८ वैशाख २०८१ शनिबार
खेल

विराट गोल्डकप: घरेलु टोली विराटनगरलाई हराउँदै एपिएफ फाइनलमा

घरेलु टोली विराटनगर महानगरपालिका ११ लाई पराजित गर्दै एपिएफ विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।  प्रतियोगिताको छैटौं संस्करणको फाइनलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लब पुगेको छ। बुधबार राति भएको खेलमा घरेलु टोली विराटनगरलाई ३–२ गोलमा पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो। एपिएफको फाइनल यात्राका नायक मणि लामा भए । उनले अन्तिम समय टोलीका लागि गोल संख्या थप्ने काम गरे।  

एपिएफ विराट गोल्डकपको फाइनलमा दोस्रो पटक प्रवेश गरेको छ। यस अघि ०७० सालमा भएको प्रतियोगितामा संकटा क्लबसँग शुन्यका विरुद्ध एक गोलमा एपिएफ पराजित भएको थियो। बिहीबार (आज)राति हुने भारतको पंजाब पुलिस क्लब र काठमाडौंको संकटा क्लबको विजेतासँग शनिबार उपाधि जितका लागि एपिएफले खेल्ने छ।  

उपाधि नजिक पुग्ने दौडमा रहेको दुवै टोली खेल सुरुआतबाटै आक्रमक रुपमा मैदानमा प्रस्तुत भएका थिए । घरेलु टोलीले दर्शकको पूरै साथ पाए पनि नजिता दिन भने सकेन। दुवै टोलीबाट गोलका केही राम्रो अवसरको सदुपयोग गर्न सकेनन्। एपिएफको जितमा सनिश श्रेष्ठ, रबि थिंग र मणि लामाले गोल गरे भने विराटनगरका लागि प्रकाश बुढाथोकी र स्टेफन समीरले गोल गरे।      

१५ औं मिनेटमा विराटनगरका फ्लोरेन कौराको क्रसपासमा कप्तान दीपक राईले डिबक्स एरियाभित्र पाएको राम्रो अवसर खेर फाले। २७ औं मिनेटमा एपिएफका सनिश श्रेष्ठले गोल गर्दै अग्रता दिलाए। श्याम नेपालीले पोष्टमा गरेको प्रहारलाई महानगरका गोलरक्षक किशोर गिरीले राम्रोसँग क्लियर गर्न नसक्दा पाएको मौकामा श्रेष्ठले गोल गरे । मध्यान्तरअघि एक गोलले पछाडि रहेको विराटनगरले मध्यान्तरपछि खेलको नीति परिर्वतन गर्दै खेलमा फर्किएको थियो।

५३ औं मिनेटमा सुनिल खड्काले डिबक्सभित्र मिलाइ दिएको पासमा स्टेफन समीरले हेडमार्फत गोल गर्दै खेल बराबरी पारे । ६६ औं मिनेटमा श्याम नेपालले डिबक्सभित्रबाट निकालि दिएको पासमा रवि थिंगले विराटनगरका डिफेन्स चिर्दै गोल गरे। ६९ औं मिनेटमा विराटनगरका प्रकाश बुढाथोकीले डिबक्सको कर्नरबाट गरेको सशक्त प्रहार गोलरक्षक राजु नगरकोटी बचाउन  सकेनन्। बुढाथोकीको सो गोलसँगै खेल २–२ गोलको बराबरी भयो। 

८२ औं मिनेटमा संजोग राईले गरेको प्रहारलाई गोलरक्षकले उत्कृष्ट पन्च गर्दै गोल हुनबाट बचाए। लगत्तै प्रकाश बुढाथोकीले डिबक्सभित्रबाट गरेको कडा प्रहारलाई गोलरक्षकले हत्केलाले बल क्लियर गर्ने प्रयासमा बल बारमा लाग्दै रिबाउण्ड हुन पुग्यो।  खेलको निर्धारित समयमा खेल २–२ गोलको बराबरी भएपछि अतिरिक्त ३० मिनेट थप गरी खेलाइएको थियो। अतिरिक्त समयको २७ औं मिनेटमा एपिएफका मणि लामाले मध्यभागबाट एक्लै बल अघि बढाउँदै गोल गरे। 

विराटनगरका कोमल खवास र फ्लोरेन्टको कमजोर रक्षापंक्तिलाई पन्छाउँदै  गोल गरे। मणि नै खेलको म्यान अफ द म्याच घोषित हुँदा १० हजार रुपैयाँ प्राप्त गरे। विराटनगरका प्रशिक्षक संजीव बुढाथोकीले खेलाडीको फिटनेशले पनि साथ दिएन। पाएको धेरै राम्रा अवसर बने पनि त्यसको फाइदा लिन सकेनौं। नयाँ खेलाडीले खेलको रणनीति सुरुमा नबुझ्दा तालमेल नमिलेपछि समस्या भयो। त्यस्तै एपिएफका प्रशिक्षक सुदीप श्रेष्ठले सबैले खेलाडी लामो समयसम्म खेल्न सक्ने फिटनेश रहेको हुँदा खेलमा टिक्न सक्ने भएको हुँदा जित सम्भव भएको हो।  

प्रकाशित: २ वैशाख २०७८ ०६:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App