कृष्ट फुटबल खेल्दै समर्थकको मन जित्नेछौं,’ युगलले भने, ‘तयारीका लागि हामीले धेरै समय पाएका छैनाैं, तर टोलीमा रहेका सबै खेलाडी उत्कृष्ट नै छन्। त्यसैले छोटो तयारीका बावजुद पनि टोलीले आफूलाई प्रतियोगिताको दाबेदारको रूपमा प्रस्तुत गर्नेमा म विश्वस्त छु।

 नेपाली राष्ट्रिय टोलीका समेत स्ट्राइकर रहिसकेका युगलको प्रशिक्षणमा हालै मात्र झापा एफसीले ‘सी’ डिभिजनमा सहभागिता जनाएको थियो, जहाँ टोली चौथो स्थानमा रहेको थियो। गो ड्रिमर्सको स्वामित्वमा रहेको धनगढीले यसअघि नै मार्की खेलाडीका रूपमा विशाल राईलाई अनुबन्धित गरिसकेको छ भने अक्सनमार्फत १४ खेलाडी पनि अनुबन्धन गरिसकेको छ।

‘किरण अहिले नेपाली फुटबलका हटकेक हुन्,’ धनगढीका मालिक सुवास शाहीले भने, ‘त्यसैले टोलीमा किरणलाई अनुबन्धन गर्न पाउदा हामी खुसी छाैं। उनी टोलीका अनुभवी खेलाडी हुन्। किरणको आगमनले टोली थप बलियो बनेको छ।’

प्रकाशित: ३ वैशाख २०७८ ०४:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App